Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन, प्रचण्ड-नेपाललाई जेल हाल्ने चेतावनी ( फोटो फिचर )

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थनमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ओलीका समर्थनमा बोल्दै उनीहरुले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाललाई जेल हाल्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी ओलीले आइतबार चालेको कदमको समर्थनमा ओली पक्षीय कार्यकर्ताले पोखराको मानव अधिकार चोकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले प्रचण्ड र नेपाल अपराधी भएको बताए।

‘यी दुई अपराधीलाई कालो कोठरीमा जाक्नुपर्छ’, बास्तोलाले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्त गर्न खोज्दा प्रचण्डको खुट्टा कामेको भन्दै उनले ललिता निवास प्रकरणमा माधव नेपाल मुछिएको आरोप लगाए।

केपी ओलीले भ्रष्टाचारविरोधी अभियान चलाएको दाबी गर्दै बास्तोलाले त्यही अभियानका कारण प्रचण्ड–नेपाल पक्षले राजीनामा मागेको दाबी गरे।

उनले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा जारी गरेको भोलिपल्टदेखि राजीनामा मागेको उल्लेख गर्दै उनले भने, ‘राजीनामा माग्ने को हो?’

प्रचण्ड-नेपाल पक्षमाथि आक्रोशित बनेका बास्तोलाले नेताद्वयलाई जेल जाने समय कुरेर बस्न चेतावनी दिए।

‘तपाईंको छलाङले अब काम गर्नेवाला छैन, अब तपाईं जेल जाने हो’, उनले भने, ‘जनताले भनेका छन्, भ्रष्टाचारीलाई कारबाही गर्नुस् केपी ओली।’

एउटै घरमा बसे पनि अपराधीहरू अपराधी नै हुने भन्दै उनले आफ्नै बुबाको छोरा पनि अपराधी बन्न सक्ने बताए।

निर्वाचनमार्फत् प्रधानमन्त्री ओलीकै नेतृत्वमा बहुमत आउनेसमेत उनले दाबी गरे।

‘फेरि केपी ओलीकै नेतृत्वमा बहुमत ल्याउनेछौं’, उनले भने, ‘सूर्य चिन्ह र जनताको बहुदलीय जनवादसहित अघि बढ्छौं।’

सोही सभामा बोल्दै अनेरास्ववियूका कास्की अध्यक्ष विवेक देवकोटाले आउँदो निर्वाचनमा चुनाव जित्न प्रचण्ड-नेपाल पक्षलाई चुनौती दिए।

‘प्रचण्ड नेपालले जनताको बहुदलीय जनवाद र सूर्य चिन्हबिना चुनाव जितेर देखाउनुस्’, उनले भने, ‘निर्वाचनबाट नतर्सनुस्।’

नेकपाकै प्रचण्ड-नेपाल पक्ष र विपक्षी दलहरूले सडकमा पुत्ला जलाउने र प्रधानमन्त्री ओलीको विरोध गर्ने गरेको भन्दै उनले लोकतन्त्रका पक्षपातीहरूले निर्वाचनको विरोध गर्न नमिल्ने बताए।

ओली पक्षीय कार्यकर्ता सभा सकिएपछि तत्कालीन एमालेको चुनावी गीत ‘मै पनि एमाले, सही पनि एमाले’ बजाएर सडकमा नाचेका थिए।

फोटो : सचिन मल्ल / जक्सन डट कम

फोटो ग्यालरी :

सम्बन्धित खबर

Close