नेपालले पनि इतिहास रच्दै रोयल अल्वर्टमा
22-June-2015

काठमाडौं, असार ६ - विश्वका प्राय: कलाकारको अन्तिम सपना हुन्छ– बेलायतको रोयल अल्र्वट हलमा आफ्नो सिर्जना पस्किने । धेरैले प्रयत्न पनि गरेका हुन्छन्, सफलता भने कमैलाई मिल्छ । बलिउड र हलिउडका केही चर्चित सर्जकले मात्रै त्यहाँसम्म पुग्ने हैसियत राखेका छन् । संगीतको मन्दिर मानिने रोयल अल्र्वट हलमा यसपटक भने नेपालले पनि इतिहास रच्दै छ ।

गायक योगेश्वर अमात्यले एक वर्षको निरन्तर संघर्षपछि नेपालको सांगीतिक साँझ त्यहाँसम्म पुर्‍याउने भएका हुन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन (माथिको तस्बिर) मार्फत अमात्यले जुन २८ तारिखमा कार्यक्रम गर्न लागेको जानकारी दिए । उनीसँगै पाका गायक दीप श्रेष्ठ, ओमविक्रम विष्ट रहने छन् । त्यस्तै, जेम्स प्रधान, दीपक थापा, सुजिल कर्माचार्य, तृष्णा गुरुङ, भूषण दाहाल र ९ जना वाद्यवादकसहित १७ जनाको टोली कन्र्सटका लागि जुन २४ मा लन्डन उड्ने भएका छन् । कार्यक्रमको उद्घोषण भूषणले गर्ने भएका छन् । नेपालबाट पहिलो रोयल अल्वर्ट हलमा संगीत प्रस्तुत गर्न लागिएकोले यो ऐतिहासिक भएको योगेश्वरले दाबी गरे ।

उनका तीन वर्ष कुर्दा पनि पालो नपाएको बताउँदै बलिउड कलाकारलाई सो हलसम्म पुर्‍याउन पहल गर्ने एक भारतीय मित्रसँगको सम्बन्धले मात्रै समय मिलाउन सकेको सुनाए । उनका अनुसार संगीतप्रतिको मर्यादा र पाका स्रष्टाको सम्मानस्वरूप दीप र ओमलाई त्यस मञ्चमा मुख्य स्थान दिइने छ । ‘उहाँहरूकै चेलाहरू हौं हामी,’ योगेश्वरले भने, ‘त्यसैले संगीतको इतिहास रच्ने अधिकार पनि उहाँहरूलाई नै छ, मैले स्थान जुटाउने प्रयास मात्रै गरेको हुँ ।’ योगेश्वरले यसो भनिरहँदा दीप र ओम भावुक देखिएका थिए । दीपले आफ्ना संगीतको यात्रा बेलायतको प्रतिष्ठित हलसम्म पुग्ला भनेर नसोचेको बताए ।

यसको श्रेय उनले योगेश्वरलाई नै दिए । ‘जीवनको एउटा ठूलो सपना पूरा गर्न पाएँ,’ उनले भने, ‘त्यहाँ सकेसम्म दर्शक/श्रोताको मन जित्ने कोसिस गर्ने छु ।’ ओमले चाहिँ रोयल अल्वर्ड हल विश्वका संगीतकर्मीको तीर्थस्थल जत्तिकै पवित्र रहेको सुनाए । ‘लाग्दै छ म संगीतको तीर्थ यात्रामा जाँदै छु,’ उनले भने, ‘फेरि सिर्जनाको उस्तै उमंग फर्किएको छ ।’ योगेश्वरले एक वर्षअघि रोयल अल्वर्ड हलमा संगीत पस्किने योजना बेग्लै बनाएका थिए । तर, विपत्तिले समय बदलिदिएपछि योजनाहरू पनि परिवर्तन गर्न बाध्य भए उनी । त्यही भएर उनले भूकम्प प्रभावित क्षेत्र गोरखाको विकासका लागि कन्र्सट गर्ने सोच बनाएको खुलाए । प्रस्तुतिको नाम नै जुराइएको छ– ‘एन इभिनिङ फर गोर्खा’ । संकलित रकम गोरखाका भूकम्प पीडितहरूको सहयोगार्थ अर्पण गरिने टिम लिडर अरुणबहादुर श्रेष्ठले सुनाए ।

उनका अनुसार कन्र्सट हेर्नका लागि लन्डन, बेल्जियम, जर्मनी, फ्रान्स र आयरल्यान्डबाट पनि अनलाइन टिकट खरिद गरिरहेको बताए । करिब साढे दुई घन्टाको कन्सर्टमा ओम, दीप, योगेश्वर, जेम्स लगायत कलाकारले सांगीतिक प्रस्तुति पस्किने छन् । के–के गाउने भन्नेचाहिँ गोप्य नै राखिएको योगेश्वरले बताए । ‘दीप र ओम दाइका गायन पनि फरक हुन सक्छन्,’ उनले भने, ‘त्यसको राज कन्र्सटमै खोलिने छ ।’ उनका अनुसार चार हजार दर्शक अट्ने हलमा दर्शकको कमी नहुने सुनाए । २५ पाउन्डदेखि सय पाउन्डसम्म टिकटको मूल्य राखिएको छ ।

Write a Comment

Events
Random Picks