Headlines with imageफिल्म समिक्षामनोरन्जन

शीतलता र सहनशिलताको प्रतिक ‘शिरसुबा’

फिल्म समिक्षा

युनिश ।

गुरुङ समुदायमा अझै पनि लाहुर जाने संस्कृति हाबी छ । गुरुङ समुदायमा खोज्ने हो भने मुस्किलले त्यस्तो परिवार भेटिन्छ, जसको सदस्य लाहुरे नहुन्, परदेशिएका नहुन् । यिनै गुरुङ संस्कृति र आञ्चलिकतालाई समेट्दै धेरै दृश्यचित्र नबनेका पनि होइनन् । तर, निर्देशक माओत्से गुरुङले भने परम्परागत गुरुङ फिल्म प्रस्तुतिमा केही फरक गर्न खोजेका छन् । उनले व्यक्तिगत अनुहार खोज्दै फरक ढाँचाको सिनेमा बनाएका छन् – शिरसुवा ।

ब्रेज मेस्रो फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा कलाकार सुमन गुरुङ लिड रोलमा छिन् । यसबाहेक विश्वास गुरुङ, प्रीति गुरुङ, सुमित गुरुङ, आइतराम गुरुङ, सोम गुरुङ, डिबी गुरुङलगायत कलाकारले पनि फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सुन्दर गाउँ घान्द्रुक आसपासका क्षेत्रमा छायांकन गरिएको यस फिल्म गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधरित छ ।

पार्टी प्यालेस र होटलको साँघुरो कोठामा च्यारिटी सोमा देखाउदै आएको गुरुङ फिल्मलाई केही महिनादेखि मल्टिप्लेक्स हलमै प्रदर्शन गर्न थालेका छन् । शिरसुवा पोखरा मिडटाउन हलमा चैत्र ६ गते शुक्रबार देखि प्रदर्शन भइरहेको छ ।

कस्तो छ कथा ?

एउटा सुन्दर गुरुङ गाउँ छ । गाउँमा एउटा गुम्बा छ । त्यही गुम्बाका लामाले गोरखाबाट ल्याएर एउटी टुहुरी पालनपोषण गरिरहेका हुन्छन् । उनकै नाम हुन्छ – शिरसुबा । लाहुरे संस्कार र वैदेशिक रोजगारीमा निर्भर उक्त गाउँमा एउटा शंकर नाम गरेको केटा हुन्छ । जसले देशमै केही गर्ने सपना साचेको हुन्छ ।

कानुन पढेर स्वदेश मै वकिल बनेर वकालत गर्ने शंकरको सपना छ । एकदिन शंकरको भेट शिरसुवासँग हुन्छ । देखादेख हुन्छ । माया बस्छ । तर पिरतीको मुना नपलाउदै शंकरले विदेशिनु पर्ने वाध्यता आइपर्छ । विदेशिन्छ ।

शंकर विदेशिएपछि भएको ‘कम्युनिकेसन ग्याप’ र ‘मिस अन्डरस्टाइन्ड’ले तित्तता छाएको प्रेम सम्बन्ध वरिपरि फिल्म घुमेको छ । उनीहरुले भोगेको अलग कथा व्यथाबीच फिल्म घुमेको छ । वैदेशिक रोजगारले सम्बन्धमा पारेको प्रभावको कथा पनि हो – शिरसुबा ।

के छ हेर्नलायक ?

समसामयिक विषयलाई काँचको पर्दामा उतार्न अब्बल निर्देशक हुन् – माओत्से गुरुङ । उनले चलचित्र शिरसुबा मार्फत गुरुङ समाजका यथार्थलाई चित्रण गर्न सफल छन् । निर्देशकले नायिकालाई ‘हिरो’को रुपमा उभ्याएका छन् । प्रायः गुरुङ फिल्ममा नायिकालाई नायकको वरिपरि घुम्ने पात्रको रुपमा मात्र राखिन्थ्यो । त्यसरी नै चरित्र निर्माण गरिन्थ्यो । तर, यसमा निर्देशकले पुरानो ढर्रा अनि मानसिकता भन्दा एक कदम माथि उठेर सिनेमा बनाएका छन् , जुन तारिफ गर्न लायक छ ।

गुरुङ फिल्ममा लाहुरेलाई भगवान सम्मान देखाइने गरिन्छ । गाउँघरमा लाहुरे भनेपछि भुतुक्कै हुने । मरिहत्ते गर्ने । यस्तै कथावस्तुमा रहेर सिनेमा बनाउने गरिन्छ । तर गुरुङ समुदायका युवापुस्ताको सोचमा अहिले परिवर्तन आएको छ । अहिलेका युवापुस्ताको मनोविज्ञानलाई बुझेर सिनेमा बनाएका छन्, निर्देशक गुरुङले ।

लाहुरे परम्परा अथवा वैदेशिक रोजगारमा जाने कुरालाई घुमाउरो पाराले कटाक्ष गरेका छन् । नायकबाट होस या गोठालेको चरित्रबाट होस् विदेश जानु भन्दा मेहेनत गरे स्वदेशमै सुन फलाउन सक्ने सन्देश दिन खोजेको छ । जुन फिल्मको सबल पक्ष हो ।

जीवन–भोगाइको कथा पस्किएर होस् वा स्वैरकल्पनाको संसार निर्माण गरेर । सन्देशमुलक कन्टेन्ट होस वा कुनै मुद्दाको उठान नै गरेर । फिल्मले दिने मनोरञ्जन नै हो । तर याद राख्नुपर्ने कुरा कन्टेन्ट, मनोरञ्जन र शिक्षाबीच कसरी सन्तुलित बनाउने भन्ने कुरा हो । शिरसुबाले समाजका २ वटा मुद्दालाई उठाएको छ । नारी वेदना अनि वैदेशिक रोजगारीको पीडा । मनोरञ्जनसँगै यी दुवै कुरालाई सुक्ष्म तरिकाले केलाउन निर्देशक सफल छन् ।

फिल्मका केन्द्रीय पात्र सुमन गुरुङको अभिनय तारिफ गर्न लायक छ । सुमन गुरुङले शिरसुवाको चरित्र माथि न्याय गरेकी छिन् । शिरसुवा नारी प्रधान चलचित्र हो । जसले समाजका शिरसुवाहरुको कथा सहि तरिकाले बोकेको छ । कथा भनेको छ ।

नारी सहनशिल र त्यागी हुन्छन् । अरुको खुसीको लागि दुख पिडा झेल्न तयार हुन्छन् । त्याग गर्न सक्छन् । तर पुरुष मानसिकताले तिनै नारीलाई अनेक आशंकाले दबाउन खोज्छ । फिल्ममा महिनौसम्म शिरसुवाले भोगेको दुख पीडालाई वेवास्ता गर्दै नायकले उल्टो लान्छाना लगाइदिन्छ । जसले पुरुष मानसिकताको सहि चित्रण गरेको छ ।

निर्देशकको उच्च प्राथमिकतामा नपरेको कलाकार हो सुमित गुरुङ शेरजङ । उनको अभिनय यति दमदार छ कि दर्शक हलबाट निस्किसकेपछि पनि उक्त चरित्रलाई झ्वाट्टै मनमस्तिष्कबाट निकाल्न सक्दैन । फिल्ममा एक्सन छैन । भव्य कमेडी छैन । तर, पनि फिल्मले दर्शकलाई बाँधिराख्छ ।

कुनै न कुनै रुपमा मूलकथासँग सबै पात्र जोडिएकै छन् । कथाको वास्तविक उद्देश्यबाट फिल्म विचलित बनेको छैन । प्रतीकात्मक दृश्यभाषाले फिल्मलाई निकै कलात्मक बनाएको छ । फिल्मको छायांकन पक्ष सुन्दर छ । सिनेम्याटोग्राफर सुशन प्रजापतीको खिचाइ प्रशंसा गर्न लायक छ । कतै कतै अनावश्यक लाउड म्युजिक प्रयोग गरेपनि विनोद रसाइलीको पाश्र्व संगीत तारिफ योग्य छ ।

कमजोरी के ?

नेपाली सिने क्षेत्रमा निर्देशकले नै पटकथा लेखेमा काम गर्न सजिलो हुने र सिनेमा राम्रो हुने मान्यता छ । सोही मान्यता पछ्याउँदै निर्देशक गुरुङले आफैं पटकथा लेख्न तम्सिएका छन् । तर, विमल गुरुङको ‘फिल्मी आइडिया‘लाई निर्देशक गुरुङले पटकथामा न्यायपूर्ण ढंगले समाउन सकेका छैनन् । कथा बलियो भएर पनि पटकथा कमजोर देखिन्छ । कमजोर पटकथाको कारण फिल्मले सहि गति लिन नसकेको भान दर्शकलाई हुन्छ ।

धीमा गतिमा सुरु भएको फिल्म मध्यान्तर पछि भने आवश्यक दृष्यचित्र नै कटाउँदै रफ्तारमा कुदेको छ । मध्यान्तरपछि कथा यसरी दौडिएको छ, जहाँ दर्शकलाई ‘गुजबम’ हुनुपर्ने हो त्यही रोकिन पाउँदैन । कमजोर पटकथा, फितलो अभिनय र संवादले पनि खिन्न बनाउछ । प्रमुख पात्र शिरसुवा र गोठाले शेरजङको अभिनय बाहेक अरुको अभिनय औसत लाग्छ । फिल्ममा केही दृश्य अनावश्यक तन्काएका छन् जसले दर्शकलाई थकाउँछ ।

गुम्बा बसेकी शिरसुबामा अध्यात्मिक चेत छ । उनलाई संसारिक मोहमा सजिलै डुब्न नसकिने कुरा देखाउन खोज्दा खोज्दै नायक विश्वास गुरुङसँग भेटेपछि सजिलै प्रेममा फसेको देखाएको छ । बिना संघर्ष प्रेममा परेको देखाएको छ । जुन अपाच्य लाग्छ ।

सबै भन्दा हास्यास्पद खोला तीरमा अचेत अवस्थामा फेला परेकी शिरसुबालाई बोकेर ५ घण्टा उकालो चढेर लेकमा पु¥याउँदा लाग्छ । तर, वास्तविकतामा त्यस्तो हुँदैन । कोही रगताम्य भएर अचेत अवस्था देख्यो भने जो कोहीले स्वस्थ्य चौकी लैजान खोज्छ अथवा नजिकैको कसैसँग गुहार माग्छ । भिरको बाटो बोकेर लेकमा लगिँदैन ।

शिरसुबाको चेत चौरी गोठमा गएर खुल्छ । त्यति बेलासम्म उनले नायकको चिनो खोला मै छोडेर आएकी हुन्छ । तर जादुमय तरिकाले नायकको फोटो बेला बेला देखा पर्छ । कहिले शिरसुबाको हातमा त, कहिले धनवीरको हातमा । यी दृश्यहरु साँच्चै नाटकीय लाग्छ । नायकले नेपाल फोन गर्दा हङकङमा राति हुनु अनि नेपालमा टन्टलापुर घाम लाग्नु जस्ता दृश्यले दर्शकको ध्यान झन् भंग गर्छ ।

नसुहाउँदो परिस्थितिमा पनि रोधी गीत समावेश छ । शिरसुबाको मृत्यु भएको खबरले भावशून्य भएको नायक छमछमी नाचेको देखाएको छ । अनावश्यक ठाउँमा कथाको बहावलाई बिथोल्ने गरी समावेश गरिएको गीत हेरेर दर्शकले मज्जा मान्दैन ।

अन्त्यमा, सिनेमा सिर्जनशील माध्यम हो । दृश्यभाषा हो । कलात्मक हुनु पर्छ । तर हाम्रो सिनेमामा मौलिकताभन्दा विकाउ बजारलाई महत्व दिइन्छ । यसले सिनेमाको मूलमर्म नै मार्ने गर्छ । संवादको सहाराले कथा भन्ने शैली रोजेर झारा टार्ने काम गर्छन । जसले गर्दा कान र आँखामा मात्र सिमित हुन्छ ।। मनमस्तिष्कमा छुँदैन । केही हदसम्म यी गुण शिरसुबाले बोक्न सफल भएको छ । शिरसुबा उम्दा सिनेमाको उदाहरण होइन, मानक पनि होइन । तर, सीमित घेराभित्र रहेर बनेका चलचित्र बीच उदाहारणीय भने पक्कै हो । र यही विरासतलाई पछ्याउँदा उत्कृष्टतामा पुगिने पनि चाँहि सत्य हो ।

Tags

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close