Headlines with imageन्युज पोखरापोखराफोटो फिचर

मन्दिर बन्द छ, भक्तजनले गेटमै गरे घटस्थापना पुजा (फोटोफिचर)

नेपालीको सबैभन्दा ठुलो पर्व हो, दशैं । प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएर १५ दिनसम्म विशेष पुजा आजा गरेर यो पर्व मनाइन्छ । यस बर्षको आश्विन शुक्ल प्रतिपदा आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थानबाट बालुवा, माटो ल्याएर गाइको गोबरले लिपपोत गरी पुजा गर्ने प्रचलन छ ।

कोरोना भाइरसको महामारीले नवरात्रको दिनको भक्तजनहरु मन्दिर, शक्तिपिठ गएर पुजा आराधना भने गर्न पाएनन् । मन्दिरसम्म पुग्न नपाएपनि पोखराका शक्तिपिठमा भक्तजन भने पुगेका थिए ।

पोखराको प्रख्यात विन्दवासिनी मन्दिर कोरोना भाइरसको महामारी फैलिएदेखि नै बन्द थियो । नवरात्रदेखि दशैंभर धुमधामले पुजाआजा हुने विन्दवासिनी मन्दिरमा यसपटक भक्तजन जान पाएनन् ।

भक्तजनले मन्दिरको गेटमा पुगेर पुजाआजा गरे । उनीहरुले गेटमा धजा, पतका बाँधेर पुजा गरेका थिए । विन्दवासिनी मात्र होइन, पोखराका अन्य मठ मन्दिर र शक्तिपिठहरुमा पनि भक्तजनले गेटबाट पुजा गरे फर्किएका छन् ।

जिल्ला प्रशासन कास्कीले सुचना प्रकाशित गरी कोरोना भाइरस फैलिन नदिन मठमन्दिर नखोल्न निर्देशन दिएको थियो । भक्तजनले मन्दिरमा पुगेर पुजा गर्न नपाएपनि मन्दिरभित्र विधिपूर्वक पुजा आजा भने गरिएको छ ।

कोरोना भाइरस सचेतनाका लागि भक्तजन पनि यतिबेला बाहिर निस्किएका छैनन् । पोखराकै अर्को शक्तिपिठ भद्रकाली मन्दिरमा नवरात्रको बिहान केही भक्तजन पुजा गरिरहेका थिए । उक्त मन्दिरमा विवाह गर्न जाने जोडी समेत देखिएका थिए ।

पोखराको विन्ध्यावासिनी, तालबाराही, सितलादेवी, भद्रकाली, अकलादेवी लगायतका मठमन्दिर र शक्तिपिठमा यसपाली भक्तजनले खुलेर पुजा गर्न पाएनन्, कोरोना भाइरसले मन्दिर जाने भक्तजनलार्य समेत रोकिदियो ।

फोटोः– सचिन ठकुरी मल्ल

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close