Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

नेपोटिजमबाट नेपाली फिल्म इण्डस्ट्री पनि अछुतो छैन : नम्रता सापकोटा

बलिउड नायक सुशान्तसिंह राजपुतको आत्महत्याको कारण बलिउडमा ब्याप्त नेपोटिजम अर्थात नातावाद हुनसक्ने भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको बेला नेपाली फिल्म इण्डस्ट्रीकी नायिका नम्रता सापकोटाले नेपाली फिल्म इण्डस्ट्री पनि नेपोटिजमबाट अछुतो नभएको बताएकी छिन।

फेसबुकमा भिडियो पोस्ट गर्दै उनले भनेकी छिन्–‘नेपोटिजमको कुरा गर्ने हो भने बलिउडको किन कुरा गर्नुपर्‍यो, हाम्रै इण्डस्ट्रीमा पनि, सबै त म भन्दिन तर धेरै यस्ता व्यक्तिहरु छन् जसले आफ्नोलाई मात्र सपोर्ट गर्छन । कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ । यहाँ कलाकार चाहियो भनेर घोषणा हुन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भाई-बैनी, भतिजा–भतिजीहरु नै मुख्य कलाकारको रुपमा देखिन्छन।’

उनले आफ्नै बाबा-आमाले फिल्म बनाउने अनी छोराले महँगो पारिश्रमिक लियो भनेर ‘सो कल्ड’ हल्ला फिजाउने गरिएको आरोप पनि लगाएकी छिन्।

उनले अगाडि भनेकी छिन् – ‘यहाँ मैले मेहनत गरेको छु भनेर केही नै हुँदैन । जसको राम्रो पकड छ, अभिनय जिरो भए पनि जसले व्यापार दिन सक्छ उसैले यहाँ काम पाउँछ । वास्तविक कलाकारको त यहाँ काम नै छैन । कसैले पनि वास्तविक कलाकारलाई यहाँ गन्दैन । म कलाकार भएरभन्दा गलत सोचिएला तर मैले मात्र होइन धेरैले यही महसुस गर्नुभएको छ ।’

उनले ५०-६० प्रतिशत चलचित्रकर्मीले आफ्नैलाई महत्व दिँदा अरू कलाकार डिप्रेसनमा नगएर के गर्नु त भनेर प्रश्न समेत सोधेकी छिन् ।

सम्बन्धित खबर

Close