Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

मनिषा कोइरालालाई नेपाली कलाकारको साथ

बलिवुडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाको एउटा ट्विट अहिले चर्चामा छ। ट्विट संगै भारतीय मिडियामा मनिषा कोइरालाको चर्चा फेरी एकपटक चुलिएको छ।

मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आक्रमणको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गालीगलौजमा उत्रेका छन् ।

भारतीय मिडियाको आरोप छ– मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् । एबीपी न्युजले ठाडै भन्यो– ‘भारतकी खाओगी चीनका गाना गाओगी ?’ उनले चीनकै उक्साहटमा यो ट्विट गरेको भन्नेसम्मको आरोप समाचारमा लगाइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यहि विषयलाई लिएर भारतीय मिडिया उनीमाथी खनिएका हुन।

यसैबीच नेपाली कलाकारले भने मनिषा कोइरालाको खुलेर समर्थन गरिरहेका छन् ।

यसैबीच नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका छन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’

हमालले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

हास्यकलाकार दीपकराज गिरीचाहिँ भारतीय मिडियाको यो प्रोपोगाण्डालाई एक भिडियो सार्वजनिक गर्दै हाकिमको भन्दा बाबुको माया बढी हुने बताएका छन् ।

मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशी लेख्छिन्–‘आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी छिन् । कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन–प्रदानको कुरा हो ।’

इन्दिराले मनिषालाई एक शक्तिशाली र प्रतिभाशाली महिलाको रुपमा चित्रित गरेकी छिन् । इन्दिरा अगाडि लेख्छिन्–‘क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । सत्यको पक्षमा उनी उभिएकी छिन् ।’

नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन् ।

नायिका शर्माले लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन् । तर, उनीह्रुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

पूजा अगाडि लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो ।’

उनले, कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसेपनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया ।’

सम्बन्धित खबर

Close