Headlines with imageविचार / अन्तर्वार्तासमाजहाम्रो देश

आत्माशाः एउटै सहारा

–हिरा बहादुर कार्की

कोरोना विरुद्धको युद्ध यसरी त कसरी पो जितौंला? साथी, बचाउन सक्ने एउटै कुरा छ, आत्माशा (आत्म आशा)। भगवान भरोसा त छँदै छ, तपाईंको भगवान तपाईं नै त हो ।

कोरोना–काल आयो तर गएन । जिन्दगी छ तर जिन्दगीजस्तो छैन । तनमन हिजोजस्तो रहेन, घरबन्दी भैगयो । हिजोको केही बाँकी छैन, हिजोजस्तो केहीपनि छैन । खैर, तपाईंको कस्तो छ ?

पार्क एट योर वन रिस्क भनेजस्तो सरकारले बडो निर्लज्ज भएर हामीलाई भनिरहेकै छ, बाँचे बाँच, मरे मर– तेरो जिन्दगी तेरै मर्जी । तमासा छ साथी । सत्ताको तामसी तमासा चलेको चल्यै छ । सुन्नुभयो ? तमासेहरु त हामीलाई आँशुमै डुबेर मरुन् भनेर गइसके । सुन्नुभएन ? अत्तालिएरै, निसासिएरै मर भनेको ?

कोरोनाले कैंयन जिन्दगी निलिसक्यो । कालोबजारीको बिगबिगी हेर्नुभयो? कोरोना त एकदिन अघाउला, यिनिहरु कहिल्यै नअघाउने भए । वैश्ययुग हो साथी, वैश्ययुग । वैश्ययुगमा मानवजस्तो अर्को दानव कोही हुँदैन । व्यापारको आफ्नै धर्म छ, यहाँ पापधर्मको के कुरा । वैश्यमन्डली कात्रोमै खल्ती सिलाउँदै छ । स्वधर्मको कुरा गरेर ठट्टा नगर्नुस् साथी, ठट्टाको लागि यो उचित समय होइन ।

विरोधीको रिस जनतामाथि पोखेर सरकारले फुलाएको नाक हाम्रै नाकमा ठोस्सिन आइपुगेको छ । मास्कले नाकमुख छेकेर के गर्नु ? प्रतिपक्ष पनि उस्तै छ, यसको प्रतिक्षा कुनै गतीलो प्रतिक्षा होइन । यो आउने छ र हाम्रो जीवनको जिम्मा लिने छ भन्ने ख्यालठट्टा पनि नगरौं । आजको मितीसम्म यिनका पनि गतिला कोरोनायोजना देख्न पाइएको छैन । छ भने देखाइसक्थे होला ।

सबका सब तमासेहरु छन् जो विज्ञान मान्दैनन्, विज्ञको सुन्दैनन् । केही विज्ञहरुको विज्ञता यिनै तमासेहरुको चरणमा शरण परेको छ । कतिपय विज्ञहरुलाई सजग बनाउने र तर्साउने बीचको फरक थाहा छैन । केही छन्, मिडियाबाजीमा व्यस्त छन् । केही छन्, जो मिडियामा बिक्दैनन् । अलिकती छन्, एक्लै एक्लै हतास हतास छन् । कोरोनाविरुद्धको युद्ध जित्ने विस्तृत योजना र उचित रणनीति कसले बनाउला? आजसम्मको सरकारी संयन्त्र र कर्मचारीतन्त्रभित्रबाट कुनै आशा छैन ।

कर्मचारीतन्त्रमा आजकाल कमन सेन्स छैन । यसलाई आफ्नो अधिकारको बलमा मात्रै विश्वास छ, बुद्धीमा छैन । मुढेबलको आदेश नै अन्तिम विकल्प मान्ने यो तन्त्रले समुचित नितीको प्रभावकारीतालाई सोझै इन्कार गर्छ । त्यसैले त यस्तै लाग्छ, कर्मचारीतन्त्र आजकाल कुनै तान्त्रिकको हवेलीमा टुनामुना सिक्दै छ । ऊर्दीवाला तन्त्रमन्त्र जारी गर्छ र जनजीवनसँग बेइमानी गर्छ । हुन त आजकाल यो देश आदेश र अध्यादेशले मात्रै चलिरहेको छ । नपत्याए, निषेधाज्ञा वा लकडाउनका आदेशहरु सुन्नुस् । के ति साँच्चिकै वैज्ञानिक, सामाजिक र विवेकपुर्ण छन् ?

कोरोनाविरुद्धको युद्धका कमान्डर इन चिफ मिसन कुर्सीको कोमामा छन् । जसरी यिनी स्वयं लाज पचाउन माहिर छन् यिनका लागि कोरोना पचाइदिने कुरा मात्रै हो । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र सिसिएमसी बीच सक्रिय समन्वय छैन भन्ने कुरा स्पष्ट छ । अब, यिनले सूचना तथा संचार मन्त्रालय, तथ्यांक विभाग, नास्ट, वाणिज्य विभाग लगायतका सरकारी र अन्य सम्बन्धित निजी संघसंस्थाहरुसँग राम्रो समन्वय छ भनेको कसरी पत्याउनु । सबैका आफ्नै मिसन छन् तर कोरोना कसैको पनि मिसन होइन ।

कोरोना विरुद्धको युद्ध यसरी त कसरी पो जितौंला? साथी, बचाउन सक्ने एउटै कुरा छ, आत्माशा । भगवान भरोसा त छँदै छ, तपाईंको भगवान तपाईं नै त हो ।

हामीले हाम्रा प्रियजन गुमायौं । सरकारी एवं प्रतिपक्षी अकर्म र कुकर्मका कारण धेरै र कोरोनाका कारण थोरै । अहिले थपिएको छ, वैश्यमन्डलीको कुकर्म पनि । दोष अहिलेका तमासेहरुलाई मात्रै दिन मिल्दैन । दोष हाम्रो पनि छ । हाम्रा पुर्खाको पनि छ । यि तमासेका राजनितीक पुर्खाहरुको पनि उत्तिकै छ । नागरिकको स्वास्थ्य र शिक्षाको निशर्त जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने मान्यता बहसमै अड्कियो, कहिल्यै नीति बन्न पाएन । स्वास्थ्य र शिक्षा राज्यको दायित्व बनाउनुपर्थ्यो, हामीले व्यापार बनाउँदै आयौं । व्यापार नै सही, स्वास्थ्य र शिक्षा राज्यको अधिकार नै नहुनेगरी खुला व्यापार बनाउनु हुन्नथ्यो, बनायौं ।

यो संकटले हामीलाई तीतो पाठ पढाएको छ । सायद, आगामी चुनावमा दलिय घोषणापत्रहरुमा यही विषयले महत्व पाउला । तर, घोषणापत्र र भाषणबाजहरुमा कति विश्वास गर्ने भन्ने पाठ पनि पटकपटक पढेकै छौं । नागरिकको स्वास्थ्य र शिक्षा राज्यको निशर्त दायित्व बनाउने पहिलो र अहं भुमिका हाम्रै हो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close