मलेसियाको भेडिगोठबाट
7-June-2015

गोरखाका निर्मललाई विदेश कहिले उडुँ र पैसा बटुँलु भएको थियो। मलेसिया जान भनेर उनी केहि समय अघि राजधानी हानिए। उनलाई विदेशिन सुुझाव दिने गाउँकै एक दाई थिए। उनीसँगै पछिलागेर राजधानी आएपछि एक चिनेजानेको होटलमा बास बसे। 

चिल्ला सडक। ठाउँठाउँमा सेतो पोतिएको बाटो। बाटोमाथि अनेकथरीका वत्तीहरू। ठूलो महलजस्तो झलमल्ल फेक्ट्री, टलक्क टल्कने मेसिनहरू। नयाँ कपडाको चांङहरू। प्याकिङ् गरिएको कपडालाई बोकेर गाडीसम्म पुर्‍याउने सानो सवारी। मेनपावरकै कर्मचारीबाट यतिका कुरा उनले फोटोमा देखे। अझ ठुलो कोठा। टि.भी., फि्रज, सुत्ने खाट पनि नयाँ। त्यही कोठामा नेपालीहरू जम्मा भई रमाईलो गरिरहेको दृश्य। उनीहरूको दिमागमा मलेसियाको एउटा रंगीन संसार भरियो।

यतिका रंगिन दुनियाँमा हराउँदा उनीहरूले ५ घण्टा कच्ची बाटो। बसको छतमा चढेर सदरमुकाम आएको सम्भि्कए। घरमा सधैँ आलु र सागको झोलसँग भात खाएको सम्भि्कए। दशैँको बेला लगाएर उक्किसकेको कमेरो सम्भि्कए। धुवाँले कालो भएको घरको भर्‍याङ्। भुवा उठेर गन्हाइसकेको तन्ना। चुहिने छाना। यी सबै फिक्का सम्झना भएर उनका आँखा अघि आए। यिनीहरूलाई उकास्नकै लागि उनी विदेशको बाटो लाग्दै थिए। उनीहरूले मेनपावरमा पासपोर्ट बुझाएर गाउँतिर लागे। डेढमहिना पछि खबर आयो, तुरुन्त काठमाडौं आउनू।

आएलगत्तै १० जना जति युवाहरूको टोलीमा उनी पनि मलेसिया उडे। मलेसियाको एयरपोर्टमा २ दिन विताएपछि बल्ल उनीहरूलाई लिन मान्छेहरू आए तर सबैलाई अलग अलग ठाउँमा लगियो। निर्मल भने मलेसियाको पेनाङ शहरदेखी ३५ किमी टाढा रहेको एउटा भेडा फार्ममा पुगे। बुझे उनीहरूले हेरेका सबै फोटाहरू सहित थिए तर उनलाई भनिएको कुरा भने गलत थियो। ‘अब ऋण चुक्ता गर्नै पर्‍यो,' निर्मलले सोचे, ‘यतै नबसी सुःख छैन।'

 

मेनपावरका कर्मचारीले फोटो देखाउँदै भनेको कुरा अझै झलझली याद आउँछ उनलाई, ‘निर्धक्क भएर गए हुन्छ भाई, म अस्ति भर्खर त्यो कम्पनीमा घुमेर आ’को, अरु पनि धेरैजना केटाहरू पठाको छु। ' उनले त्यही कम्पनीमा, सबैले मालामाल कमाउँदैछन् अनि ओटी पनि राम्रो चल्छ भन्ने पनि ती कर्मचारीबाट सुने। कर्मचारीले उनलाई लोभलाग्दा तस्बिरहरू पनि देखाएर भने, ‘ यहि हो हेर तिम्रो काम गर्ने ठाउँ।' 

यस्तो कुरा सम्झँदै गर्दा उनी भेडिगोठको पछाडी पट्टीको सानो कोठामा सुतेर मध्यरातमा पनि गर्मीको सकस बेहोर्दै थिए। ‘खानबस्नसहित तेह्र सय रिङ्गिट तलबको सम्झौता गरेको थिएँ,' निर्मलले भने, ‘ ९ सय मात्र पाउने भएँ खाना आफैं।' विहानैदेखि निर्मलको काम सुरु हुन्थ्यो भेडागोठमा। दिनभर काम, दिउँसो खाजा खान कोठामा। एकदिन २ बजेतिर खाजा खान कोठामा गएको बेला फेसबुक चलाउँदै गर्दा नेपालमा भूकम्प आएको सूचना पायो। ठुलाठुला घरहरू ढलेका, मान्छे फसेका फोटाहरू देख्न थाल्यो। एकैछिनमा एउटा समाचार अनलाईनबाट वारपाक केन्द्रविन्दु भएको थाहा पाएपछि ऊ झसङ्ग भयो। विदेश जानुपूर्व चढेको काठमाडौँको त्यत्रो विशाल धरहरा एउटा कटुसको ठुटो जस्तो भएको देखेर ऊ झन् भयवीत हुन थाल्यो। 

उसको गाउँ भूकम्पको केन्द्रविन्दु नजिक रहेकोले उसलाई आफ्नो हजुरबुबाले बनाएको पुरानो घर र त्यहीँ बस्ने बुढी आमा, श्रीमती पार्वती, छोरीहरूको अवस्था सम्झेर अनुहार मलिन बनाये। 

के गर्ने? के नगर्ने? मनमा छटपटी बढिरहेको बेलामा छेउको वोतलबाट घटघट पानी पिएपछि नेपाल फोन गर्न मोवाइल तान्यो। 

जसरी समाचारका रफ्तार बढ्थ्यो, उसको मनको ढुकढुकी पनि बढ्न थाल्थ्यो। घरमा कसैको मोवाईलमा फोनमा सम्पर्क हुन सकिरहेको थिएन। 

धेरै पुरानो घरको गाह्रो कमजोर थियो। छोरीहरू भित्तामा टाँसिएर झगडा गर्दा पुरै घर नै हल्लिन्थ्यो। के बच्यो होला त खै? घरका निधालहरू धमिराले खाएर मकाएका थिए। अलिक ठुलो कम्पन आउँदा खाँबाहरू कमजोर काँधले धान्न सकेन होला। घरमास्तिर कुटमिरोको ठुलो रुख घरपट्टि ढल्केको थियो। जस्तापाता पुरै खिया लागेर चुहिन थालेको २ वर्ष भैसकेको थियो। अझ भनौं, चराको चुच्चोले पनि उक्काउन सक्ने अवस्थामा थियो। कतै त्यही रुख त ढलेन? पोहोर खोलामा बाढी आउँदा गैरीको खेत पुरै पानी भरिएको थियो। यति ठुलो भुकम्पले त पानी पनि माथि बग्दो हो। अलिकति माथि रहेको घर पनि छोयो कि? उसको आँशु पिलपिल भैसकेको थियो। उ निरन्तर घर, गाउँमा सम्पर्कको प्रयास गर्दै थियो।

आमा दिउँसो तिर घाँस काट्न पल्लो पाखातिर जानुहुन्थ्यो। हामी सानो छँदा त्यहाँबाट ढुङ्गा लडाउँदा सिधै खोलामा गएर छप्लङ् आवाज आउँथ्यो। कि त्यता पो एसो गफिन जानुभएको थियो कि? उसका मनमा अनेक तरंग खेल्न थाले।

पार्वतीको साह्रै छिट्टो आत्तिने स्वभाव छ, रातभरी हुरी आउँदा समेत डराएर निदाउन्नथिइ। यत्रो भुकम्प आउँदा झन् कति आत्तिइन् होला? भाग्नुपर्ने वेलामा होस् गुमाएर कतै? नसोचौं भने पनि उसको मनमा गलत सोचहरूले डेरा गर्न थाल्यो। कहिलेकाहीँ पालीमाथी परालमा केटाकेटी वोलाएर चढिरहेका हुन्थे। परारको साल बनाएको भए पनि त्यती ठुलो भुकम्प आउँदा पाली पनि के रह्यो होला र? सानी छोरी त दिदीको पछिपछि कुद्ने न हो। जन्मनेवित्तिकै जन्डिस भएको वेला ३ महिना हस्पिटलमा बसेर जाती बनाको छोरी कहीँ भुकम्पले...? खबर नपाएपछि उ त्यही डाँको छाडेर रुन थाल्यो।

‘हे भगवान, कुन दशामा विदेश आएछु? अब म एक्लै कसको लागी बाँच्नु? गाउँ फर्केर कहाँ जानु?' उसको मनमा नकारात्मक तर्कनाहरूले परेड खेल्न थाले। अनलाईन मिडियाहरूले कभरेज बढाउन थालिसकेका छन्। गाउँगाउँमा ढलेका घर, गोठ, विद्यालय अनि पुरिएका शव जति जति देख्छ उतिउति उसको मनमा दश रेक्टरस्केलको भुइँचालोले भन्दा धेरै हल्लाउँछ। कहीँकहीँ पुरिएको भग्नावशेषबाट मानिसलाई जिउँदै निकालिरहेको तस्वीरले उसमा केही आशाका किरण त सञ्चार गर्छन् तर गाउँ नै रहेन भने को उद्धार गर्न आउला र? कसले उठाउँला लाश? कसले देला काँध? उसको मन विरत्तिन थाल्छ। 

अब सबे बिते म एक्लो भएँ भन्ने पनि सोच्न थाल्छ। आफू यस्तो बेलामा देशमा नभएकोमा धिक्कार्छ पनि। ‘कि सँगै बाँचिन्थ्यो कि सँगै मरिन्थ्यो' यस्तो कुरा सम्भि्करहेको बेलामा एकाएक पार्वतीको फोनको घण्टि बज्छ।

‘हेल्लो'

‘हेल्लो पार्वती, तिमी कहाँ छौ? आमा कहाँ हुनुहुन्छ? छोरीहरू कता छन्? सबै ठिक हो?'

‘अहिले हामी सबैजना वाहिर छौँ, अघि यहाँ भुकम्प गएको थाहा पाउनुभयो?'

‘थाहा पाएँ नि, घर कस्तो भयो? केही त भएन नि? गाउँतिर के के भयो?'

‘हाम्रो गाउँमा त खासै केही भएन, काठमाडौँतिर चैँ पुरै क्षति भएको छ रे, रेडियोले भनेको'

ए, म त त्यत्तिकै पो डराएछु, फेरी पनि आउँछ भनेर भनेको छ रे घरभित्र नपस्नु नि। म भरे तिर फोन गर्छु'

फोन राखेपछि एकाएक उ फुरुङ हुन्छ। अघिको आफ्नो सोच सम्झेर रुन्चे हाँसो हाँस्छ। तर पनि उसको मन दुखेको हुन्छ, देश दुखेको बेला। अब फेरि देश बनाउनुछ। भत्केका घर। भत्केका मन टाल्नु छ। 

उ पेटभर पानी पिउँछ अनि उठेर भेडीगेाठ तर्फ हिड्छ।

source : http://global.setopati.com/malaysia/759/