
चलचित्र निर्देशक सुदर्शन थापाले मोडल तथा समाचारवाचिका सुप्रिया कटवालसँग आज इन्गेजमेन्ट गरेका छन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए ।
आजै जन्मदिन मनाइरहेका उनले जन्मदिनकै अवसर पारेर काठमाडौंको र्याडिसन होटलमा इन्गेजमेन्ट गरेका हुन् ।
‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यू गरेका सुदर्शनले आफ्नो निर्देशकीय यात्रामा ‘मधुमास’, ‘धन्दा’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, रामकहानी, ‘म यस्तो गीत गाउँछु २’ आदि चलचित्रको निर्देशन गरिसकेका छन् ।
सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी सुप्रिया कटवाल भने पछिल्लो समय एपीवानमा समाचार वाचन गर्ने गर्थिन् । केही फिल्ममा सानोतिनो भूमिकामा देखिएकी सुप्रियाले ‘साढे सात’ शीर्षकको फिल्ममा भने महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
इन्गेजमेन्टमा नजिकका आफन्तलाई मात्र बोलाइएको जनाईएको छ।
सुप्रियासँग टीकाटालो गरेका सुदर्शनको नाम सुष्मा कार्की र पूजा शर्मासँग जोडिने गरेको थियो । पछि दुवैले सुदर्शनलाई छाडेर बेग्लाबेग्लै साथी रोजेका थिए ।
सुदर्शन र सुप्रिया केही महिनादेखि डेटमा रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने गोप्य राखेका थिए ।