चीनले बनाउँदै छ विश्वकै नमूना सहर, यस्ता छन् यो सहरको विशेषता
12-February-2018


जकसन डटकम
पोखरा, ०१ फागुन

भौतिक संरचना निर्माणमा निकै प्रगति गर्दै आएको चीनले विश्वकै नमूना सहर बनाइरहेको छ । जलवायु परिवर्तन र यसबाट निम्तिएको संकट न्यूनिकरण गर्ने उद्देश्यले चीनले एउटा यस्तो सहर बनाइरहेको छ, जहाँ हरेक घरमा हरियाली पाइनेछ । लिउझोउमा चीनले ‘वन सहर’ बनाइरहेको हो, जहाँ ३० हजार मानिस बस्न सक्नेछन् । केही वर्षमै तयार हुने यो सहरमा आवास, होटल, अस्पताल, विद्यालय लगायतका आधुनिक भवन हुनेछन् । प्रत्येक भवनमा रुख रोपिएका छन् । 

यो सहरमा ४० हजार रुख र विभिन्न एक सय प्रजातिका १० लाख बिरुवा तथा झाडी हुनेछन् । यी रुखबिरुवाले प्रतिवर्ष १० हजार टन कार्वनडाइअक्साइड र ५७ टन प्रदुषणलाई अवशोषित गर्ने चिनियाँ अधिकारीहरुको भनाइ छ । त्यसैगरी यो सहरमा भएका रुखबिरुवाले प्रतिवर्ष ९०० टन अक्सिजन उत्पादन हुने बताइएको छ । दक्षिण चीनकमो गुआङ्गझीस्थित लिउझोउमा बन्दै गरेको यो सहरलाई विद्युतीय सवारी साधन र द्रुत गतिको रेलसेवामार्फत यातायात संजालसँग जोडिनेछ । 

सहरका हरेक घरमा भू–तापीय उर्जा र सौर्यप्लानलसहितका छतबाट संचालित एयरकन्डिशन हुनेछन् । लिउझोउ नगरपालिकाको शहरी योजनाद्वारा तयार पारिएको परियोजनालाई स्टिफानो बोएरीले डिजाइन गरेका हुन् । शहरमा हुर्काइएका रुखबिरुवाले तापमानलाई नियन्त्रण गर्नेछ भने ध्वनि प्रदुषण नियन्त्रण गर्ने तथा पशुपंक्षीका लागि आवास दिने हुनाले जैविक विविधतामा सुधार आउने अपेक्षा गरिएको छ । सहरको निर्माण सन् २०२० बाट सुरु हुने जनाइएको छ । (एजेन्सी)

Write a Comment