Headline Title onlyन्युज पोखरापोखरासमाचारसमाजहाम्रो देश

नागरिक सेवामा नेपाली सेना

कोरोना भाइरसको संक्रमणबाट गत असार ११ गते मृत्यु भएका स्याङ्जाका ५५ बर्षीय पुरुषको शव व्यवस्थापन गर्दा गोली चल्यो । शव व्यवस्थापनमा स्थानीयले अवरोध गरे, एउटै शव गाड्न १३ घण्टा समय खर्चनुप¥यो । सरकारले संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिएको थियो । जिम्मेवारी अनुसार सेना शव व्यवस्थापनमा खटिएको थियो ।

शव व्यवस्थापन गर्दा शान्ति सुरक्षाको जिम्मा नेपाल प्रहरी र शशस्त्र प्रहरीले लिएको थियो । शव व्यवस्थापन गर्ने स्थल पोखरा महानगरले व्यवस्था गरेको थियो । महानगरले पोखरा– ३२ मजुवामा शव व्यवस्थापन गर्न भनेको थियो ।

आफ्नो क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गर्दा कोरोना फैलिने डर स्थानीयवासीलाई थियो । त्यही भएर स्थानीय जनप्रतिनिधी सहितको टोलीले शव व्यवस्थापन गर्न अवरोध गरेका थिए । शान्ति सुरक्षाका लागि शशस्त्र प्रहरीले हवाई फायरसम्म गर्न परेको थियो ।

शव व्यवस्थापन गर्दा त स्थानीयले त्यति ठुलो भय र त्रास बोकेका थिए । अस्पतालबाट संक्रमितको शव बोकेर व्यवस्थापन गर्दा नेपाली सेनाले के के गर्नुप¥यो ? पोखरा स्थित पश्चिम पृतनाका पृतनापती उपरथी विनयविक्रम राणाले भने, ‘हामीले सेनाका अधिकृतदेखि जवानलाई हामी युद्धमा छौं भनेर कन्भिन्स ग¥यौं, अस्पतालबाट शव गाडीमा राख्नेदेखि खाल्डोमा गाड्ने र जलाउने काम ग¥यौं ।’

त्यसो त पोखराका अन्य ठाउँमा पनि संक्रमितको शव व्यवस्थापन गर्दा अवरोध भएका थिए । अवरोधको अगुवाई गरेका कतिपय जनप्रतिनिधी प्रहरीसँगको झडपमा घाइते भएका थिए त कतिपय पक्राउ परेका थिए । सेनाले पनि चुपचाप शव व्यवस्थापनको काम गरिरहेको थियो ।

माओवादी द्धन्द्धकालमा नेपाली सेनालाई हेर्ने दृष्टीकोण त्यति सकारात्मक थिए । द्धन्द्ध सकिएपछि पनि कतिपयले सेनालाई पुरानै आँखाले हेरे । सेनाले पनि जनसम्बन्ध बलियो बनाउने भन्दै गाउँ गाउँमा स्वास्थ्य शिविर लैजाने लगायतका गतिविधी गर्न थाले । प्राकृतिक र मानवीय विपत्तीमा नागरिकको जिउधन जोगाउन लागिपरे ।

तैपनी कतिपयले सेना प्रतिको धारणा नकारात्मक नै राख्थे । यसो हुनुमा कतिपय राजनीतिकर्मीले पनि सेनालाई होच्याएर गर्ने टिप्पणीले बल दिएको थियो । कोरोना भाइरसको महामारीले सेनालाई नागरिक–सेना सम्बन्ध बलियो बनाउने आधार दियो, सेनाले अहिलेसम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको सैनिक नेतृत्वको दाबी छ ।

शव व्यवस्थापनको जिम्मा पाएको सेना त्यतिमा मात्र अडिएन, ठाउँ ठाउँमा हेल्थ डेस्क स्थापना, आइसोलेसन र क्वारेन्टिन बनाउन पनि खटिए । गण्डकी प्रदेशमा मात्र हालसम्म १८२ वटा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको पश्चिम पृतनाका जनसम्पर्क अधिकृत प्रेमप्रसाद पौडेलले बताए ।

सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी मापदण्डमा संक्रमितको शव गाड्ने उल्लेख छ । पश्चिम पृतनाले शुरुवातमा संक्रमितको शव गाडेको थियो । पछि नागरिकको भावना भन्दै परम्पराअनुसार व्यवस्थापनमा खटिएको छ । जनसम्पर्क अधिकृत पौडेलका अनुसार गण्डकीमा मृत्यु भएका १५३ वटा शव गाडिएको छ भने २९ वटा शव परिवारको चाहना अनुसार जलाइएको छ ।

‘संक्रमितको शव व्यवस्थापन शुरुका दिनहरुमा चुनौतीपूर्ण थियो’, पौडेलले भने, ‘अहिले अभ्यस्त भइसक्यौं, गाह्रो छैन ।’
पृतनापती उपरथी राणाले बोल्दा पनि कोरोना सर्छ भन्ने अवस्थाबाट गुज्रिन निकै गाह्रो भएको बताए । जवानहरुलाई कन्भिन्स गराउन कोरोना सम्बन्धी अफवाहले गाह्रो बनाएको उनको अनुभव छ ।

सरकारले कोरोना संक्रमणको उपचार र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीलाई भत्ता दिने भनेर हौस्याएको थियो । तर अहिलेसम्म उक्त भत्ता सेनाले पाउन सकेका छैनन् ।

‘मुख्यमन्त्रीले दिन्छौ भन्नुभएको थियो तर कोरोना जोखिम भत्ता सेनाले पाएको छैन, तल्लो तहमा त अपेक्षा हुन्छ नै’, उपरथी राणाले भने, ‘हामीले चाहियो भनेर दाबी गर्ने अवस्था पनि छैन ।’

कोरोना भाइरस विरुद्धको लडाई अझै सकिएको छैन । आम मानिसको ध्यान कोरोनाबाट अन्यत्र गएपनि सेनालाई भने कोरोनाकै जिम्मा बढेको छ । कारण, संक्रमित मृतकको संख्या बढिरहेको छ, सेनाले व्यवस्थापन गर्नुपर्छ । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन लगायतका कार्य गर्दा गर्दै गण्डकीमा सेनाका अधिकृत र सिपाही गरी ३१० जना संक्रमित भए । जसमा ३०३ जना निको भइसकेका छन् भने ७ जना अझै उपचाररत छन् ।

संक्रमित भएका सैनिक अधिकृत र सिपाहीलाई शुरुवातमा होटल आइसोलेसनमा लगेर राखिएपनि अहिले ब्यारेकभित्रै आइसोलेसन वार्ड बनाएको पृतना जनसम्पर्क अधिकृत पौडेलले बताए । ‘अन्यत्र आइसोलेसनमा राख्दा खर्च ठुलो आयो’, उनले भने, ‘ब्यारेक भित्रै आइसोलेसन वार्ड बनाएपछि संक्रमितको उपचारमा लाग्ने खर्च घटेको छ ।’

नागरिकसँग सम्बन्ध स्थापित गर्न कोरोना भाइरसको महामारीमा सेनाले जिम्मेवारीपूर्ण भुमिका खेलेको पृतनापति उपरथी राणाको दाबी छ । ‘जिम्मेवार क्षेत्रमा प्रभावकारी र असरदार काम गरेका छौं’, उपरथी राणाले भने ।

प्राकृतिक र मानवीय विपत्तीबाट सर्वसाधरणलाई जोगाउन सेनाले भुमिका खेलेको उनले बताए । यस बर्ष मात्र गण्डकीमा बाढी पहिरोबाट पीडित बनेका ५२ जनाको जीवितै उद्धार गरेको छ भने ७० जनाको शव उत्खनन् गरेको छ । यस्तै, आगलागी नियन्त्रण, फेवातालमा भएका दुर्घटना, अन्नपूर्ण आधार शीविरमा हिउँ पहिरोमा पुरिएकाको खोजी लगायतका काम सेनाले गरेको जनसम्पर्क अधिकृत पौडेलले बताए ।

पश्चिम पृतनामा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले पृथ्वीनारायण शाहले एकिकरण गर्दा हिँडेको बाटोलाई एकिकरण पदमार्ग नाम दिएर पदयात्रा गर्ने तयारी गरेको छ । यस्तै, भूतपूर्व सैनिकहरुको सम्मेलन आयोजना गरेको पश्चिम पृतनाले जनाएको छ । मनाङ, मुस्ताङ र नवलपुर बाहेक सबै जिल्लामा भुपू सम्मेलनको तयारी भएको जनसम्पर्क अधिकृत पौडेलले बताए । गण्डकीमा १६ हजार भुपू सेना रहेको र सम्मेलनमा १२ हजार सहभागी हुने अनुमान उनीहरुले गरेका छन् ।

पृतनापती उपरथी राणाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि खाली हुने पोखरा विमानस्थलको जग्गामा नेपाली सेना नजाने बताए । नयाँ विमानस्थल सुचारु भएपछि पुरानो विमानस्थल सेनाले कब्जा गर्छ भनेर चलेको हल्ला झुटो रहेको उनले बताए । ‘यसबारे सरकारले निर्णय गर्ने हो, त्यहाँ सेना जाँदैन’, उनले भने ।

फोटो : अरुण गिरी / जक्सन डट कम

सम्बन्धित खबर

Close