मनोरन्जनमनोरन्जन समाचारसंगीत

प्रविधिमैत्री हुँदै वाइवाइ नेपाल स्टारको निरन्तरता

नेपाली सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारले अडिशनका सम्पूर्ण एपिसोडहरुको प्रसारण सकेर नयाँ प्रविधिको प्रयोग गर्दै दोस्रो राउण्ड प्रसारण गरिरहेको छ।

नेपाल स्टारले देशका सातै प्रदेशमा अडिशन गरि अडिशनका सम्पूर्ण एपिसोडहरु सकेर दोस्रो राउण्डको प्रसारणमा लागेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण काठमाडौं अडिशनदेखि रोकिएको प्रसारण जेठ ३१ गतेदेखि फेरि थालिएको थियो।

शोको निर्धारित फर्म्याट परिवर्तन गरि सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै दोश्रो राउण्डलाई सुरु गरिएको शोका निर्देशक रवि श्रेष्ठले बताए। उनका अनुसार नयाँ फर्म्याटमा अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिने छ ।

यसरी नेपालका लागि बिल्कुनै नौलो यो प्रविधिबाट तयार गरिएका एपिसोडहरु दुईवटा प्रसारण भइसकेका छन् । जहाँबाट प्रत्येक एपिसोडमा १२ जना गर्दै २४ जना प्रतिस्पर्धीहरु अघिल्लो राउण्डका लागि छनोट भइसकेका छन् । अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा कार्यक्रमको निर्माण टोली रहेको निर्देशक रवि श्रेष्ठले बताए ।

कार्यक्रमका निर्णायकमा गायक रामकृष्ण ढकाल, गायिका अञ्जु पन्त र संगीतकार आलोकश्री रहेका छन् ।

नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।


सम्बन्धित खबर

Close