Headline Title onlyHeadlines with imageराजनीतिहाम्रो देश

ढल्यो केपी ओलीको सरकार, संसदले दिएन विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। सोमबार प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै ओली नेतृत्वमा रहेको सरकार स्वतः ढलेको हो।

प्रधानमन्त्री ओलीले उपस्थित २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाएका थिए । यस्तै उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए । १५ जना तटस्थ बसेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० बमोजिम आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन चाहेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ।

सोही धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ ।

प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए।

प्रधानमन्त्री ओलीलाई उनकै पार्टी एमालेको उनी पक्षीय सांसदले मात्रै मत दिएका थिए। १२१ जना सांसद रहेको एमालेले यसअघि विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि २८ सांसद अनुपस्थित थिए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन्।

अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close