मनोरन्जनमनोरन्जन समाचार

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको हो ।

लामो समय देखि नेपाली चलचित्र उद्योगमा सक्रिय र झन्डै ४० वटा चलचित्र निर्देशन गरिसकेका दाहाल २ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए ।

गत मंसिरमा २९ गते तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । पद खाली भएको लगभग ६ महिना पछि मन्त्रालयले आवेदन माग गरेको थियो ।

गत बिहिबार पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको थियो । आवेदन दिने जम्मा १० जना मध्येबाट मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको थियो ।

अध्यक्ष पदको लागि भुवन केसी, दयाराम दाहाल, राजेश थापा, भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close