एक साताको अवधिमा कोरियामा ३ नेपालीको मृत्यु
9-August-2017

कोरिया– गएको एक सातामा दक्षिण कोरियामा तीन नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि कोरिया पुगेका तीनम युवामध्ये एकजना दुर्घटनामा मृत्यु भएको हो भने अन्य दुईले आत्महत्या गरेका हुन् ।


 कन्चनपुर घर भएका दिपक सिंहले मंगलबार आत्महत्या गरेका थिए । होइसंगस्थित बंगुर फर्ममा कार्यरत सिंहले कम्पनी नजिकको जंगलमा आत्महत्या गरेको बताइएको छ । डेढ बर्ष देखि कोरियामा रहेका सिंहले कम्पनी परिवर्तन गर्न चाहेका थिए । तर कम्पनीले स्वीकृति नदिएकाले उनी चिन्तित हुँदै  आएका थिए । २५ बर्षिय सिंहका भाइ र भिनाजु पनि कोरियामै छन् ।


सिंहको आत्महत्याको एकदिन अघि  पर्बतका केशब श्रेष्ठले  पनि आत्महत्या गरेका थिए । २८ बर्षिय श्रेष्ठले छुन्जुस्थित आफ्नै कम्पनीको छतमा झुन्डिएर आत्महत्या गरेका थिए । १५ महिनाअघि दक्षिण कोरिया पुगेका श्रेष्ठले सुसाइड नोटमा कम्पनीले बिदा नदिएको र शारिरीक रुपमा कमजोर रहेको उल्लेख गरेका थिए । 


त्यस्तै श्रेष्ठले आत्महत्या गरेको तीनदिन अघि गुल्मी वाग्लाका बिष्णुप्रसाद घिमिरेको कामका क्रममा मृत्यु भएको थियो । जिन्जुमा कार्यरत घिमिरेको शव शुक्रबार नेपाल ल्याउने बताइएको छ । 

Events
Random Picks