Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

पोखरामा ‘तिम्रो मेरो साथ’को ‘इन्ड क्ल्याप’

साम्राज्ञी र पुष्प खड्का स्टारर नयाँ नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । पोखरामा शनिबार ‘इन्ड क्ल्याप प्रेस मिट’ गर्दै फिल्म युनिटले छायाँकन सकिएको जानकारी गराएको हो । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक रमेश एमके पौडेलले ३३ दिनमा सुटिङ सकिएको बताए ।

लभ स्टोरी फिल्म ‘ तिम्रो मेरो साथ ‘मा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित हास्य कलाकार तथा संचारकर्मी सन्दिप क्षेत्रीको मूख्य भूमिका रहेको छ । फिल्ममा सरोज खनाल, खगेन्द्र पुन मगर (खबपु), इमिली लामा, धु्रव दत्तको लगायतका कलाकारको पनि भूमिका रहने छ ।

सबिर श्रेष्ठको कथामा निर्माण हुँदै गरेको फिल्मको निर्देशन रमेश एमके पौडेलले गरेका हुन् । फिल्मका निर्माता पौडेल आफै हुन् भने कार्यकारी निर्माता श्रेष्ठ रहेका छन् । आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा १ करोड ८० लाख भन्दा बढी लगानीमा बन्दै गरेको फिल्ममा पासाङ लामाको समेत साथ छ ।

फिल्मको बारेमा बोल्दै निर्देशक तथा निर्माता रमेश एमके पौडेलले फिल्मको छायाँकन सोहार्दपूर्ण वातावरणबाट सकिएको जानकारी गराए । यसअघि राजारानी र रुद्रप्रिया जस्ता फिल्म बनाएका पौडेल एक सफल व्यवसायी समेत हुन् । उनले अमेरिकामा व्यवसाय गर्दै आएका छन् । १६ वर्षको उमेरमा रेडियोबाट उनको करिअर शुरुवात भएको थियो । पौडेलले कोरोना महामारीका कारण रोकिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन गतिविधि बढाउनुपर्ने उद्देश्य सहित “तिम्रो मेरो साथ” छायाँकन गरिएको जानकारी गराए । उनले भने,“कोरोनाका बेला म अमेरिका थिए । पहिलेबाट नै फिल्म निर्माण गर्ने योजना थियो । तर राम्रो कथाको खोजीमा थिए । सबिरजी सँग सम्पर्क भयो । उहाँले कथा सुनाउनु भयो । मन पर्यो र निर्माण गर्ने योजना बनाए ।”

काठमाडौं र पोखरामा छायांकन गरिएको फिल्म आउँदो तिहारमा प्रदर्शन गर्ने तयारीमा आफु रहेको उनले बताए । फिल्ममा चार वटा गीत समावेश गरिएको जानकारी पौडेलले गराए । लामो समय देखि फिल्म क्षेत्रमा छायाँकन गर्दै आएका शिव ढकालले “तिम्रो मेरो साथ” लाई खिचेका हुन् । फिल्ममा कोरियोग्राफी चर्चित कोरियोग्राफर रामजी लामिछानेको रहेको छ ।

नायक पुष्प खडका लामो समय बन्द भएको फिल्म क्षेत्र अब विस्तारै चलायमान बनाउनमा “तिम्रो मेरो साथ” ले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छन् । उनले स्विट लभ स्टोरी र टीम राम्रो भएकाले आफु फिल्ममा अनुबन्धित भएको बताए । सबै मिलेर थिलो परेको फिल्म क्षेत्रलाई माथि उठाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

कलाकार सन्दिप क्षेत्रीले फिल्म बनाउने निर्देशक र निर्मातामा नियत सही भएकाले सफलता मिल्नेमा आफु विश्वस्त रहेको बताए । उनले आफु सँधै रिजल्ट भन्दा पनि प्रोसेस राम्रो गर्नुपर्ने पक्षमा रहेको जानकारी गराउँदै “तिम्रो मेरो साथ” फिल्मको प्रोसेस शुरुदेखि नै राम्रो भएको बताए । उनी राम्रो टीमका कारण फिल्म सफल हुनेमा ढुक्क छन् ।

फिल्मका स्क्रिप्ट राईटर तथा कार्यकारी निर्माता सबिर श्रेष्ठले यसअघि आफुले अरुका स्क्रिप्टमा निर्देशनको भूमिका निर्वाह गरेता पनि अहिले आफैले लेखेको फिल्मको छायांकन सम्पन्न हुँदा खुशी लागेको बताए । उनले कथामा दर्शकले कन्टेन्ट नयाँ पाउने दाबी गरेका छन् ।

सिनेमेटोग्राफर शिव ढकालले फिल्म क्षेत्र ठप्प रहँदा प्राविधिक मर्कामा भएको जानकारी गराए । “तिम्रो मेरो साथ” फिल्मको छायांकन हुँदा ७० जना प्राविधिकले रोजगार पाएको उनले उल्लेख गरेका छन् । ढकालले फिल्म राम्रो बनेको बताए । उनले उक्त फिल्मले सिङ्गो क्षेत्रलाई चलायमान बनाउनेतर्फ प्रेरित गर्न मदत पुर्याउने विश्वास लिएका छन् । फिल्ममा संगीत सुभास भूसाल र योगेश काजीको रहेको छ । फिल्मका गीतलाई सुगम पोखरेल, मेलिना राई, अस्मिता अधिकारी, जग्दिश समाल, सारिका घिमिरे र योेगेश काजीले गाएका छन् । फिल्मका गीतलाई निर्देशक रमेश एमके पौडेल आफैले लेखेका हुन् ।

फोटो : सचिन मल्ल र मिलन थापा / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close