Headlines with imageबलिउड/हलिउडमनोरन्जन

सुशान्त मृत्यु प्रकरण: खारेज भयो सलमान खान, करन जोहरसहित ८ जनाविरूद्ध दायर मुद्दा

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बलिउडका चर्चित अभिनेता सलमान खान, चर्चित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध परेको मुद्दा अदालतबाट खारेज भएको छ।

असार पहिलो साता एक वकिलले उनीहरु माथि दायर गरेको फौजदारी मुद्दा बिहार अदालतले खारेज गरिदिएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशका विरूद्ध मुद्दा हालेका थिए।

यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुशान्तको मृत्युको तेस्रो दिनै दायर गरिएको यो मुद्दामा साक्षीका रूपमा अभिनेत्री कंगना रनावतको नाम उल्लेख गरिएको थियो।

तर यो मुद्दा अदालतले खारेज गरिदिएको छ।

३४ वर्षीय सुशान्तले गत जुन १४ मा आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनलाई लामो समयदेखि डिप्रेसन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुशान्तलाई ‘धेरै कुराको दबाब रहेको’ भन्दै उनको निधनबारे अहिले पनि अनुसन्धान चलिरहेको छ। यससम्बन्धमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीदेखि सुशान्तकी प्रेमिका मानिएकी अभिनेत्री रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिरहेको छ।

सम्बन्धित खबर

Close