ग्लोबललाईफ स्टाईलस्वास्थ्य

‘हान्ताभाइरस पुरानै भाइरस हो, मान्छेबाट सर्दैन’

एजेन्सी

कोरोनाभाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिँदै गर्दा चीनमा भने हान्ताभाइरसको कारण एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। तर, मुसाबाट मानिसमा देखिएको यो भाइरस मानिसबाट भने नसर्ने अमेरिकी स्वास्थ्यकर्मीहरू बताउँछन्।

यो भाइरस सङ्क्रमित मुसाले टोकेपछि सर्न सम्भव होला तर, विशेषतः यो मुसाको विष्टा वा थुकमार्फत् मात्र मानिसमा सर्ने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। त्यस्तै, मुसाले छोएको खानेकुराबाट पनि यो भाइरस सर्ने सम्भावना मात्र रहेको केन्द्रले जनाएको छ।

ह्युनान प्रान्तका उक्त व्यक्ति कामविशेषले शाङ्दोङ प्रान्तमा बस यात्रामा रहँदा मृत्यु भएको जनाइएको छ। मृतकको पहिचान भने खुलेको छैन। यसलगत्तै उनीसँगैका ३२ जना बस यात्रुलाई पनि परीक्षण गरिएको छ।

के हो हान्ताभाइरस?

पहिलोपटक दक्षिण कोरियाको हान्तान नदीनजिक यो भाइरसको सङ्क्रमण देखिएकोले यसलाई नदीकै नामबाट हान्ताभाइरस भनिएको हो। वैज्ञानिकहरू यसलाई अझ विशेष अर्थोहान्ताभाइरस भन्छन्।

हान्ताभाइरस इबोला, सार्स, कोभिड–१९ जस्तै आरएनए भाइरस हो र यसको जिन न्युक्लिक एसिडले बनेको हुन्छ। यो मुसाको पिसाब, थुक र दिसा छोएपछि मात्र सर्न सक्छ र मानिसबाट यत्तिकै सर्दैन। यस भाइरसका सङ्क्रमितमा ज्वरो, आँखा पोल्ने, नाक गाला रातो हुने, छेरपाट लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, हातमा पसिना आउने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखा पर्छ।

हान्ताभाइरसको महामारी

चीनमा हान्ताभाइरसको मृत्युभन्दा अगाडि नै यो भाइरसको पहिचान भइसकेको थियो।

कोरियाली युद्धका दौरान अमेरिकी र कोरियाली सेनामा यो भाइरसको सङ्क्रमण देखिएको थियो। सन् १९७६ मा दक्षिण कोरियाली भाइरस विज्ञ हो वाङ लीले यस भाइरसलाई मुसाको फोक्सोबाट अलग पारेका थिए।

त्यस्तै सन् १९९३ मा अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा पनि यो भाइरसको सङ्क्रमण देखिएको थियो। त्यस बेला यसलाई नामविहीन अर्थ दिने सिन नोम्ब्रे भाइरस भनिएको थियो।

 

सम्बन्धित खबर

Close