Headlines with imageन्युज पोखरापोखरामनोरन्जनमनोरन्जन समाचार

चलचित्र पत्रकार संघ कास्कीले गर्यो चलचित्र विशेष टि-सर्ट लन्च

चलचित्र पत्रकार संघ कास्कीको कोष बृद्धीका लागि संघले चलचित्र सम्बन्धि टि-सर्ट सार्वजनिक गरिएको छ । संघले नेपालीहरुको महान् चाड विजयादशमी, शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदनप्रदान चलचित्र विशेष टि-सर्ट सार्वजनिकीकरण एवं चियापान कार्यक्रमका बीच उक्त टि-सर्ट सार्वजनिक गरेको हो । टि-सर्टमा ‘मन भित्र नेपाली चलचित्र’, ‘लास्टै फिल्मी यार’ लेखिएको छ ।

टि-सर्ट सार्वजनिक गर्दै कलाकार प्रकाश घिमिरेले कोरोना महामारीका समयमा पनि चलचित्र पत्रकार संघ कास्कीले एक पछि अर्को गतिविधि गर्नु सह्रानिय भएको बताए । चलचित्रको प्रचारप्रसारसँगै पत्रकार संघको कोष वृद्धिमा यसले ठूलो टेवा पुर्याउने विश्वास उनको छ ।

कार्यक्रममा गुरुङ फिल्म एशोसियसन (जिफान) कास्कीका अध्यक्ष भोजबहादुर गुरुङले कोरोना महामारीका कारण विश्वमा नै चलचित्रसंग सम्बन्धित कुनै पनि गतिविधि नभएको अवस्थामा यस्तो कार्यक्रमको आयोजना गर्नु आफैमा सबल पक्ष रहेको उल्लेख गरे । पछिल्लो कार्यसमिति आएपछि पोखरामा चलचित्र पत्रकार संघ कास्कीले राम्रा गतिविधिहरु गर्दै आएको उनले बताए ।

पोखरालाई चलचित्र नगर बनाउनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै गुरुङले गुरुङ फिल्म एशोसियसन संस्थागत रुपमा सँधै चलचित्र पत्रकार संघ कास्कीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले जिफानमा पाँच वटा चलचित्र प्रदर्शनको क्रममा भएपनि कोरोना महामारीका कारण रोकिएको जानकारी गराए ।

गुरुङले निर्माताहरुको झण्डै १ करोड ५० लाख रकम फ्रिज भएको र कोरोनाका कारण २ सय ५० जना कलाकार तथा प्राविधिकहरुको रोजीरोटीमा समस्या आएको उल्लेख गरे । यस्तो अवस्थामा आफूहरुले पनि गुरुङ फिल्म मन पराउने विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुबाट रकम उठाएर प्राविधिककलाकारको आठ समूह बनाई ५० हजारको दरले रकमको व्यवस्था गरिएको उनले जानकारी गराए ।
यतिमात्र नभई जिफानले महामारीका समयमा पनि गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्राविधिक र कलाकारको टोलीलाई सर्ट फिल्म निर्माणको अवधारणा पनि बनाएको उनले बताए ।

‘गुरुङ चलचित्र निर्माण हुन थालेको २५ वर्ष पुग्यो । २५ वर्ष सम्म एउटै ढङ्गको फिल्म निर्माण भएको गुनासाहरु सुन्नमा आए । अब केही रचनात्मक गतिविधि गर्नुपर्छ भन्ने लागेर नै जिफान अगाडि बढिरहेको छ ।’, उनले भने ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार श्रीराम सिग्देलले पछिल्लो समय संघको गतिविधि प्रशंसनिय रहेको उल्लेख गरे । मोफसलमा रहेर केन्द्रले गर्न नसकेका कामलाई कास्कीले गरेर देखाएको उनको भनाई थियो । सिग्देलले चलचित्र पत्रकार सङ्घको चौथो अधिवेशनबाट आएको टिमले रचनात्मक काम गरेको भन्दै खुशी व्यक्त गरे ।

‘नयाँ कार्यसमिति आए लगतै कोभिडको समस्या आयो । तर अध्यक्ष अरुण गिरीको नेतृत्वमा बनेको टिम डग्मग्याएन । कोरोना महामारी र लकडाउनका बिच यो टिमले राहत वितरण, चलचित्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम र अब चलचित्र सम्बन्धि टि—सर्ट सार्वजनिकीकरण कार्यक्रम गरिसकेको छ । पोखरामा पछिल्लो समय चलचित्रका कार्यक्रमले गति लिएको आभाष भएको छ ।’, उनले भने ।

आफ्नो धन्यवाद मन्तव्य राख्दै चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष अरुण गिरीले सबैको साथ, सहयोग र मायाले नै आफू लगायत टिमलाई उत्साह मिलिरहेको बताए । टि-सर्ट सार्वजनिकीकरणका विषयमा जानकारी गराउँदै अध्यक्ष गिरीले चलचित्र पत्रकार संघ कास्की बल्ल हुर्किदै गरेको संस्था भएको र संस्थामा प्रयाप्त फन्ट नभएको अवस्थामा कोष बृद्धिका लागि यस्तो कार्यक्रमले सहयोग पुग्ने हेतुले आयोजना गरिएको जानकारी गराए ।

अरु कार्यक्रमको आयोजना गर्न समयले साथ नदिएको अवस्थामा कोष वृद्धिका लागि नेपाली चलचित्रका चलेका डाइलगहरु लेखेर टि-सर्ट छाप्ने र सहयोग रकम संकलन गर्ने योजना सहित संघ अगाडि बढेको उनले बताए । अध्यक्ष गिरीले भने,‘हामी कुनै व्यक्तिगत नाफाका लागि व्यवसायिक रुपले लाग्न खोजेको होइनौ। टि-सर्ट बिक्रि बापत आएको रकम सम्पूर्ण संस्थाको कोषमा जम्मा हुनेछ। आशा छ संस्थाको यस्तो प्रकारको गतिविधिमा समेत सबैको साथ मिल्नेछ ।’

अध्यक्ष गिरीले यस्तो क्रियाकलापले प्रत्यक्ष रुपमा नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा टेवा पुग्ने बताए । हाललाई ‘मनैदेखि नेपाली चलचित्र’ र ‘लास्टै फिल्मी यार’ मात्र टि-सर्टमा उल्लेख गरिएता पनि भोलीका दिनमा चलचित्र निर्माता संघको सहयोगमा नेपाली चलचित्रका चर्चित डाइलग र गीतका टुक्कालाई समेत टि-सर्टमा उल्लेख गरिने उनले बताए ।

सरकारको समाजिक सुरक्षाको मापदण्ड अनुसार आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

टि-सर्टमा छापिएका डिजाईन चलचित्र पत्रकार संघ कास्कीका साधारण सदस्य मिलन थापा, प्रेम थापा र डिजाईनर सबिन गायकले गरेका हुन।

फोटो : सचिन मल्ल / जक्सन डट कम

       

 

 

 

सम्बन्धित खबर

Close