Headline Title onlyन्युज पोखरापोखरामनोरन्जनमनोरन्जन समाचार

पोखरा थियटरले गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव गर्ने

पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ। यस अघि पोखरा महानगरपालिका स्तरीय नाटक महोत्सवको गरेको पोखरा थिएटरको नै यसपाली गण्डकी प्रदेश स्तरीय नाटक महोत्सव गर्ने भएको हो ।

पोखरा थियटरले पत्रकार सम्मेलनको आयोजना गरि यसपाली प्रतिकूल समयका कारण महोत्सवको स्वरुप केही परिवर्तन गरेको जानकारी दिएको छ। आयोजकका अनुसार यसपाली भर्चुअल माध्यमबाट नाटकको आवेदन आह्वान र छनोट लगायतका कार्यहरु हुनेछन ।

कार्यक्रममा बोल्दै पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पहिलो पटक आयोजना गरिएको महोत्सवमा सरोकारवाला र सहभागीहरुको उत्साहजनक चासो, उत्सुकता र शुभेच्छाले गर्दा यो वर्षबाट महोत्सवलाई प्रदेश स्तरीय बनाएको बताउनुभयो। उनले भने ‘महोत्सव आयोजनाको क्रममा गण्डकी प्रदेश सरकार,विद्यालय, अभिभावक, शिक्षाविद् तथा सरोकारवालाहरुबाट उत्साहजनक चासो, उत्सुकता र शुभेच्छा अभिव्यक्त भएका कारणले हामीले उक्त महोत्सवलाई यो वर्षबाट प्रदेश स्तरीय बनाउने निर्णय गरेका छौ। ’

यस वर्ष भर्चुअल माध्यमबाट सहभागी प्रतिष्पर्धीमध्येबाट उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने छ । उत्कृष्ट ४ मा पर्न सफल नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमा समेत राखिनेछ । प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा गण्डकी प्रदेश सरकारसँगको सहकार्य गरिएको छ ।

उत्कृष्ट ४ नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ ।गण्डकी प्रदेशका जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने नाटक महोत्सवमा छनोटका लागि केही नियम बनाइएको आयोजकले जनाएका छन् ।

महोत्सव निर्देशक परिवर्तन भन्नुहुन्छ-‘प्रतियोगीतामा भाग लिनको लागि प्रस्तुति एकल हुनुपर्ने छ । नेपाली नाटक हुनुपर्ने छ । नेपाली भाषा वा साङ्केतिक भाषाको पनि प्रयोग गर्न पाइने छ ।कुनै पनि जाति, सम्प्रादय, धर्म, संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मूल्याङकन प्रक्रियामा सहभागी गराइने छैन । नाटकको समयावधि घटीमा १० देखि बढीमा १५ मिनेटसम्मको हुनु पर्नेछ । नाटकलाई भिडियोमा खिचेर पठाउनु पर्ने छ । भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनु पर्ने छ ।’

महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने आयोजकले बताएका छन् । प्रतियोगीले नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्रसमावेश गर्नु पर्ने छ । नाटकको भिडियो माघ महिनाको २८ गतेसम्म पठाइसक्न थिएटरको आग्रह छ । पुरस्कृत नाटकलाई एक विशेष समारोहको विचमा पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन गर्ने व्यवस्था गरिने पोखरा थिएटरका सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले जानकारी दिनुभयो ।

‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चीस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो । महोत्सवको घोषणसंगै करिव दश महिनाबाट बन्द रहेको पोखरा थिएटर औपचारिक रुपमा संचालनमा आएको समेत गुरुङको भनाई छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि प्रकाश ओझाले नयाँ पुस्तामा रंगक्षेत्र तर्फको आर्कषण बढाउन सहकार्य गर्न लागिएको प्रष्ट पार्नुभयो ।

नाटक छनोट समितिका सदस्य प्रमिला तुलाचनले समेत नाटक महोत्सवको बारेमा बोल्नुभएको थियो । पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन आगामी फागुन २ गते थिएटरको वार्षिकउत्सवको अवसरमा गर्ने थिएटरले तयारी गरेको छ । फागुन २ गते थिएटर सञ्चालनमा आएको तीनवर्ष पुग्दैछ । पोखरा थिएटरमा हालसम्म ४८ वटा नाटक मञ्चन भैसकेका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close