Headline Title onlyफ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

गुरुङ फिल्म ‘शिरसुबा’लाई दर्शकको उत्साहजनक साथ; प्रदर्शनको पाँचौं दिनमा ‘हाउसफुल’

चैत्र ६ गते शुक्रबार देखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शनमा आएको गुरुङ फिल्म ‘शिरसुबा’ले दर्शकको उत्साहजनक साथ पाएको छ। दर्शकले दिएको साथका कारण फिल्मको मंगलबारको शो ‘हाउसफुल’ भएको छ। पहिलो दिन नै ९० प्रतिशत अकुपेन्सीका साथ प्रदर्शनमा आएको फिल्मको पाँचौं दिनको ‘शो’ ‘हाउसफुल’ भएको हो ।

फिल्मका प्रचार प्रसार संयोजक अमृत गुरुङका अनुसार मंगलबार शो ‘हाउसफुल’ भएपछि कतिपय दर्शक घर फर्किएका थिए। फिल्मले पाएको सकारात्मक प्रतिकृयाका कारण पनि दर्शक हलसम्म आएको उनले बताए। “हामीले सोचेभन्दा ठुलो सफलता पाएका छौं, यो साथको र सहयोगका लागि हामी सम्पुर्ण दर्शकलाई धेरै धेरै धन्यबाद दिन चाहान्छौं।” उनले भने “दर्शकको यो साथले हामीलाई उर्जा मिलेको छ।”

गुरुङ फिल्मको २५ वर्ष लामो इतिहासमा पहिलो पटक फागुन १ गते देखि गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को समन्वयमा पोखराको मिडटाउन सिनेमाजमा गुरुङ फिल्मको नियमित प्रदर्शन शुरु भएको हो। यसअघि दुई गुरुङ फिल्म – ‘कर्म क्याः’ र ‘रिंजे नासा’ प्रदर्शनमा आईसकेका छन।

नियमित प्रदर्शनको तेश्रो फिल्म ‘शिरसुबा’ले दर्शकलाई हलसम्म तानेको देख्दा आफुहरुले लिएको उद्देश्य धेरै टाढा नभएको जस्तो भान भएको जिफान अध्यक्ष भोज बहादुर गुरुङ बताउछन। “गुरुङ फिल्मको इतिहासमा नयाँ युगको थालनी भएको छ, जसमा ठुलो इट्टा थप्ने काम ‘शिरसुबा’ले गरेको छ। ” दर्शकलाई धन्यबाद दिंदै उनले भने “यसरी नै गुरुङ फिल्म हेर्न दर्शक हलसम्म आउनु भयो भने नेपाली फिल्म जस्तै गुरुङ फिल्म पनि अल नेपाल रिलिज गर्ने दिन चांडै आउने छ। ”

‘शिरसुबा’ले पाएको सफलता सिंगो गुरुङ फिल्मको सफलता भएको फिल्मका निर्देशक माओत्से गुरुङले बताए । यस्तै खालको परिवेशबाट अगाडी बढ्न सकियो भने बिस्तारै दर्शक हलसम्म गुरुङ फिल्म नै हेर्न आउने वातावरण बन्ने पक्का भएको उनी बताउछन । दर्शकले हलसम्म आएर फिल्मको मज्जा लिएको देख्दा आफुले फिल्म निर्माण बेलाको दु:ख बिर्सिएको उनी बताउछन। “यसरी हामीलाई दर्शकले दिनुभएको मायाले हामीले फिल्म निर्माण बेलाको सबै दु:ख बिर्सिएका छौं। ” उनले भने “गुरुङ जातीका कला-संस्कृती र कथा-ब्यथा बोल्ने गुरुङ फिल्मलाई दर्शकले दिनुभएको यो साथले हामीलाई आगामी दिनमा अझ बढी राम्रा फिल्म दर्शकसामु पस्किने जिम्मेवारी थपेको छ। ”

यता लोकल फिल्मका दर्शकले हल भरिएको देख्दा छुट्टै खुशी मिलेको मिडटाउन सिनेमाजका सहायक प्रोपर्टी म्यानेजर विपिन क्षेत्री बताउछ्न। शुरुमा शुक्रबार र शनिबार मात्र ‘शो’ राखिएको भएपनि दर्शकको चाप बढेपछि अरु बार पनि फिल्मको ‘शो’ थपेको उनले बताए।

माओत्से गुरुङ निर्देशित फिल्मले दर्शकको साथसंगै  सकारात्मक प्रतिकृया पनि पाएको छ। दर्शकले फिल्मको मुख्य पात्र ‘शिरसुवा’ (सुमन गुरुङ) को अभिनयको तारिफ समेत गरेका छन । धेरैले फिल्मको कथा र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले निर्माण गरेको दोश्रो फिल्म ‘शिरसुबा’ मा विश्वास गुरुङ र सुमन गुरुङको मुख्य भूमिका रहेको छ।

माओत्से गुरुङको लेखन, बिमल गुरुङको कथा तथा निर्माणमा बनेको फिल्ममा विश्वास र सुमनको अलावा सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय रहेको छ ।

साथै रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा र लक्ष्मी गुरुङलाई पनि फिल्ममा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ ।
भ्रेज मेश्रो फिल्म प्रोडक्सनले यसअघि फिल्म ‘भ्रें’ निर्माण गरेको थियो ।

पर्यटकिय गाउँ घान्द्रुकमा छायांकन भएको फिल्मलाई सिनेमेटोग्राफर सुशान्त प्रजापतिले खिचेका हुन। फिल्ममा धन बहादुर गुरुङ र मनोज गुरुङको संगीत, गोरे गुरुङ र लप्सन गुरुङको कोरियोग्राफी र टाक टुकको सम्पादन रहेको छ।

सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशनमा तयार भएको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ रहेका छन।

फिल्म करिब ३५ लाखको लागानीमा निर्माण भएको हो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close