Headlines with imageजक्सन फिचरविचार / अन्तर्वार्तासमाजहाम्रो देश

मुखिया बदलियो, जिन्दगी बदलिएन

–हिरा बहादुर कार्की

कमरेड खड्ग प्रसाद ओलीको अहंकारले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनायो ।

हाम्रो जीवनको सरदर आयूमा ७० वर्षको ट्याग लागेको छ । ७ दशक बिताएर पनि दुई खुट्टाले हिँड्न नसकेको सामाजिक राजनीतिक परिवर्तन अझै हाम्रो छातीमै टाँस्सिएको छ । विषाक्त धुवाँ छोडिरहेका विकासे विचार र वादको काखीमा च्यापिएर आजपनि मनमगन छौ । आँखा, नाक, कान, छाला, जिब्रो सबका सब हाइबर्नेसनमा राखेर मस्त मस्त निद्रामा छौ । टेको लगाएर अर्को सत्तरी वर्ष यसैगरी गुजार्ने गुरुयोजनामा हाम्रा सर्वदलिय मुखियाहरु पसिना बगाउँदै छन् । ओलीविरोधी गठबन्धनले अलिक धेरै पसिना बगायो र देउवालाई हाम्रो मुखिया बनायो । विधीको शासनको जत्ति फुईं लगाएपनि अहिलेका मुखिया पनि उस्तै उस्तै हुन् ।

दोष हाम्रै हो, हामी के गर्दै छौ? लोभलाग्दा सपना देख्यो, निदायो । कहिलेकाँही तिनै मुखियाले जगाईदिन्छन्, तिनकै लागि जाग्यो । तिनैले फेरी सुताईदिन्छन्, सुत्यो ।

कथित सामाजिक राजनीतिक परिवर्तनका मुखिया र तिनका भरौटेहरुले अनवरत रुपमा गाउँगाउँ बस्तीबस्तीलाई निदगोली कोचाउँदै आएको हामीले आजसम्म चाल पाएका छैनौं। हुन त हामीले बेहोशी बाँचेकै ७ दशक भयो । निदगोलीको ओभरडोजले हाम्रो गिदी पगाल्दै छ ।
ब्युँझनुको विकल्प छैन । नियतीलाई दोष दिएर उम्कन नखोजौं । जस्तो रोजाइ त्यस्तै भोगाई । भनिन्छ नि, जिन्दगी छनौटहरुको योगफल हो । आजसम्म जस्ता जस्तालाई जिन्दगीको ठेक्का दियौं, त्यस्तै परिणती भोग्दै आइरहेका छौं । दशकौं दशकसम्म जसरी बाँच्यौं, हाम्रो बचाईंमै खोट छ । हामी पनि त अपराधी हौ । अन्धविश्वास पनि अपराध हो । मौनता पनि ।

अब त जागौं । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाका कैंयन सवालहरु छन् । हामीले प्रश्न नगरुन्जेल हाम्रो मुखियाले जवाफ दिँदैन । कामको कुरा त धेरै परको कुरा । हामीले हिजै प्रश्न गरेको भए, आज हाम्रो जिन्दगी यति दयनिय हुँदैन्थ्यो । उठौं, जागौं । ऐना हेरौं, हामीले इतिहासमा गरेका सबै गल्तीहरुको फेहरिस्त छर्लंग छ । हाम्रो आफ्नै परिवर्तन विना अन्य परिवर्तन सबै बकवास हो ।
मुखिया बदलेर हाम्रो जिन्दगी पक्कै बदलिँदैन ।

यतिबेला हाम्रो मुखिया बनेका देउवालाई बधाई होइन, सचेत प्रश्न गरौं ।

आफ्नो राजनितीक करिअरमा जुरेको यो निकै महत्वपूर्ण अवसरलाई देउवाले गम्भिर रुपमा लिए उनकै भलो हुन्छ । हिजोका कुकर्महरुले सर्जेको दुषित छवि पखाल्नै बाँकी छ । लगभग अस्तित्वबाट नामेट भैसकेको कांग्रेसलाई ब्युँताउन र नेपाली कांग्रेसको औचित्य प्रस्ट्याउन जटिल परिस्थितीमा मिलेको सुनौलो मौकालाई देउवा सरकारले कसरी प्रयोग गर्ला यत्तिकै भन्न मुश्किल छ ।

राजनितीक भ्रष्टाचार, अहंकार, स्वार्थ, बेइमानीको बहिखातामा देउवाको नाम पनि उस्तै श्रेणीमै पर्छ । तसर्थ नयाँ सरकार बन्यो भनेर खुशी हुनुको कुनै अर्थ छैन । भरेभोलीबाट देउवा सरकार कामचलाउ सरकारमा बदलिन्छ नै । कामचलाउ नै भएपनि गर्नै पर्ने अनेकन काम छन् । काम गरेर देखाउन सहज छैन । महामारीले थला पारेको आम जनताको अपेक्षा ठूलो छ । देउवा सरकारले त्यो अपेक्षा सम्बोधन गर्ने सामथर््य र स्वभाव सिद्ध गर्न सक्ला? त्यसो गर्न सकेको खण्डमा देउवा करिअर प्लसमा जानेछ र नसकेको खण्डमा एक्स्ट्रा माइनसमा जानेछ ।
देउवाको मजबुरी देखेर खड्ग प्रसाद ओलीको हड्डी हाँस्दो हो । फुल क्याबिनेट फर्मेसन कस्तो हुन्छ, कस्ता मान्छे देउवाको क्याबिनेटमा आउनेछन् त्यो हेर्नै बाँकी छ । यो आफैमा पहिलो चुनौती हो । महामारी र भ्याक्सिनको व्यवस्थापन अर्को । र अर्को हो, चुनाव । जुन गठबन्धनमा देउवा सरकार बन्यो त्यो गठबन्धनसँगको बार्गेनिङ्ग नै फेल हुने सम्भावना उत्तिकै छ ।

नागरिकजस्तै तर अनागरिकहरुको देश हो नेपाल । नागरिकता खल्तीमै छ, नागरिक अधिकार छैन । देशजस्तो देश छ, सरकारजस्तो सरकार छैन । यो सरकारले पनि नागरिकलाई नागरिकजस्तो व्यवहार गर्नेछ भन्ने कुराको कुनै ठेगान छैन । कोरोना र सरकारको बिचमा पिल्सिएर जनजन अत्तालिएको छ । समाज थर्थर थर्थर थर्थराएको छ । कल्पना गर्नुस् त, सरकारजस्तो सर्खार भएको भए । जनमैत्री कर्मचारीचन्त्र भैदिएको भए ।

अनेकथरी समस्याको कानुनी र प्रशासनिक समाधान खोज्ने स्वभाव नेपाल सरकारको स्थायी स्वभाव हो । अस्थायी सरकारको गरुड छायाँमा पर्ने कथित लोकसेवकहरुको स्थायी सरकार– कर्मचारीतन्त्रको आफ्नै लाचारी र चाकरी स्वभाव छ । के यो परिवर्तन भोग्न पाइएला ? सरकार र कर्मचारीतन्त्रलाई जनहितमा लैजान देउवा नेतृत्वबाट खासै आशा राख्ने ठाउँ छैन । यो सरकारको पनि तनमन पुरै सत्तामै हुनेछ । आम जनजीवनको दुख त यसले पनि बुझ्ने छैन । सत्ता बचाउनै बरालिने पक्का छ ।

ओलीजस्तै जनतामारा प्रधानमन्त्री नबनुन्, देउवालाई शुभकामना मात्रै ।

सम्बन्धित खबर

Close