Headline Title only

जातिय विभेद गर्ने र विभेद गर्नेको बचाउ गर्ने प्रदेश संसदलाई कारबाही हुनुपर्छ : साझा पार्टी

पोखरा, २६ बैशाख । साझा पार्टीले ‘जातिय विभेद गर्ने र जातिय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश संसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ । जातिय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता दिनुपर्ने पार्टीले जोड दिएको छ ।

साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले प्रेस विज्ञप्ती जारी गर्दै पोखरा १६ मा घटेको जातिय विभेदसम्बन्धि घटनामा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

घटनाक्रम अनुसार पोखरा १६ का मोहन सुनारले आफ्नो भाईको कोरा बस्नका लागि स्थानियस्तरमा रहेको क्रियापुत्री भवनको चावी मागेका थिए । तर तल्लो जातका मानिसले सो भवन प्रयोग गर्न नपाईने भन्दै उनलाई त्यहाँ बस्न दिईएको थिएन । त्यहि विषयलाई लिएर उनले ३ जना व्यक्तिको नाममा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । सुनारले आफूलाई जातिय विभेद गरेको भन्दै सोही वडाका रामबहादुर जिसी, देवबहादुर थापा र जनक थापाको नाममा किटानी जाहेरी दिएका थिए । प्रहरीले जनक थापालाई उमेरको कारण देखाउँदै नियन्त्रणमा लिईसकेको छैन ।

त्यसपछि केही स्थानियहरुले प्रहरी कार्यालय पुगेर पीडकको पक्षमा नाराबाजी समेत गरेका थिए । सोही क्रममा प्रहरीले बल प्रयोग गरेर भीडलाई भगाएको थियो । यहि विषय र जातिय विभेद गर्ने व्यक्तिहरुको बचाऊ गर्दै प्रदेश संसद तथा नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले प्रेस विज्ञप्ती जारी गरेका थिए ।

‘घटना घटेपश्चात देखिएको परिघटनाले पीडितलाई विभिन्न दबाबमा राखेर घटना साम्य पार्ने उद्देश्य देखिनु दण्डहिनताको पराकाष्ठा हो ।’ साझा पार्टीले विज्ञप्तीमार्फत भनेको छ–‘पीडकको र घटनाको मतियार देखिने प्रदेश सदस्य माननीय कृष्णबहादुर थापालाई समेत अनुसन्धानको घेराभित्र राखि प्रचलित कानुनले तोकेको व्यवस्था अनुसार हदैसम्मको कारबाही हुनुपर्छ ।’

नेपालको कानुनअनुसार सरकारी कर्मचारी अथवा जनप्रतिनीधिले जातिय विभेद गरेको खण्डमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढि कारबाही हुने प्रावधान छ ।

हेर्नुस् साझा पार्टी कास्कीले जारी गरेको प्रेस विज्ञप्तीको पुर्णपाठ:

जातिय विभेदको विरुद्ध साझा पार्टीको आपत्ती

मितिः २०७७/०१/२६

प्रेस विज्ञप्ती

धार्मिक, साँस्कृतिक र जातिय विविधता नेपालको सम्पत्ति हुन् । साझा पार्टी सनातन धर्म, धार्मिक तथा जातिय सहिष्णुतासहितको सुसँस्कृत समाज निर्माणमा रहेको अवगत नै छ ।

गत चैत २६ गते पोखरा महानगरपालिका वडा नम्बर १६ मा घटेको जातिय विभेद र यसले निम्त्याएको जातिय द्वन्द तथा जनप्रतिनीधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ । यसै सन्दर्भमा पीडकलाई आत्मबल र संरक्षण पुग्ने गरि नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्यूनिष्ट पार्टी नै नांगिएको छ । यस्ता गैरजिम्मेबारीपुर्ण अभिव्यक्तिको समेत साझा पार्टी घोर भत्र्सना गर्दछ ।

घटना घटेपश्चात देखिएको परिघटनाले पीडितलाई विभिन्न दबाबमा राखेर घटना साम्य पार्ने उद्देश्य देखिनु दण्डहिनताको पराकाष्ठा हो । यसै सन्दर्भमा यस खालको मुद्दा पीडित र पीडकको बीचको मात्र नभई राज्य र पीडकबीचको हुनुपर्ने हाम्रो धारणा छ । यस्तो किसिमको अन्यायपुर्ण विभेदलाई सरकारबादी मुद्दाको रुपमा विश्लेषण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु । साथै पीडकको र घटनाको मतियार देखिने प्रदेश सदस्य माननीय कृष्णबहादुर थापालाई समेत अनुसन्धानको घेराभित्र राखि प्रचलित कानुनले तोकेको व्यवस्था अनुसार हदैसम्मको कारबाहीको लागि माग गर्दछु ।

साथै पीडितलाई सुरक्षा दिनु राज्यको दायित्व भएकाले पीडित र परिवारको सुरक्षा व्यवस्थाको लागि ध्यानाकर्षण गर्न चाहन्छु । साझा पार्टीले दण्डहिनताको अन्त्य, भ्रष्टाचारको अन्त्य, सहिष्णुतासहितको समाजको परिकल्पना गरेको जानकारी गराउन चाहन्छु ।

संयोजक
अर्जुन खनाल
साझा पार्टी, कास्की ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close