Headlines with imageन्युज पोखरापोखराराजनीतिहाम्रो देश

केपी ओलीलाई आन्दोलनको ज्वारभाटाले लैजान्छ : माधव नेपाल

गण्डकी प्रदेश केपी ओली पीडित प्रदेश : माधव नेपाल

नेकपा प्रचण्ड – नेपाल पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको ‘आन्द्राभुडी’ खोतले । पोखराको बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरणमा संवोधनको शुरुमै नेपालले भने, ‘म ४८/४९ बर्षदेखि सहकार्यमा छु’, उनले भने, ‘मलाई केपी ओलीको आन्द्रा भुँडी सबै थाहा छ ।’

नेपालले प्रधानमन्त्री ओलीलाई प्रतिनिधी सभा विघटन गरेर गल्ती गरेको निर्णय मन्त्रीपरिषदबाट गर्न आग्रह गरे । ‘प्रतिनिधीसभा विघटन बेठिक भयो भन्नुस’, नेपालले भने, ‘तपाइले क्याबिनेटबाट प्रस्ताव पास गर्न सक्नुहुन्छ, संवैधानिक अर्थ नभएपनि राजनीतिक अर्थ राख्छ ।’

यति भनेर नेपालले वामदेव गौतमले थालेको प्रयासतर्फ इँगित गरे । ‘त्यसैका निम्ति वामदेव गौतम लागिरहनुभएको छ, मैले बामदेवलाई भनेको छु’, नेपालले भने, ‘तपाई लागेर पार लाग्नेवाला छैन, केपी ओली सुध्रने मान्छे होइन ।’

नेकपामा प्रचण्ड–नेपाल समुहमा केपी ओलीलाई निकालेपछि रिक्त अध्यक्ष पदका लागि सुरेन्द्र पाण्डेले आफुलाई प्रस्ताव गरेको उनले बताए । ‘मैले वामदेवजी आउनुहुन्छ भने उहाँलाई बनाउ भनेको थिए, तर साथीहरुले उहाँलाई कस्ले मान्छ भनेर मलाई प्रस्ताव गरे’, उनले भने, ‘केन्द्रिय कमिटीले गडगडाहट तालीले अनुमोदन गरे ।’

प्रधानमन्त्री ओलीले एकैपटक प्रचण्ड र आफुलाई फरक-फरक खबर पठाएको भन्दै आफुहरुलाई फुटाउन खोजेको उनले आरोप लगाए । ओलीले गरेका व्यवहारका आफुसँग एक भारी प्रसंग भएको नेपालले बताए । ‘त्यो प्रसंग सुन्नुभयो भने दंग पर्नुहुन्छ’, उनले भने, ‘यस्तो पनि मान्छे हुन्छ ? यस्तो पनि नेता हुन्छ ?’

उनले केपी ओली पार्टीको अध्यक्षमा निर्वाचित भएदेखि नै समस्या शुरु भएको बताए । अब आन्दोलनको ज्वारभाटा निस्कने भन्दै नेपालले त्यही ज्वारभाटाले केपी ओलीलाई लैजाने चेतावनी दिए ।

उनले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई केपी ओली पीडित प्रदेश भने । केपी ओलीले जहिले पनि दुख दिने काम गरेको भन्दै नेपालले भने, ‘१५/१५ बर्ष पार्टी हाकेको हुनाले केपीले कति दुख दियो मलाई थाहा छ ।’

नेकपामा बैठक राख्न तत्कालिन कार्यकारी अध्यक्ष प्रचण्ड डराउँदा आफुले नै साहस गर्न लगाएको नेपालले दाबी गरे । ‘पार्टीले काम गर्न नदिएको, म माथि आरोप ल्याएकाले म बैठकमा नगएको भनेका थिए, त्यतिबेला कार्यकारी अध्यक्ष बैठक बोलाउन डराउनुभयो’, नेपालले भने, ‘मैले नडराउनुस्, हिम्मत गर्नुस् भनें ।’

प्रचण्डले आफुलाई ‘तपाई मात्र नभएको भए त मलाई किचीमिची पारिदिन्थे’ भनेको नेपालले उल्लेख गरे ।

तत्कालिन नेकपा एमाले बनाउनेहरुमा जीवित आफु मात्र बाँकी रहेको उनले दाबी गरे । पार्टी बनाउने अर्को व्यक्ती सिपी मैनाली रहेपनि उनले पार्टी छाडेर हिँडिसकेको बताए । उनले इश्वर पोखरेलदेखि नेताहरुलाई आफुले नै पार्टीमा ल्याएको र ओली पक्षमा रहेका नेतालाई समेत आफुले नै जिम्मेवारी दिएको दाबी गरे ।

पार्टीको केन्द्रिय कमिटी बैठकको ब्यानरमा केपी ओलीको फोटो राख्दा आफुले चुपचाप बहिस्कार गरेको प्रसंग समेत नेपालले निकाले । ‘बोलौं भने पेपरलाई मसला हुन्छ, नबोलौं भित्रभित्रै कति पोल्दो हो’, उनले भने, ‘पछि यो फोटो सबैको अगाडी च्यातिदिउँ कि हटाउनुहुन्छ भनेपछि हटाए ।’

प्रधानमन्त्री ओलीसँगका किस्साहरु सुनाएका नेपालले ओलीले हरेक ठाउँमा दुख दिने र छलकपट गरेको बताए । आफुले विगत राजासँग टक्कर लिएको र दाबी गर्दै नेपालले ओलीले बनाउने पार्टी, पार्टी नभई पौवा भएको बताए ।

‘म त राजा ज्ञानेन्द्रसँग टक्कर लिएको मान्छे हुँ’, नेपालले भने, ‘केपी ओलीको पार्टी होइन, पौवा हो ।’

फोटो / भिडियो : अरुण गिरी, आशिक थापा र अन्जल गुरुङ / जक्सन डट कम

सम्बन्धित खबर

Close