दिल्लीका कानुन मन्त्री तोमर पक्राउ
11-June-2015

डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली

 
Tomar
 जेष्ठ २६ - दिल्लीका कानुनमन्त्री जितेन्द्र सिंह तोमरलाई मंगलबार बिहान दिल्ली प्रहरीले पक्राउ गरेको छ । मन्त्री तोमरमाथि विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोप लगाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीमा सरकारको नेतृत्व गरेको आम आदमी पार्टी (आप) ले भने दिल्ली प्रहरीले मन्त्री तोमरमाथि खाली कागजमा हस्ताक्षर गर्न दबाब दिएको र हस्ताक्षर नगरेपछि उनलाई पक्राउ गरेको आरोप लगाएको छ। आपका प्रवक्ता आशुतोषले खाली कागजमा हस्ताक्षर नगरेपछि मन्त्री तोमरमाथि प्रहरीले थप्पड प्रहार गरेको दाबी गरेका छन् । प्रहरी स्रोतले भनेको छ, 'दिल्लीका कानुनमन्त्रीले आफूले नयाँ दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको छ त्यसैले उनलाई पक्राउ गरिएको छ ।' उनलाई मंगलबार नै अदातलसमक्ष पेस गरिने जानकारी पनि सो प्रहरी स्रोतले दिएको समाचारमा जनाइएको छ ।

उनी आम आदमी पार्टीका नेता हुन् । भ्रष्टाचार विरोधी अभियानका एक अभियन्ताका रुपमा पनि उनले काम गरेका थिए । दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा मन्त्री तोमरले यो प्रमाणपत्र पेस गरेका थिए । पछि उनको सो प्रमाणपत्र नक्कली रहेको भनी दिइएको उजुरीका आधारमा यो अनुसन्धान अघि बढाइएको थियो ।

उनको गिरफ्तारीका विषयमा मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि थाहा नभएको सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

source:http://www.ekantipur.com/np/2072/2/26/full-story/410560.html

 

 

 

 

Events
Random Picks