Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

‘निफ’ अवार्ड बिजेतालाई पोखरामा सम्मान

जक्सन न्यूज
पोखरा।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आयोजित ‘नेपाल इण्डिजिनस फिल्म फेस्टिबल एण्ड निफ अवार्ड २०२१’ मा गुरुङ फिल्म ‘मि न्होर्बे ट’ बाट उत्कृष्ट निर्देशक अवार्ड जित्न सफल माओत्सेतुङ गुरुङ र उत्कृष्ट संगीतकार अवार्ड जित्न सफल तेजेन्द्र गुरुङलाई पोखरामा सम्मान गरिएको छ।

गुरुङ फिल्म ‘मि न्होर्बे ट’ को निर्माण कम्पनी ‘पाईला फिल्मस प्रा.ली’ ले शनिबार एक कार्यक्रमको आयोजना गरि ‘निफ’ अवार्ड बिजेतालाई फिप्नाले पठाएको अवार्ड हस्तान्तरण गर्दै सम्मान गरेको हो। कार्यक्रममा सोही फिल्मबाट अन्य ७ विधामा नोमिनेशनमा पर्न सफल कलाकार तथा प्राविधिकलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)का अध्यक्ष भोज बहादुर गुरुङले ‘मि न्होर्बे ट’ का निर्देशक र संगीतकारले अवार्ड जितेर सिंगो गुरुङ फिल्मको गरिमा बढाएको बताए। ” नेपाल आदिवासी चलचित्र महोत्सवमा माओत्सेतुङ गुरुङ र सफल तेजेन्द्र गुरुङले पाएको सफलताले सम्पूर्ण गुरुङ फिल्मकर्मीको शिर उच्च भएको छ। ” उनले भने ” यस्ता महोत्सवहरुले हामीलाई सिक्ने अवसर पनि दिन्छ र आफ्नो कामको मुल्यांकन पनि हुन्छ, जस्ले हामीलाई अझ राम्रो फिल्म बनाउन प्रेरित गर्छ। ”

त्यस्तै ‘उत्कृष्ट निर्देशक अवार्ड’ जित्न सफल निर्देशक माओत्सेतुङ गुरुङले अवार्डले आफुमा अझ उर्जा थपेको बताए। ” मैले मेरो जातिको संस्कृतीको संरक्षण र प्रवर्धनमा गरेको मेहेनतको फल पाउँदा खुशी लागेको छ ” उनले भने।

साथै ‘उत्कृष्ट संगीतकार अवार्ड’ जित्न सफल तेजेन्द्र गुरुङले अवार्ड आफ्नो करिब २९ वर्षको करियरमा सबैभन्दा ठुलो उपलब्धी भएको बताए। उनले भने ” करिब २९ वर्षको दु:ख आज खुशीमा परिणत भएको छ, एकदमै खुशी छु। ”

कार्यक्रममा पाईला फिल्मस प्रा.लीका अध्यक्ष तथा निर्माता प्रदिप कुमार गुरुङ, कलाका तथा निदेशक माओत्से गुरुङ, निर्देशक कृष्ण कुमार गुरुङ लगाएत गुरुङ फिल्मकर्मीको बाक्लो उपस्थिती रहेको थियो।

नेपाल आदिवासी चलचित्र महोत्सव (नेपाल इण्डिजिनस फिल्म फेस्टिबल एण्ड निफ अवार्ड २०२१ ) गत अगस्ट २१ र २२ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो।

निफ अवार्डमा नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। फिल्मले उत्कृष्ट फिल्म अवार्डसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको अवार्ड पनि हात पारेको थियो ।

त्यस्तै उत्कृष्ट नायिकाको अवार्ड मगर भाषाको फिल्म ट्याङचालककी नायिका तिला मगरले जितेकी थिईन भने लिम्बू जातिको फिल्मले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायांकन र दर्शक रोजाइको अवार्ड जितेको थियो ।

यसैगरी तामाङ जातिको प्रङ्ना फिल्मले उत्कृष्ट वेशभुषाको अवार्ड हात पारेको थियो।

फिप्नाले सन् २०१७ देखि यो महोत्सव सुरु गरेको हो । यो तेस्रो आदिवासी चलचित्र महोत्सव हो । विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले खेलकुद, सांस्कृतिक कार्यक्रमसँगै चलचित्र महोत्सव गरेको थियो ।

फोटो : अर्जुन गिरी / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close