क्याटालोनिया स्पेनको महत्वपूर्ण भाग रहिरहन्छः राजा फेलिपे छैटौं
20-October-2017


जकसन डटकम
पोखरा, ०४ कात्र्तिक

स्पेनका राजा फेलिपे छैटौंले क्याटालोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने बताउनुभएको छ । देशको उत्तरी शहर ओविएदोमा भएको एक अवार्ड समारोहमा सम्बोधन गर्ने क्रममा राजा फेलिपे छैटौंले क्याटालोनिया सरकारले समस्या सिर्जना गरेको र केन्द्र सरकारले त्यसलाई प्रजातान्त्रिक तवरले समाधान गर्न चाहेको बताउनुभयो । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा अक्टोबर १ मा जनमतसंग्रह भएको थियो । 

स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा अत्याधिक बहुमत आएको क्याटालोनियाका नेताले बताएका थिए । त्यसपछि बढेको क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनावले क्याटलान नेताले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेपछि उत्कर्षमा पुगेको हो ।  स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे पनि क्याटलान नेताले तत्कालका लागि घोषणा भने गरेका छैनन् । 

यहि क्रममा अहिले आएर स्पेन सरकारले क्याटालोनियामा केन्द्रको प्रत्यक्ष शासन लागु गर्ने तयारी गरेको छ । क्याटालोनिया स्पेनकै भाग रहे पनि स्वायत्त रहँदै आएको छ । मड्रिडबाट प्रत्यक्ष शासन लागु गरेर क्याटालोनियाको स्वायत्त शासन अन्त्य गर्ने तयारीमा स्पेन सरकार छ । स्पेन सरकारले क्याटालोनियामा आउँदो जनवरीमा चुनाव गर्ने गरी त्यसबेलासम्म केन्द्र शासन लागु गर्ने तयारी गरेको हो ।

Write a Comment

Events
Random Picks