फ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

म्याक्स टिभीमा आज शुक्रबार देखि गुरुङ फिल्म ‘तमुस्यो’ रिलिज

जक्सन न्युज, पोखरा।

माओत्सेतुङ गुरुङको लेखन तथा निर्देशनमा बनेको गुरुङ फिल्म ‘ तमुस्यो ‘ आज शुक्रबार देखि रिलिज भएको छ।

म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा ‘पे पर भ्यू’ ( टेलिभिजनमा फिल्म वा कार्यक्रम पैसा तिरेर हेर्न मिल्ने सुविधा – पीपीभी ) का आधारमा हेर्न मिल्ने गरी फिल्म रिलिज भएको हो।

‘तमुस्यो’मा उर्मिला गुरुङ, रोश्नी गुरुङ, सुमित गुरुङ, निखिल गुरुङ, बलबहादुर गुरुङ र प्रेमा गुरुङ लगाएतको अभिनय रहेको छ।

फिल्ममा गुरुङ जातीको संस्कृति ‘ रोंधी ‘ बाट जन्मेको बच्चा ‘ प्रख्या ‘ ( रोंधीको बच्चा ) को संघर्षको कथालाई प्रस्तुत गरिएको निर्देशक माओत्सेतुङ गुरुङले जानकारी दिए ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले फिल्मले गुरुङ जातीको संस्कृति रोंधी संग जोडिएर आएको विकृती, त्यो विकृतीले सृजना गरेको समस्या र समस्या समाधानका लागि गरिएको संघर्षको कथालाई बोकेको बताए। उनले भने ” रोंधी गुरुङ जातीको गीत, संगीत तथा भेषभुषा सृजना गर्ने सिर्जनशिल घर हो । यो संस्कृतिलाई अबको जेनेरेशनले बचाउनु पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ। ”

कार्यक्रममा बोल्दै फिल्मका निर्माता प्रदिप कुमार गुरुङले फिल्मको माध्यमबाट रोंधीमा देखिएको विकृतिलाई चिर्दै रोंधीलाई यसको असली परिचय – सिर्जनशिल घरको रुपमा नै अहिलेको युवा पुस्तालाई परिचित गराउन फिल्म निर्माण गरेको बताए।

फिल्मकी नायिका उर्मिला गुरुङले फिल्म ‘तमुस्यो’ आफ्नो लागि विशेष रहेको बताईन। उनले फिल्म ‘तमुस्यो’ गुरुङ संस्कृति रोंधीको बारेमा भएकाले फिल्म शुटिङ्गको बेला धेरै कुरा सिक्न पाएको र फिल्ममा रोंधीको छोरीको भुमिका निभाउन पाएकाले पनि यो फिल्म विशेष भएको बताईन।

म्याक्स टिभीसंगको सहकार्यमा मुनाल फिल्मले आफ्नो बितरणमा गत श्रावन १ गते देखी टिभीको च्यानल नम्बर ७७७ मा गुरुङ फिल्मको प्रदर्शन सुरु गरेको हो।

गुरूङ फिल्मको इतिहासमा पैसा तिरेर टेलिभिजनमा हेर्ने मिल्ने गरि प्रदर्शन गर्न लागिएको यो दिश्रो फिल्म हो । यसअघि गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष तथा निर्देशक भोजबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘मैंरिमो’ (मिस यु) प्रदर्शनमा आएको थियो। ‘मैंरिमो’ले म्याक्स टिभीको ‘पे पर भ्यू’ बाट ५० हजार भन्दा बढीको कलेक्शन गरेको निर्देशक भोजबहादुर गुरुङले बताए। ” हामीले यो कलेक्शनलाई ठुलो उपलब्धीको रुपमा लिएका छौं। नयाँ प्लेटफर्मबाट रिलिज भैसकेको फिल्मले ५० हजार कमाई गर्नु धेरै खुशीको कुरा हो ” उनले भने।

गुरुङ फिल्मको पनि आफ्नै खाले दर्शक भएको र कोरोनाका कारण हलमा फिल्म प्रदर्शन सम्भव नभएको बेला नयाँ प्रविधीको उपयोग गर्दै यसरी टिभीमा फिल्म प्रदर्शन गर्ने सोँच आएको म्याक्स टिभीका निर्देशक मनोज गुरुङले बताए । टिभीमा गुरुङ फिल्मको प्रदर्शनलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएको बताउदै भोलिको दिनमा गुरुङ फिल्म पनि ‘ ओटीटी ‘ प्लेटफर्ममा पनि रिलिज गर्ने तयारी गरिएको बताए। ” हाम्रो गुरुङ समुदाय देश तथा बिदेशमा हुनुहुन्छ र उहाँहरु गुरुङ फिल्म हेर्न चाहानुहुन्छ। तर हामीले सजिलै सबै ठाउँमा फिल्म रिलिज गर्न नसकिरहेको बेला ‘ओटीटी’ राम्रो विकल्प बन्नेछ ” उनले भने।

२३ लाखको लगानीमा २०७३ सालमा निर्माण भएको फिल्म ‘तमुस्यो’ यसअघि नेपालको मुख्य शहरका साथै यूके, हङकङ र अस्ट्रेलियामा विशेष प्रदर्शन भैसकेको छ।

पर्वतको चित्रे गाउँमा छायांकन भएको फिल्मलाई खिम गुरुङले खिचेका हुन। फिल्ममा नृत्य निर्देशन लवसन गुरुङको, पार्श्व संगीत राजेश बिष्टको र गीत-संगीत तेजेन्द्र गुरुङको रहेको छ।

फिल्मलाई प्रदिप गुरुङ, ईश्वर गुरुङ र अर्जुन गुरुङको टिमले निर्माण गरेको हो।

फिल्म हेर्न दर्शकले प्रतिशो ३२५ रुपैयाँ तिर्नुपर्ने छ । चलचित्र हेर्न दर्शकले इसेवा वा म्याक्स टिभीको शाखामा निर्धारित शुल्क भुक्तानी गर्न सक्ने छन् ।

फोटो : प्रेम थापा

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close