Headline Title onlyन्युज पोखरापोखराविजनेशविजनेश न्युज

गण्डकी प्रदेशमा चौधरी फाउण्डेसनले बाड्यो ४० थान पीपीई र २ हजार थान सर्जिकल मास्क

चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि अत्यावश्यक सामग्री वितरण गरेको छ।

गण्डकी प्रदेशको चार वटा स्वास्थ्य संस्थामा ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र २ हजार थान सर्जिकल मास्क वितरण गरेको फाउण्डेसनले जनाएको छ।

फाउण्डेसनले १०/१० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र ५०० / ५०० थान सर्जिकल मास्क प्रदेशका ४ ओटा जिल्लाका स्वास्थ्य संस्थामा वितरण गरिएको बताएको छ ।

सामग्री वितरण गरिएका स्वास्थ्य संस्थामा मातृ शिशु मितेरी अस्पताल कास्की, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल र बाग्लुङ्ग जिल्ला अस्पताल रहेका छन् ।

मातृ शिशु मितेरी अस्पताल कास्कीमा अस्पतालकी प्रमुख प्रतिभा गौलीलाई र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयमा आज राजु भुजेलको टिमले सामाग्री वितरण गरेको थियो ।

फाउण्डेसन अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भनेका छन्, “हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता भनेको विभिन्न अस्पताल र ठाउँ/ठाउँका क्वारेन्टाइन, आइसोलेसन सेन्टरहरूको जोखिम मुल्यांकन गरी अत्यावश्यक सामग्रीले सुसज्जित गर्नु हो । सबैभन्दा पहिले उपचारमा क्रियाशील रहने स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गरी उनीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु आवश्यक थियो । चौधरी फाउण्डेसनले यसमा केही सफलता हासिल गरेको छ ।”

जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर फाउण्डेसनले हेल्पलाइन पनि शुरु गरेको छ । आवश्यकताका आधारमा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न फाउण्डेसनले आग्रह गरेको छ ।

अहिले देखिएको कोभिड–१९ परीक्षण किट अभावप्रति अध्यक्ष चौधरीले चिन्ता व्यक्त गरेका छन् । “हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपी नेपाल भित्र्याउन सफल भइसकेका छैनौं,” उनले भनेका छन्, “ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।”

त्यससँगै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया पनि शुरु गरेको फाउण्डेसनले जनाएको छ ।

चौधरीले मुलुकभर यी उपकरणको अभाव देखिएको र बाहिरबाट उपकरण आयात गर्नुको विकल्प नभएको बताएका छन्। सँगसँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ । त्यसैले त्यस्ता जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्ने चौधरीले बताएका छन् ।

उनले आजको आवश्यकता भनेको पैसा भन्दा पनि स्वास्थ्य उपकरणको आपूर्ति भएको भन्दै संक्रमित बिरामी उपचारको ठूलो अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा मुख्य चुनौती भएको बताएका छन् । यसतर्फ चौधरी फाउण्डेसन अत्यन्तै सजग र संवेदनशील रहेको पनि अध्यक्ष चौधरीले बताएका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close