Headlines with imageन्युज पोखरापोखराराजनीतिहाम्रो देश

‘इतिहासकै अपराधी सरकार, ओली सरकार’ : कांग्रेस नेता अर्जुननर सिंह केसी

देशभर प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकबाट सरकारको चर्को आलोचना गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार पोखरामा आयोजित विरोध प्रदर्शनमा कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा अधिकांश समय खर्चिए ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननर सिंह केसीले ओली नेतृत्वको सरकार इतिहासकै अपराधी भएको आरोप लगाए ।

जनता मृत्युको संघारमा रहँदा सरकारले मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गर्न नछाडेको उनको भनाई थियो । कोरोना भाइरस विरुद्धको खोप किन्न ५० अर्ब लाग्ने सार्वजनिक भइरहँदा त्यसमा पनि अर्को भ्रष्टाचारको अखडा बन्ने निश्चित भएको उनको आरोप छ ।

वाइडबडी, न्यारोबडी, ३५ किलो सुन प्रकरण, ओम्नी प्रकरण, सुरक्षा मुद्रण खरिदबारे ७० करोड प्रकरण जस्ता भ्रष्टाचार नै भ्रष्टाचारको प्रकरणमा सरकार मुछिएकोले ओली नेतृत्व सरकार विचित्रकै भएको उनले बताए ।

‘यो सबै घोटालाको न्यायिक छानविन गर्ने तागत छ ओलीको ?’ उनले भने, ‘हाम्रा नेताहरुलाई पनि मुछ्ने काम भइरहेको छ, तागत छ भने प्रमाणित गरेर देखाओस् ।’

लोकतन्त्रका लागि फेरी कांग्रेस जुर्मुराउने बेला आएको उनले बताए । ‘लोकतन्त्रका लागि हामीले तीन पटक संघर्ष ग¥यौं,’ उनले भने, ‘अब फेरी कम्युनिष्ट अधिनायकवाद विरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ ।’

सरकारले प्रजातन्त्रको कुरा गरेर लोकतन्त्र विरोधी काम गरेको भन्दै उनले सरकारलाई अमिलोको संज्ञा दिए । ‘अमिलोको बोट रोपेर सुन्तला खान पाइदैन । कम्युनिष्टलाई जिताएर लोकतन्त्रको रक्षा हुँदैन ।’

विरोध सभालाई सम्बोधन गर्दै पूर्व सभामुख एवं कांग्रेस नेता तारनाथ रानाभाटले लोकतन्त्रका लागि चार पुस्ताले आन्दोलन गर्नुपरेको बताए । ‘यहाँ विपी कोइरालासँग क्रान्ति गर्ने पुस्ता पनि छ । ०४६ सालमा आन्दोलन गर्ने पुस्ता पनि छ । २०६२/०६३ को आन्दोलनको पुस्ता पनि छ ।’ लोकतन्त्रका लागि निरन्तर आन्दोलन गर्नु परेको उनको भनाई थियो ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले अब कांग्रेस ब्युँझिएको बताए । ‘हिजो राजाको घोडा आयो बाटो छोडछोड भन्ने थियो, अब कांग्रेसको घोडा आयो बाटो छोड छोड ।’

कांग्रेस नेताहरुले तनहुँमा बुल्दी पुल उद्घाटनका क्रममा रामचन्द्र पौडललाई प्रहरीले गरेको नियन्त्रणकालाई सरकारको ज्यादती भएको भन्दै भत्र्सना गरेका थिए ।

फोटो : सचिन मल्ल / जक्सन डट कम

सम्बन्धित खबर

Close