
चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत कलाकार तथा मोडल निशा घिमिरेलाई आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।
यस्तै निशालाई म्युजिक भिडियो कलाकार संघले पनि २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।
कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा निःशुल्क उपचार भैरहेको छ । तीन वर्षदेखि उपचार अभावमा अर्धचेत अवस्थामा रहेकी मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालले उद्धार गरी उपचार सुरु गरेको हो ।
निशा ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी थिईन। घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो ।
घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।
गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो ।
निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।