कुर्द्विरुद्धको कारवाही सीरियाबाट इराकसम्म पुर्याउने टर्कीको घोषणा, अमेरिकासँग
26-January-2018

जकसन डटकम
पोखरा, १३ माघ

टर्कीका राष्ट्रपति रेचप तैयब एर्दोआनले भनेका छन् सीरियामा जारी कुर्द लडाकुविरुद्धको कारवाहीलाई पूर्वको इराकसम्म पुर्याइने छ । अंकारामा बोल्दै एर्दोआनले भने कि उनका सेनाहरुले कुर्दा नियन्त्रणमा रहेको मनबिज पार गर्दै अघि बढ्नेछन् । टर्कीले गत हप्ताबाट कुर्द लडाकुविरुद्ध अभियान सुरु गरेको छ । अमेरिकाले कुर्द बलको समर्थन गर्दै आएको छ । टर्कीको यस कदमबाट अमेरिकासँग झडपको खतरा बढेको बीबीसीले जनाएको छ । कुर्द बलले सन् २०१६ मा यस शहरलाई इस्लामिक स्टेटको नियन्त्रणबाट मुक्त गराएको थियो । र, यहाँ अमेरिकी सेना पनि तैनाथ छ । 

टर्कीका सेनाले सीरियाई विद्रोहीको समर्थन पाएको छ । टर्की सेनाले कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) लाई लखेट्ने उद्देश्यका साथ आफरीन क्षेत्रमा हमला बोलिसकेको छ । टर्कीले वाईपीजीलाई आफ्नो देशमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को हिस्सा मान्दछ । पीकेकेले दक्षिण पूर्वी टर्कीमा स्वायत्तता हासिल गर्नका लागि तीन दशकदेखि संघर्ष गर्दै आएको छ । टर्कीको यस सैन्य अभियानको असर अमेरिकासँगको सम्वन्धमा परेको छ । अमेरिकाले इस्लामिक स्टेटविरुद्धको लडाईंमा वाईपीजीको समर्थन गर्दछ । टर्कीको दक्षिण पूर्वी सीमा ८७० किलोमिटर लामो छ जुन पश्चिममा भूमध्यसागरबाट शुरु भई पूर्वमा इराकसम्म पुग्दछ । यस सीमाको करीब ७ सय किलोमिटर क्षेत्र कुर्दहरुले नियन्त्रणमा लिएका छन् ।

Write a Comment

Events
Random Picks