Headline Title onlyमनोरन्जनसाहित्य जक्सन

म द लि त, तिमी ठुsssलो जात

: अरुण गिरी

म द लि त
तिमी ठुsssलो जात
मै थिएँ पागल
तिमीलाई मन पराउनु, आफ्नो बनाउने सपना सजाउनु
मै थिएँ पागल, सोच्थेँ छैन अब त जात भात
तर फेरि महशुस भयो
म द लि त
तिमी ठुsssलो जात

तिमीलाई मन पराउदा बिर्से मैले मेरो जात
हात समाउँदै तिमीले पनि भन्थौ मायामा केको जात पात
तर आज तिमीलाई लिन तिम्रो घरछेउ पुग्दा
तिम्रो छिमेकीले जुत्ताको डाम बस्नेगरी मेरो छातीमा लात्ती बजार्दा
बल्ल महशुस भयो
म द लि त
तिमी ठुsssलो जात

तिमीलाई थाहा छ? तिम्रा गाउँलेले मेरो कन्चडमा डुङ्गा बजार्दा मलाई तेती दुखेनँ
जति तिमीलाई अर्कैले लैजाने भन्ने सोच्दा मलाई दुख्थ्यो
अहँ ! मलाई कत्ति पनि दुखेन तिम्रा दाईहरूले मलाई त्यो भुईँमा घिसार्दा
जति तिमी र मलाई छुट्ट्याउन तिम्रो हात समातेर अर्काको हाततिर तिमीलाई घिसारेको सोच्दा मलाई दुख्थ्यो
तर भुईँका ती ढुङ्गाले मलाई कोतार्दा, ती माटोहरूले मलाई रङग्याउदा
बल्ल मलाई महशुस हुन्थ्यो
म द लि त
तिमी ठु लो जात

म र मेरा निरिह साथीहरुमाथि जब तिम्रा गाउँलेहरूले अनगिन्ती ढुंगा बर्साउँथे
म सोच्थें मेरो पुर्खाले के गरे त्यसो र म दलित भएँ, अनि यिनीहरू?
जब तिम्रा गाउँलेहरूले मेरो जातको नाम काडेर अनगिन्ती गाली कहन्थे
म सोच्थेँ नामै त हो तर एउटा नामको अर्थ यति सानो अनि अर्को नामको?

हिsssजोको मलाई थाहा छैन तर हिजो अस्तिनै जस्तो लाग्छ हाम्रा बाहरू जातीय विभेदको बिरुद्ध लडेको
दलनको विरुद्ध, जातिय छुवाछुतको विरुद्ध हाम्रा दिदीहरू विधवा भएको
आजै जस्तो लाग्छ हाम्रा नेता सदन पुगेको, गणतन्त्रको झण्डा फुकेको
हिsssजोको मलाई थाहा छैन तर आजै जस्तो लाग्छ समानताको बिगुल फुकेको
जनताको अधि राजा झुकेको

तर, खै त! तिम्रा गाउँलेहरुले त ठुला जातरूपी श्रीपेच ओढेर हामीलाई घृणारूपी हरियारहरूले लखेट्दै छन्
मानवीयता बिर्सेर, मायाको पालुवा कुल्चँदै हामीलाई एकनास मृत्युको मुखतिर घुच्च्याउँदैछन्

खै त ! त्यो गणतन्त्रले हामीमाथि बर्सिने डुङ्गा छेकेको
खै त ! त्यो समानताको बिगुल यिनीहरूले सुनेको

तिम्रा ती निर्दयी गाउँलेको हतियारले जब मेरो रगत बगायो
मलाई महशुस भयो रगत त मेरो पनि त रातै रैछ
अनि कसरी म द लि त
तिमी ठुsssलो जात ?

तिनीहरू मलाई एकनास कुट्दै थिए, एकै चोटी सैयौं लात्ताहरु बर्सिँदै थिए
तर म तिमीलाई नै सम्झिदै थिएँ
तिम्रा गाउँलेले मेरो हत्या गरेर मलाई भेरीमा फाल्दा
मेरो प्राण जानुअघि पनि मैले तिमीलाई नै बोलाएको थिएँ
प्रिय! के तिमीले सुन्यौ?

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close