Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

‘संकी प्रधानमन्त्री चाहिदैन, देश डुबाउन पाइदैन’ भन्दै विवेकशील साझाले गर्यो पोखरामा प्रदर्शन

‘संकी प्रधानमन्त्री चाहिदैन, देश डुबाउन पाइदैन’ भन्दै विवेकशील साझा पार्टीले पोखरामा प्रदर्शन गरेको छ। संसद विघटनको विरुद्ध पोखराको महेन्द्रपुलमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका नेता– कार्यकर्ताले प्रधानमन्त्रीको सनकमा देश डुबाउन नपाइने बताएका हुन् ।

‘देश प्रतिगमनतिर गइराखेको छ’, विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भने, ‘अहिलेको उपलब्धीमा विश्वास राख्ने लोकतान्त्रिक शक्ती एकठाउँमा आएर आवाज बुलन्द गर्नुपर्छ ।’ संसद विघटनको प्रतिवाद गर्न विवेकशील साझा पार्टी सडकमा उत्रिएको उनले बताए ।

अहिले सरकार चलाइरहनेहरु २०६२/०६३ को जनआन्दोलनमा सहभागी नभएको भण्डारीले दाबी गरे । ‘जनआन्दोलनको बेलामा एक दिन पनि सडकमा नआएको शक्ति अहिले सत्ता चलाइरहेको छ’, उनले भने, ‘त्यो शक्तिले यतिखेर संविधान मिच्ने र लोकतन्त्रको उपहास गरिराखेको छ ।’ संसद विघटन, अध्यादेश लगायतका घटना यसका उदाहरण भएको भण्डारीको भनाइ छ ।

सरकारमा रहेका शक्ति भारतको इशारामा जनआन्दोलनका बेला पनि आन्दोलन विरोधी अभिव्यक्ती दिने गरेको भण्डारीले बताए । संघीयता, गणतन्त्र र लोकतन्त्रको मजाक गरिरहेको भन्दै उनले यसका विरुद्ध एकताबद्ध हुन उनले आग्रह गरे । ‘कहिलेकाँही तानाशाही सनकमा कदम चाल्छन् र कहिल्यै नउठ्ने गरी चकनाचुर हुन्छन’, उनले भने, ‘कुतिको मार्ग हिँडेर काशी पुगिदैन, लोकतन्त्र र गणतन्त्रको पछाडी फर्केर जान सकिँदैन ।’

सरकारले चालेको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध जनतालाई सडकमा उतार्ने समेत भण्डारीले चेतावनी दिए ।

विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य रजनी केसीले सरकारले सिफारिस गरेको संसद विघटन प्रस्ताव राष्ट्रपती विद्यादेवी भण्डारीले स्विकृत गरेर गरिमा गुमाएको बताइन् । ‘संसद विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई छैन’, केसीले भनिन्, ‘अब सदन बसेर बैकल्पिक सरकार गठन गर्न सक्छ ।’

फोटो : अरुण गिरी र सचिन मल्ल / जक्सन डट कम

सम्बन्धित खबर

Close