
एजी स्टाईल / कविता : म रुन पाँउछु कि पाउँदिन सरकार ?
: अरुण गिरी
सरकार, यो लकडाउनमा मलाई भाइरसले भन्दा भोकले मर्ने डर छ।
एनसेलको लोन लिएर कामको पैसा माग्न ठेकेदारलाई फोन गर्दा लकडाउन छ भन्छ।
पुलिसको डण्डाले ढाँड सेकाएर रासन लिन जाँदा साहुले अब महँगी लाग्यो उधारो हुँदैन भन्छ।
घरबेटीले पनि दिनदिनै कचकच गर्छ।
उता गाउँमा ६ महिने सुत्केरी सहितको मेरो परिवारलाई मेरै मात्र भर छ।
कस्तो गाह्रो हामी मजदुरलाई,
भाइरस नलाग्दै मेरो घाँटीमा श्वास फेर्न मुश्कील हुनेगरी गाँठो पर्दा
म भक्कानो छोडेर रुन पाँउछु कि पाउँदिन, सरकार ?
म के गरम् सरकार?
राजधानी बसम् भने न काम छ न दाम छ
न कसैले दिन्छन् खान
जे परे पर्छ हिँडेरै गाउँ जान्छु भन्दा न पुलिसले दिन्छ जान
अस्ति टोलमा २ घण्टा लाईन बसेँ २, ३ छाक टार्ने आशमा
बल्लतल्ल फोटो खिँचाउदै दिएको राहत कुहिएको चामल पर्दा म रुन पाउँछु कि पाउँदिन सरकार ?
अब भएन
भाइरसको निउँमा भोकले
यो गिद्दै गिद्दको शहरमा मर्नुभन्दा
आफ्नै गाउँमा कि मरिन्छ कि जुगै फेरिन्छ भनेर
राती १० बजे पुलिसको आँखा छल्दै पैदल बाटो लाग्दा
भोकले आन्द्रा बटारिँदा, तिर्खाले घाँटी सुक्दा
तपाईं मन्त्रीले चुनावको बेला
अब मजदुरले दुःख पाउने दिन गए भनेर गरेको भाषण सम्झेर,
तपाईले भनेजस्तै कुर्लँदै सडकको आन्दोलन, चुनावी सभा र चुनाव प्रचारमा
यस्तरी नै हिंडेको सम्झिँदै, आँफैले आँफैलाई थुक्दै
म रुन पाँउछु कि पाउँदिन, सरकार ?
२ दिन हिंडेर के भोक के तिर्खा सहेर
जेनतेन लत्रँदै घिँस्रँदै गाउँ पस्ने पुलसम्म त आईपुगे
तर तिम्रै स्थानीय तहका नेताले बारेको काडेँ तारको बार नाघ्न सकिनँ
मेरो प्राण त्यहीँ काँडे तारमा अड्कियो
मेरो परिवारलाई भेट्ने, परिवारले मलाई भेट्ने आशै सकियो
मेरो ६ महिने छोरीको मुख हेर्नसमेत पाइनँ
यस्तो बेला मलाई देख्दा मेरी आमा भाइरसको औषधी पाउँदाभन्दा बढी खुशी हुन्थिन् होला
तर त्यो देख्न पाइनँ
यत्ती हुँदा पनि जनताको लागि जनताले बनाएको सरकार
सुतेर बसेको देख्दा,
मौका छोपेर उल्टै जनतालाई लुटेको देख्दा
छाती पिट्दै डाँको छोडेर मेरो आत्मा रुन पाउँछ कि पाउँदैन, सरकार?
मैले भिडियोमा पनि बोल्ने प्रयास गरेको छु :