Headline Title onlyन्युज पोखरापोखरासमाजहाम्रो देश

सडकमा पोखियो जनताको निराशा– ‘खोई १० अर्ब, खोई कोरोना नियन्त्रणको प्रयास ?’

जक्शन न्यूज
पोखरा, जेठ २८ ।

यो न कुनै राजनीतिक दलले आह्वान गरेको विरोध कार्यक्रम थियो न कुनै ठुलो समूहले नै । स्वतस्फूर्त रुपमा केही युवाहरुले विहिबार आह्वान गरेको विरोध कार्यक्रममा मान्छेको भीड थेगिनसक्नु थियो ।

लकडाउनको बेलामा पनि यतिका मानिसहरु के कारणले जिल्ला प्रशासन कार्यालयमा विरोध जनाउँदै पुगे त ? यो सामान्य प्रश्न अवश्य होईन । विहिबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि देखिएको भीडले यो पुष्टी गर्छ कि कोरोनाको व्यवस्थापनमा सरकारले गरेका अनेक प्रयासप्रति जनता निराश छन् । त्यही भएर सरकारले गरेको कामप्रति खबरदारी गर्न एकाएक त्यो समूह त्यहाँ पुगेको थियो ।

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा एउटा भिडियो राखेर अपिल गरिन् । अपिलमा बिहिबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडी बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनका बारेमा जानकारी र सहभागिताको अनुरोध थियो ।

उनको समुहमा करिब २५ जना युवाहरु छन् । लकडाउन भएका कारण उनीहरुले आवश्यक सावधानी अपनाउँदै शान्तिपुर्ण तरिकाले विरोध जनाउने बताएका थिए । उनीहरुले यसरी सामाजिक सञ्जालमा गरेको आह्वानबाट बिहिबार पोखरामा प्रदर्शन गरे । ‘प्रदर्शनमा सोचे भन्दा धेरै मानिस सहभागी भए ।’ रानाभाटले भनिन्–‘प्रदर्शनमा कुनै नाराबाजी गर्ने र भाषण गर्ने कार्यक्रम भने राखिएको थिएन ।’

‘हाम्रो प्रदर्शनको उदेश्य कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएर अघि बढोस् भनेर हो ।’ उनले भनिन्–‘सरकारले गरेको खर्च पारदर्शी हुन प¥यो, क्वारेन्टिन मापदण्ड अनुसारको हुनुप¥यो ।’

बिहान ११ बजेदेखि शुरु भएको प्रदर्शनमा युवाहरुले प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए । प्लेकार्डमा अहिलेको आवश्यकता, सुरक्षित क्वारेन्टिनको व्यवस्था, प्रभावकारी स्वास्थ्य उपचार, प्रत्येक नागरिकको अधिकार, थाहा छ विश्वमै हाहाकार छ, जनतालाई प्रत्याभुत गराउ देशमा सरकार छ, शत् प्रतिशत पिसिआर टेष्ट लागु गर, आरडिटी टेष्ट बन्द गर, स्वास्थ्यकर्मीको सुरक्षामा खेलबाड गर्न पाइदैन,जनता लड्ने को संग, रोग संग कि भोक संग ?, कार्पेट होईन सोच बदलौ जस्ता नारा लेखिएका थिए ।

उनीहरुले हात नसमाई मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए । कोरोना रोकथामका सुरक्षाका उपाय अपनाउँदै सामाजिक दुरी राखेर प्रदर्शन गरेको रानाभाटले बताइन् ।

पोखरा स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारा, लेकसाइड जाने बाटो, राष्ट्रबैँक चोक लगायतका स्थानमा यसरी प्रदर्शन भएको थियो । प्रदर्शनको अन्त्यतिर राष्ट्रबैँक चोकतर्फ प्रधनमन्त्री विरुद्ध नाराबाजी समेत चलेको थियो । प्रदर्शनका आयोजकले भने विज्ञप्ती जारी गरेर नाराबाजी गर्ने आफुहरुको योजना नरहेकाले उनीहरु राजनीतिक पार्टी आवद्ध युवाहरु हुन सक्ने बताएका छन् ।
नाराबाजी पश्चात प्रदर्शनमा उत्रिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यता, मौन प्रदर्शन आयोजक समितिका तर्फबाट विज्ञप्ती जारी गरेर उक्त घटनासँग आफुहरुको कनै संलग्नता नरहेको उल्लेख गरेको छ ।
‘मौन र शान्तिपूर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आवद्ध केही युवाले गरेको अभद्र व्यवहारको हामी घोर निन्दा गर्दछौं, विज्ञप्तीमा भनिएको छ, यस कार्यक्रमको मापदण्ड बिपरित कार्य गर्ने युवाहरुको आयोजकसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँछौं ।’
मौन तथा शान्तिपूर्ण प्रदर्शन आयोजक समितिले आगामी कार्यक्रमका बारेमा छलफल गरेर निर्णय गर्ने जनाएको छ ।

फोटो / भिडियो : अरुण गिरी ,सचिन मल्ल, मिलन थापा र आशिक थापा / जक्सन डट कम

 

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close