Headline Title onlyफ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

‘पे पर भ्यू’का आधारमा गुरुङ फिल्म पनि अब टिभीमा हेर्न पाइने : फ्राईडे रिलिज फिल्म ‘मैंरिमो’

जक्सन न्युज, पोखरा ।

गुरुङ फिल्म पनि अब ‘पे पर भ्यू’ ( टेलिभिजनमा फिल्म वा कार्यक्रम पैसा तिरेर हेर्न मिल्ने सुविधा – पीपीभी ) का आधारमा टेलिभिजनमा पैसा तिरेर हेर्न पाइने भएको छ।

नेपाली तथा गुरुङ फिल्म निर्माण गर्दै आएको ब्यानर मुनाल फिल्म प्रालिको बितरणमा गुरुङ फिल्म ‘पे पर भ्यू’ का आधारमा टेलिभिजनमा प्रदर्शन हुने भएको हो ।

म्याक्स टिभीसंगको सहकार्यमा मुनाल फिल्मले आज शुक्रबार देखी टिभीको च्यानल नम्बर ७७७ मा गुरुङ फिल्मको प्रदर्शन सुरु गर्ने भएको हो।

गुरूङ फिल्मको इतिहासमा पैसा तिरेर टेलिभिजनमा हेर्ने मिल्ने गरि प्रदर्शन गर्न लागिएको यो पहिलोपटक हो ।

यसअघि गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले पहिलो पटक गुरुङ फिल्म हलमा नियमित प्रदर्शन गर्न सुरु गरेको थियो । पहिलो लकडाउन सकिए संगै पोखराको मिडटाउन सिनेमाजमा सुरु गरिएको नियमित प्रदर्शन दोश्रो लहरको कोरोना र लकडाउनले रोकिएको छ।

कोरोनाका कारण हलमा फिल्म प्रदर्शन सम्भव नभएपछि नयाँ प्रविधीको उपयोग गर्दै यसरी टिभीमा फिल्म प्रदर्शन गर्ने सोँच आएको जिफानका अध्यक्ष तथा बितरक मुनाल फिल्म प्रालिका संस्थापक भोजबहादुर गुरुङले बताए ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले कोरोनाका कारण हलमा फिल्म प्रदर्शन गर्न नसकिएका कारण फिल्मकर्मी र दर्शकका बिचमा दुरी बढेको र सो दुरी कम गर्न यो अवधारणा ल्याइएको बताए। ” फिल्म बनाएर दर्शकलाई देखाउन नपाएसम्म हामी फिल्मकर्मीको अस्तित्व रहँदैन। हामी र दर्शक बिच बनेको दुरी कम गर्न हामीले म्याक्स टिभीसंग सहकार्य गरेका हौं। ” उनले भने।

प्रदर्शनको सुरुवात मुनाल फिल्मले आफ्नै ब्यानरमा भोजबहादुर गुरुङ आफैले निर्देशन गरेको फिल्म ‘मैंरिमो’ (मिस यु) बाट गर्ने उनले बताए।

उनका अनुसार म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा आज शुक्रबार देखी एक हप्ता सम्म दैनिक चार शो ‘मैंरिमो’ (मिस यु) प्रदर्शन हुनेछ ।

फिल्म दिउँसो १२, ३, साँझ ६ र राति ९ बजे गरि दैनिक चार शो एक हप्ता सम्म प्रदर्शन हुने उनले बताए । फिल्म हेर्न दर्शकले प्रतिशो ३२५ रुपैयाँ तिर्नुपर्ने छ । चलचित्र हेर्न दर्शकले इसेवा वा म्याक्स टिभीको शाखामा निर्धारित शुल्क भुक्तानी गर्न सक्ने छन् ।

कोरोनाले सिनेमा हल बन्द हुन थालेको र त्यसको विकल्प टेलिभिजनलाई बनाउने प्रयास स्वरुप चलचित्र प्रदर्शनमा आफूहरुले हातेमालो गरेको म्याक्स टिभीले जनाएको छ ।

गुरूङ चलचित्रको विकासमा इट्टा थप्न प्रदर्शनको व्यवस्था मिलाएको म्याक्स टिभीका निर्देशक मनोज गुरुङले बताए ।

भोजबहादुर निर्देशित ‘मैंरिमो’ पछि गोरे गुरूङको ‘हेर्बै च्ह’ (हिमालको छोरो) र मनोज गुरूङको गेट पास प्रदर्शन हुनेछ ।

म्याक्स टिभीमा फ्राईडे रिलिज : गुरुङ फिल्म ‘मैंरिमो’ (मिस यु)

आज शुक्रबार देखि म्याक्स टिभीमा भोज बहादुर गुरुङ निर्देशित गुरुङ फिल्म ‘मैंरिमो’ रिलिज भएको छ। फिल्म ‘पे पर भ्यू’का आधारमा टिभीको च्यानल नम्बर ७७७ मा रिलिज भएको हो।

यसअघि नेपालमा पोखरा र काठमाण्डु र बिदेशमा हङकङ, अमेरिका, युरोप लगाएतमा प्रदर्शन गरिसकिएको ‘मैंरिमो’ को प्रदर्शन हलमा भने कोरोनाका कारण रोकिएको थियो ।

फिल्ममा गमन घले, सपना गुरुङ, प्रेम गुरुङ, गजेन्द्र गुरुङ लगाएतका कालाकारको अभिनय रहेको छ। केयर सिंह गुरुङ (कथा) र रोशन गुरुङ (पटकथा) ले लेखेको फिल्मलाई प्रेम गुरुङ र सपना गुरुङले निर्माण गरेका हुन्।

खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको फिल्ममा संगीत तेजेन्द्र गुरुङले भरेका छन।

फिल्मको आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङले गाएको ‘ए ङोल्स्यो ए ङोल्स्यो’ गीत दर्शकमाझ निकै चर्चित बनेको छ ।

धेरैपछि घरमै परिवारको साथमा गुरुङ फिल्म हेर्न पाउने भएकाले दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको निर्देशक भोज बहादुर गुरुङले बताए ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close