नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाको निधनको कारण क्यान्सर होइनः अनुसन्धान
20-October-2017


जकसन डटकम
पोखरा, ०४ कात्र्तिक

विश्वविख्यात कवि पाब्लो नेरुदाको निधन प्रोस्टेट क्यान्सरका कारण नभएको फोरेन्सिक विशेषज्ञले बताएका छन् । साहित्यमा नोबेल पुरस्कार विजेता चिलीका कवि नेरुदाको सन् १९७३ मा निधन भएको थियो । जनरल अउगुस्तो पिनोचेतको नेतृत्वमा चिलीमा सैन्य कु भएको दुई हप्ता भित्रमा नेरुदाको निधन भएको थियो । उनको निधन प्रोस्टेट क्यान्सरका कारण भएको चिलीका अधिकारीले बताउँदै आएका छन् । तर कवि नेरुदाका पूर्व ड्राइभर म्यानुएल अरायाले भने नेरुदालाई विष दिएर हत्या गरिएको बताएका छन् । 

नयाँ जाँचले नेरुदाको निधन क्यान्सरका कारण नभएको बताए पनि उहाँको निधनको कारण भने खुलाएको छैन । पत्रकार सम्मेलनमा डा. औरेलियो लुनाले विशेषज्ञहरु नेरुदाको निधनको कारण क्यान्सर नरहेकोमा एकमत रहेको बताउनुभयो । कवि नेरुदा प्रोस्टेट क्यान्सरबाट ग्रसित रहेको तर यो तत्काल निधन भइहाल्ने अवस्थामा नरहेको १६ देशका विशेषज्ञ सहभागी रहेको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ ।

नेरुदाको निधनमा अरु कारण रहेको हुन सक्ने उल्लेख गरिएको छ । नेरुदाको शरीरमा पाइएको विषालु पदार्थका बारेमा अब जाँच हुनेछ । यस विषयमा जाँच गर्न सन् २०१३ मा अदालतले आदेश दिएको थियो ।

नेरुदा सन् १९७३ मा सैन्य कु हुने बेला राष्ट्रपति रहेका समाजवादी नेता साल्वाडोर एलेन्देका साथी तथा समर्थक हुनुहुन्थ्यो । सैन्य कु भएको १२ दिनपछि सन् १९७३  सेप्टेम्बर २३ मा सान्टियागोमा नेरुदाको निधन भएको थियो । पूर्व ड्राइभर एरायाले नेरुदालाई सुई मार्फत विष दिएर मारिएको आरोप लगाउँदै आएका छन् ।

Events
Random Picks