Headline Title onlyराजनीतिहाम्रो देश

अन्नपूर्णको लोभलाग्दो अभ्यास : न उपचार पाइदैन कि भन्ने डर, नत खान नपाई मरिन्छ कि भन्ने पीर !

संकटको समयमा झनै सक्रिय र सहयोगी भूमिकामा देखिएको छ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका । प्रचारप्रसारमा त्यति नदेखिने यस गाउँपालिकाले आन्तरिक तयारी र व्यवस्थापनमा भने उदाहरणीय कार्य गरिरहेको पाइएको छ ।

न त गाउँलेलाई यतिबेला स्वास्थ्य उपचार पाइदैंन कि भन्ने डर छ, न त खान नपाएर मरिन्छ कि भन्ने पीर छ ।

लकडाउन भएकै दिनदेखि जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीको टोली नै खटाई तत्कालै विदेशबाट आएकाहरुको पहिचान गरी सो व्यक्ति र परिवारका सदस्यलाई छुट्टाछुट्टै क्वारेन्टाइनको व्यवस्था मिलाएर राख्ने काम गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

गाउँमा नयाँ मानिस पस्ने वित्तिकै क्वारेन्टाइनमा

अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राख्दै विदेशबाट आएकाहरुलाई साविकका गाविसहरुमा ७ वटा स्कुलमा र एउटा होटल भाडामा लिएर क्वारेन्टाइनको व्यवस्थापन गरिरहेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष कुँवरले भन्नुभयो–‘जोखिम कम गर्न गाउँपालिका छिर्ने बित्तिकै क्वारेन्टाइनमा राख्ने र त्यसको निगरानी गर्न हामीले ९ वटा स्वास्थ्य ईकाइहरुका २६ जना स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको टोली नै २४ सैं घण्टा खटाई रहेका छौं ।’

यसका लागि गाउँपालिकालले सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालै पीपीई (पर्सनल प्रोटेक्सन इक्कुप्मेन्ट) बितरण गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलका अनुसार यतिबेला क्वारेनटाइनमा रहनु भएका २८ जनामा कोरोना भाईरसको संक्रमण चेक गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घरमा गईसक्नु भएको छ भने २ जना अझै क्वारेनटाइनमा नै हुनुहुन्छ ।

गाउँलेहरुलाई तत्कालै स्वास्थ्य सम्बन्धी सेवा दिन चालकलाई पीपीईसहितको व्यवस्था गरेर दुई ठाउँबाट एम्बुलेन्स सेवा दिइरहेको पनि स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले तत्कालै स्वास्थ्य उपचारको व्यवस्था, एम्बुलेन्सको २४ सैं घण्टा सेवा, आवश्यक अन्न भण्डारण, निःशूल्क तरकारीका बिउबिजन वितरण लगायतका कामहरुले गर्दा यतिबेला गाउँलेहरु ढुक्क देखिन्छन् ।

गाउँपालिकाकाले प्रत्येक वडाका ५ जना किसानहरुलाई ६ थरीका तरकारीका बिउबिजनहरु निःशूल्क रुपमा वितरण गरिसकेको छ । संकटको यो अवस्थामा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु झनै सहयोगीर सक्रिय बनेको गाउँलेहरु बताउँछन् ।

यो संकटले अर्को महासंकट निम्याउन सक्छ : युवराज कुँवर, अध्यक्ष अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले यो भन्दा पनि अझै ठूलो संकट आउन सक्ने भन्दै त्यसको तयारीमा जुटिरहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कुँवरले भन्नुभयो–‘स्थानीयस्तरमा नै उत्पादन भएका किसानहरुका कोदो लगायतका अन्नबालीहरु खरिद गरी भण्डारण गर्ने कार्य तीब्ररुपमा भईरहेको छ ।’

गाउँपालिकाका अध्यक्ष कुँवरले भन्नुभयो–‘यो भन्दा पनि ठूलो संकट आउन सक्छ । त्यसैले वास्तविक श्रमिकहरुका लागि हामीले उचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’

गरिब, असहाय र मजदूरहरुका लागि गाउँपालिकाले फरक फरक खालको मापदण्ड बनाएर अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष कुँवरको भनाइ छ ।

शहरमा राहतका नाममा छिनाझम्टी भइरहेको बेलामा भने गाउँघरमा त्यस्तो अवस्था देखिएको छैन । यतिबेलासम्म गाउँपालिकामा राहत बाँड्नु नै पर्ने अवस्था सिर्जना नभएको गाउँपालिकाका अध्यक्ष कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिलेसम्म त्यस्तो कठिन स्थिति आएको छैन । अब लकडाउन थपियो भने तत्कालै गाउँपालिकाले वास्तविक मजदूरहरुलाई मात्र उचित व्यवस्थापनका लागि योजना अनुसार कार्य अगाडि बढाउने छ ।’

असहाय, गरीब र अपाङ्ग परिवारलाई सोही अनुसार राहत वितरण गर्ने योजना गाउँपालिकाले बनाएको छ । काम गर्ने वास्तविक मजदूरहरुलाई उचित कामको व्यवस्थापन गर्दै ज्याला दिएर गर्जो टार्ने यसबाट गाउँको विकासमा सहयोग पुग्ने अध्यक्ष कुँवरको विश्वास छ ।

यतिबेला प्रत्येक वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको टोली लकडाउन भएकै दिनदेखि नियमित रुपमा आजसम्म फिल्डमा नै खटिईरहेको अध्यक्ष कुँवरले बताउनुृभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो–‘यतिबेला स्थानीय गाउँलेहरुले जनप्रतिनिधिहरु भएको राम्रैसँग महसुस गर्न पाउनु भएको छ ।’

अन्नपूर्ण गाउँपालिकाले लकडाउनका कारण दीर्घरोगीहरुले नियमित रुपमा खानुपर्ने औषधिहरुमा समस्या झेल्न नपरोस् भनेर जनप्रतिनिधिहरुलाई खटाईएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो–‘टोल–टोलमा जनप्रतिनिधिहरुलाई खटाएर दीर्घरोगीहरुले खाने औषधिको विवरण संकलन गरी शहरबाट किनेर जनताको घरघरमा पु¥याउने काम भईरहेको छ ।’

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर गरिएको लकडाउनका कारण शहरबजार अस्तव्यस्त भइरहँदा गाउँमा भने जनप्रतिनिधिहरुको सक्रियता र उचित व्यवस्थापनका कारण गाउँलेहरु ढुक्क देखिन्छन् ।

साभार : न्युज २४

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close