घटनान्युज पोखरापोखराहाम्रो देश

पोखरा तालबेसी मृत्यु प्रकरण : मृतकका छोरी भन्छिन; ‘ बुबालाई धेरै जना मिलेर हत्या गरेको हुनुपर्छ ’

जक्सन न्युज

पोखरा–२९ भण्डारढिकका शिवबहादुर खड्का गत सोमबार घरबाटै ट्याक्सी चढेर आफन्तको विवाहमा गए । विवाहमा पोखरा पुगेर उनी गाउँ जान हिँडे । उनको पुख्र्यौली गाउँ पोखरा–३१ तालबेसीस्थित घरमा अघिल्लो दिन आइतबार मात्र उनका बुबा र आमा गएका थिए ।

‘म जन्मेर हुर्केको ठाउँ, नगएको पनि धेरै भयो, गाउँ गएर आउँछु’ भनेर उनले परिवारलाई भनेका थिए । पोखराको बेगनासबाट गाउँतर्फ जाँदा शिवबहादुर निरन्तर परिवारको सम्पर्कमा थिए ।

‘बुबाले मलाई साँढे ५ बजेतिर फोन गर्नुभएको थियो’, शिवबहादुरका छोरी ज्वती खड्काले भनिन् । त्यसो त शिवबहादुरले अघिल्लो दिन मात्र गाउँको घरमा गएका आफ्ना वृद्ध आमालाई पनि फोन गरेका थिए । ‘म आउँदैछु है आमा, माछा लिएर आउँछु भनेको थियो’, शिवबहादुुरका आमा मिनाले भनिन् ।

गाउँ गएका शिवबहादुर आमालाई भने अनुसार माछा लिएर घर पुगेनन् । न त छोरीलाई फोनमा भने झैं नै भयो । त्यही साँझ गाउँमा घटना घट्यो, निशानामा शिवबहादुर परे । राती १० बजेतिर शिवका बुबालाई गाउँलेले फोन गरे, झगडा भएको कुरा बताए ।

शिबबहादुर सडकमा रगताम्य भएर ढलेको खबर प्रहरीलाई पुग्यो । नजिकैको प्रहरी चौकीका प्रहरी त्यही रात घटनास्थलमा पुगे । उनलाई त्यही रात प्रहरीले एम्बुलेन्समा राखेर पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥यायो ।

मृतक शिवबहादुर खड्का।

शिवबहादुरलाई एम्बुलेन्समा राख्नुअघि त्यही बाटो भएर गुडेको गाडीमा राखेर अस्पताल लैजान प्रहरीले भनेका थिए । तर उनको मृत्यु भएकै कारण नमानेको आफन्तले बताएका छन् । शिवबहादुरको मृत्यु भएको घटनास्थल बेगनासताल–भोर्लेटार सडक अन्तर्गत डिबजार लट्टेबारी हो । घटनास्थल सडकको कुनामा अहिले पनि रगतका टाटो देख्न सकिन्छ ।

घटनाका बारेमा जानकारी पाएपछि शिवका छोरी ज्वतीले आमालाई पछाडी राखेर स्कुटरमा पोखरातर्फ आइन् । बुढिबजारमा उनको अंकलको घर थियो । त्यहाँबाट अंकल, आमा र अण्टी गाडीमा अस्पताल गए भने ज्वती स्कुटरमै गइन् ।

स्थानीयले सडक माथि रहेको भिरबाट खसेर मृत्यु भएको अनुमान लगाएका छन् । तर शिवबहादुरका परिवारले भने उक्त अनुमानलाई अस्विकार गरेका छन् । ‘मेरो बुबालाई एकजनाले मात्र होइन, धेरै जना मिलेर हत्या गरेको हुनुपर्छ’, शिवकी छोरी ज्वतीले भनिन्, ‘यथार्थ छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।’

अस्पतालको आकस्मिक कक्षमा गएर हेर्दा शिवबहादुर थिएनन् । उनलाई शव गृहमा राखिएको थियो । अस्पताल पुगेपछि मात्र परिवारले उनको मृत्यु भइसकेको थाहा पाएका थिए ।

घटनाका बारेमा बुझ्दा त्यो दिन सवा सात बजेतिर शिवबहादुर तालबेसी स्थित स्थानीय सनसरी गुरुङको घरमा गएका थिए । मदिराले मातेको अवस्थामा पुगेको र उनको घरमा गएर झगडा गरेको सनसरी दाबी गरिन् । झगडा गरेपछि सनसरीको घरबाट भिरतर्फ जाने बाटोमा गएको र उनका श्रीमान खड्गबहादुर गुरुङ पछिपछि जाँदा हानाहान भएको सनसरीले बताइन् ।

‘मेरो बुढालाई ढुङ्गाले हान्न खोजेका थिए, पछि रडले हाने’, सनसरीले भनिन् । झगडामा खड्गबहादुर गुरुङले पनि रडले शिवबहादुरको टाउकोमा हानेको स्विकार गरेको जनाएको छ । प्रहरीको सोधपुछ र अनुसन्धानमा आफुले दुई पटक रडले हानेको स्विकारेको प्रहरीको भनाई छ ।

शिवबहादुरको शवको पोष्टमार्टम रिपोर्ट बिहिबार साँझ आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरिरहेका डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्जुन रानाभाटका अनुसार पोष्ट मार्टम रिपोर्टमा टाउको र छातीमा चोट लागेर मृत्यु भएको उल्लेख छ । घटनाको अनुसन्धान भने जारी रहेको उनले बताए ।

परिवारले भने शिवबहादुरलाई हत्या गरेर उक्त स्थानमा राखेको दाबी गरेका छन् । त्यति ठुलो भिरबाट खस्दा समेत शरीरमा अन्य चोटपटक नलागेको र चस्मा समेत नफुटेकाले भिरबाट खसेको हुन नसक्ने उनीहरुको जिकिर छ । ‘भिरमा मान्छे खसेको डोब नरहेको, टाउको बाहेक अन्यत्र चोट नदेखिएकाले भिरबाट लडेको होइन, अन्यत्र नै हत्या गरेर त्यहाँ राखेको हुनुपछर्’, ज्वतीले भनिन् ।

शिवबहादुरका वृद्ध बुबा यमबहादुर खड्काले आफ्नो छोराको विभत्स हत्या भएको बताए । ‘दाहिने कानमा रगत जमेको छ, अत्यन्तै यातना दिएर निर्मम हत्या भएको देखिन्छ, उनले भने, हत्यारालाई छिटो भन्दा छिटो कारबाही होस् ।’

हत्यामा संलग्न भएको आशंकामा तालबेसीका खड्गबहादुर गुरुङ र उनका बुहारीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । शिवबहादुरका परिवारले भने गुरुङ अपाङ्गता भएका वृद्ध भन्दै उनी एक्लैले हत्या गर्न नसक्ने दाबी गरेका छन् । अपराधी छिपेको हुन सक्ने आशंका गर्दै परिवारले हत्यारा पत्ता नलागेसम्म शव नउठाउने चेतावनी दिएका छन् ।

मृतक शिवबहादुरका भाञ्जा कृष्णबहादुर बस्नेतले प्रहरीले घटनालाई गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्नुपर्ने बताए । घटनामा संलग्न संकास्पद व्यक्तीलाई प्रहरीले निगरानीमा नराखेको उनले गुनासो गरे ।

शिवबहादुरका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

सम्बन्धित खबर

Close