Headline Title onlyविचार / अन्तर्वार्तासमाजहाम्रो देश

मिसन भ्याक्सिन

–हिरा बहादुर कार्की

काम गर्न काम नै गर्नुपर्छ । गुनासो गर्न केही गर्नुपर्दैन ।
सरकारसँग नागरिकको गुनासो सँधै जायज र स्वभाविक हुन्छ । जुन देशमा सरकार स्वयं गुनासो पोखिरहन्छ त्यो देश कस्तो होला? धेरै सोंच्नै पर्दैन, नेपालजस्तो होला । नागरिक गुनासो विरुद्ध ओंठे जवाफ फर्काउने काम सरकारको काम, कर्तव्य, अधिकारमा पर्दैन । जनजनको गुनासोमाथि प्रतिगुनासो पोख्दै समयको चरम दुरुपयोग गर्ने सरकार अनुशासित सरकार हुँदै होइन । समयको मुल्य नबुझ्ने अधमहरुसँग कुनै अनुशासन हुँदैन । यिनीहरुसँग कुनै नैतिकता हुँदैन । अधमहरुले शासन गरेको राज्यमा नागरिक भएर बाँच्नुपर्दाको पीडा कहालिलाग्दो छ । नपत्याए, हामी नेपालीलाई नै हेर्नुस् ।

सरकार, थोरै अनुशासन र नैतिकता बँचेखुचेको छ भने, जिम्मेवारीबोध छ भने र आजसम्मको पाप पखाल्न मन छ भने भ्याक्सिनलाई सरकारको एकमात्र मिसन बनाएर काम गर्न एक सेकेन्ड पनि खेर नफाल ।

महामारीमा अनेक मारामारी छ । भाइरस सर्वत्र फैलिसक्यो । यो भाइरसलाई भाइरल बनाएको दोष नागरिकलाई दिएर उम्कने ब्लेम अदर्स जुक्ति जो लगायौ, असाध्यै निन्दनिय छ । कसलाई थाहा छैन, जनस्वास्थ्य भर्सेस सत्ताको चलखेलले होइन कोभिडलाई नेपालमा भाइरल बनाएको ? जनस्वास्थ्य भर्सेस सत्ता जो मिसन बन्यो, अझैपनि त्यही छ । यसको सरलिकृत रुप यस्तो हुन्छ, जनस्वास्थ्य=जनता, सत्ता=नेता । जनता भर्सेस नेता । यो दिन आयो भने?

कथित सामाजिक राजनीतिक परिवर्तन एवं विकासे विचार र वादको फुँई लगाएर भाइरस हामीबाट भाग्दैन । विपदको बेला प्रतिगुनासो र वादविवादले टेको लगाएर सत्ता सम्हाल्ने गुरुयोजना दानविय प्रवृत्ति हो । जनजनको जिविकाको जग हल्लिसकेको बेला यति निर्लज्ज पनि नबन कि भोलि बालुवाटारबाट बाहिर निस्कँदा लाजले भुतुक्कै हुनपरोस् ।

एकाध व्यापार व्यवसाय बाहेक सबै व्यवसायको भविष्य अन्यौल छ । त्यही अन्यौलले डर, त्रास, नैराश्य जन्माएको छ । घरभित्रै कैंयन जिन्दगी हार खाँदै छन् । यस्तो विचलित मौसममा बडो नाक फुलाउँदै नानाथरी आदेश दिन लाज लाग्नुपर्ने हो । तर लाज जो पचिसकेको छ । यसरी लाज पचाउनेलाई हाम्रो समाज नकच्चरो भन्छ ।

जनशक्ति, साधनस्रोत, व्यवस्थापकिय क्षमता सबैको सीमा हुन्छ भन्ने सबैलाई थाहा छ । यो संकटले हाम्रो क्षमताको सीमा नाघिसक्यो । सरकार लाख इन्कार गरोस्, यो तीतो सत्य हो जो हरदिन देख्दै भोग्दै आइरहेका छौं । भाइरस एक्लै दिन दुइगुना, रात चौगुना दौडिदै छ, हामी शिथिल छौं, हाम्रो शक्ति छरपस्ट छ । यो भाइरसले हाम्रो दुई कौडीको औकात विश्वसमक्ष पुरै नङ्गाइदियो । अब, ढाकछोप गर्नुको कुनै अर्थ छैन । बेइज्जती यस्तो भयो कि हिजोसम्म जसरी गर्वले नेपाली हुँ भन्न सक्थेँ अब सायदै कहिल्यै सकुँला । निकम्मा कामचोर संयन्त्रहरुको अकर्म यस्तो घातक हुन्छ भन्ने पहिला कहिल्यै सोंचिन । कामचोरहरु कामको अधिकार लिन्छन्, काम गर्दैनन् । निकम्माहरु काम गर्न जान्दैनन् तर काम लिइछोड्छन् ।

यस्तै छ यहाँको चलन । कर्मकान्डी क्षमता, योग्यता र अनुभवका आधारमा कर्मचारीतन्त्रले महामारी नियन्त्रण गर्दैछन् । नेतागिरीको योग्यताका आधारमा मन्त्रीहरुले महामारी रोकथामको कमान्ड समातेका छन् । जान्न मन छ, हाम्रो देशको जनस्वास्थ्य प्रमुख, संचार प्रमुख, चिकित्सा प्रमुख को हुन्? यि प्रमुखहरु कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी)मा नितीनिर्माणको कुन भुमिकामा छन्? एकपटक तपाईं पनि हेर्नुस् सिसिएमसीको संगठन स्वरुप  https://ccmc.gov.np/ccmc_org.html 

निषेधाज्ञा तथा लकडाउनको मोडल न वैज्ञानिक न व्यवहारिक । उपलब्ध स्रोतसाधन र राज्यको अधिकारको अनुचित प्रयोग । सचेतना प्रेरक छैन, आदेशात्मक छ । डाक्टर कम प्रहरी धेरै खटाएर महामारी रोकथाम गर्ने निती हेर्दा हाँस्न मात्रै सक्छु । हाम्रो हेल्थकेयर सिस्टम आज होइन हिजै चौपट थियो । समाजवाद जस्तै सधैं अनेकन ठुल्ठुला कुरा गर्यौं । तर ती ठुलाठुला विषय धान्ने जग जहिल्यै खोक्रो राख्यौं । खासमा कल्पना मात्रै गर्यौं, संकल्प कहिल्यै गरेनौं । राज्यले जहिलेसम्म जनताको शिक्षा र स्वास्थ्यको निशर्त जिम्मेवारी लिन सक्ने जग बसाउँदैन, समाजवाद एक स्वप्नदोष जस्तै रहनेछ । दोष कसैको होइन, सबैको हो । मोह, घमण्ड र स्वार्थ मिसाएर बम पड्काएको तिमीले नै हो जसले गर्दा हाम्रो वर्तमान क्षतविक्षत छ । कमसेकम भोली त तिम्रै हातमा छ । खैर, हिजोदेखी आजसम्म जे भयो सो भयो । भोलिको चिन्तन गरौं ।

रोकथामको सवालमा पुरै असफल । उपचारको हकमा अभावै अभावको आतङ्क । व्यवस्थापकिय कौशलता शुन्य । हामीसँग हेल्थकेयर सिस्टममा पर्याप्त भएको भनेको ठुलाठुला भवनहरु मात्रै रहेछन् । जनशक्ति, प्रविधी र साधनस्रोतको त अभाव नै अभाव छ । उपचार तथा रोकथामजन्य सिलसिला चल्दै गर्ला भन्ने आशा सकिएको छैन ।

तर यसघडी जसरी यो भाइरस नेपालको हिमाल पहाड तराई फैलिएको छ अहिलेको रोकथामको निती र उपचारको उपलब्धताले धेरै दिन धान्न सक्दैन । नेपालीसँग महिनौंसम्म लकडाउन वा निषेधाज्ञामा बाँचिरहन सक्ने व्यक्तिगत हैसियत छैन । सरकारसँग जति लामो लकडाउन गरेपनि नागरिकलाई बचाइराख्न सक्छु भन्ने न विश्वास छ न कुनै योजना नै । न नागरिकसँग सरकारप्रति यस्तो कुनै आशाभरोसा छ ।

उपलब्ध जनशक्तिलाई दक्ष बनाएर, व्यवस्थापकिय कौशलतालाई माझेर, भएका साधनस्रोतको उच्चतम प्रयोग गर्दै सरकारले गर्न सक्ने एउटै काम छः भ्याक्सिनेट नेपाल । माग वा किन जे गर । नाफा माग्नेलाई नाफा देऊ । नाम माग्नेलाई नाम देऊ । हामीलाई खोप दिएर जसजसले जे जे माग्छन् सब देउ । सबैको हिसाबकिताब पछि गरौंला । यो महामारीको एउटै अचुक उपाय हो, भ्याक्सिन । अबको ६ महिनाभित्र नेपाललाई भ्याक्सिन लगाएर सक्यौ भने कोभिड १९का कारण जीवन गुमाएका दिवंगत प्रियजनहरुको आत्माले शान्ती पाउनेछ । यो मिसन जुन दिन एक्सनमा गएको महशुस हुनेछ त्यस दिन घरभित्र हार खाँदै गरेका जिन्दगीहरु पनि सम्हालिने छन् । जग हल्लिइसकेको व्यापार व्यवसाय आफूलाई थमथमाउने कोशिस गर्नेछ । हिजो हिजै सकियो । भोलि त बाँकी नै छ ।

सरकारले सबै पाप पखाल्ने यही एउटा उपाय हो, यसलाई सुनौलो अवसरका रुपमा हेरोस् । कल्पनामा निदाउने समय होइन यो, संकल्पमा खटिने समय हो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close