राजनीतिहाम्रो देश

विवेकशील-साझा एकता घोषणा बुधबार: मिश्र अध्यक्ष, पाण्डे संयोजक

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण गरी विवेकशील साझा पार्टी घोषणा गरिने भएको छ।

बुधबार अपरान्ह ३ बजे घोषणा कार्यक्रम हुनेछ। कोरोनाभाइरस महामारी रहेकोले जुममार्फत् नै दल एकीकरण घोषणाको कार्यक्रम गर्न लागिएको हो।

‘अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहनु हुन्छ,’ विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले भनिन्, ‘दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनु हुन्छ।’

सचिवालय २६ सदस्यीय रहने उनले जानकारी दिइन्। नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने यी दलबीच सहमति भइसकेको छ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुई पार्टी एक हुन लागेको बताएका छन्।

‘हामी एक हुँदैछौं। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौं,’ पार्टी एकताबारे मिश्रले भनेका छन्, ‘तपाईंको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौं भन्नेमा हामी विश्वस्त छौं।’

संयोजक मिश्रले अस्तित्वमा रहन मात्रै नभई नेतृत्वमा पुगेर देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न पार्टी जन्मिएको उल्लेख गरेका छन्।

‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ,’ उनले भने।

एक भएपछि विवेकशील साझा पार्टीले छ महिनाभित्र एकता महाधिवेशन गर्ने बताएको छ।

यी दुई दल २०७४ साउन ११ गते पनि एक भएका थिए। २०७५ पुसमा यो दल फुटेको थियो। यी दुई दल गत वैशाखदेखि नै एकताको प्रक्रियामा अगाडि बढेका थिए।

पार्टी एकताप्रति असन्तुष्ट रहेका विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले हालै एकतामा सहभागी नहुने बताएका थिए।

सम्बन्धित खबर

Close