Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

ओली – भण्डारीको साँठगाँठ, राजनीतिक आतंकवाद : देवराज चालिसे

नेपाली काँग्रेसका नेता देवराज चालिसेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको साँठगाँठले राजनीतिक आतंकवाद ल्याएको दाबी गरेका छन् । काँग्रेसले सोमबार पोखरामा आयोजना गरेको विरोध कार्यक्रमलाई संवोधन गर्दे नेता चालिसेले उक्त दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक सिफारिस खुरुखुरु जारी गरेको भन्दै नेता चालिसेले राष्ट्रपति ओलीपक्षको मात्र भएको बताए । ‘राष्ट्रपतिलाई के बाध्यता हो, ओलीपक्षमा मात्र सिमित हुनुभएको छ, उनले भने, नेपालको राष्ट्रपतिको हैसियत उहाँले गुमाउनुभएको छ ।’

प्रधानमन्त्रीले देशमा लामो समयसम्म निरंकुश सत्ता चलाउन खोजेको समेत उनले आरोप लगाए । ‘राष्ट्रपतिलाई साथमा लिएर प्रधानमन्त्री लामो समय निरंकुश सत्ता चलाउन लाग्नुभएको छ, चालिसेले भने, प्रधानमन्त्रीले राजिनामा नदिई संसद भंग गर्नुभएको छ, संसद भंग गरेपछि पनि सरकार पुनर्गठन गर्नुभएको छ ।’

प्रधानमन्त्रीले घोषणा गरेको बैशाखमा चुनाव नहुने समेत उनले ठोकुवा गरे । ‘चुनाव सहज तरिकाले हुने अवस्था देशमा छैन, उनले भने, चुनाव होला र जितौला भनेका होला, म आग्रह गर्छु चुनाव भइहाल्यो भने पनि सत्ता कब्जा गरेर आफ्नो पक्षमा परिणाम पार्ने गरी हुन्छ ।’

सरकारले चालेको कदमको विरुद्ध काँग्रेस आन्दोलनमा जाने र पार्टीमा मतभेद नरहेको उनले जिकिर गरे । ‘यो राजनीतिक आतंकवाद परास्त गर्न काँग्रेस एकजुट छ’, उनले भने ।

अहिलेसम्मका सबै परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको भन्दै उनले जनताले कम्युनिष्टलाई दुई तिहाई बहुमत दिएको बताए । ‘शान्ति, संविधान लगायत सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भयो, उनले भने, मत कम्युनिष्टलाई दिए, ३ बर्षमै सरकार संसद भंग गर्ने अवस्थामा आयो ।’

कम्युनिष्टले जनताले दिएको मत धान्न नसकेको उनको आरोप छ । ‘जनताले के भनेर कम्युनिष्टलाई मत दिए, के भनेर मत मागेको हो उनले भने, यो जवाफ आज जनताले माग्नुपर्छ ।’

नेपालका कम्युनिष्टले नेपाली जनतालाई मात्र नभएर चिनिया कम्युनिष्टलाई समेत दुख दिएको उनको भनाई छ । प्रधानमन्त्रीले भनेको चुनाव हरियो घाँस भएको भन्दै उनले यसमा नफस्न आग्रह गरे ।

प्रधानमन्त्रीले संसद भंग गर्दा काम गर्न पाइन भनेको प्रसंग उल्लेख गर्दै उनले के काम गर्न पाइन ? भनेर प्रश्न गरे । ‘के काम गर्न पाएन सरकारले ? देश लुटेकै थियो, उनले भने, जम्मै चिज गरेकै थियो के गर्न पाएन ? काम गर्न नपाएकाले संसद भंग गरे भन्ने प्रमको भनाईमा कुनै दम छैन, तर्क छैन ।’

प्रधानमन्त्री ओलीले खाएको किड्नीको औषधीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लागेको समेत उनले आरोप लगाए । ‘किड्नीको औषधी लगातार १ बर्ष खायो भने मानसिक स्थिति खलबलिन्छ, प्रधानमन्त्रीले धेरै बर्ष खानुभयो, उनले भने, प्रधानमन्त्रीको मानसिक अवस्था ठिक छैन भनेर मेडिकल साइन्सले भन्छ, औषधी खाने प्रधानमन्त्री नशा लाग्ने राष्ट्रपति ।’

सरकारले देशलाई भड्खालोमा हाल्ने काम गरेको भन्दै उनले कम्युनिष्टले देश चलाउन नसक्ने बताए । ‘जनताले पनि सोच्नुहोला, कम्युनिष्ट पार्टीले देश चलाउन सक्दैन’, उनले भने, ‘जबसम्म राजनीतिक आतंकको निर्णय फिर्ता हुँदैन, तबसम्म यो आन्दोलन जारी रहन्छ ।’

सम्बन्धित खबर

Close