Headlines with imageन्युज पोखरापोखराराजनीतिहाम्रो देश

षडयन्त्र, जालझेल र तिकडम गरेर प्रधानमन्त्री हुने दिन गयो– मुख्यमन्त्री गुरुङ

 

ओली पक्षीय नेकपाका युवाहरुले शुक्रबार पोखरामा शक्ती प्रदर्शन गरेका छन् । पोखराको अमरसिँहचौरमा जम्मा भएर उनीहरुले नाराबाजीसहित मोटरसाइकल र्याली निकालेर पोखरा सभागृह पुगे । उक्त र्यालीमा पोखराकै विरौटा र जिरो किलोमिटरबाट पनि ओली निकट युवाहरुले निकालेको जुलुस सभागृहमा मिसिन पुगेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशको ब्यानरमा निकालिएको जुलुसमा गण्डकी प्रदेशका नवलपुर बाहेक १० जिल्लाबाट ओली निकट युवा कार्यकर्ताहरु सभागी भए । उनीहरुले जुलुसमा कास्कीका गाउँ गाउँबाट समेत बस र जीप रिजर्भ गरेर कार्यक्रममा सहभागी गराएका थिए ।

मोटरसाइकल ¥याली पश्चात आयोजित सभामा मात्र होइन,र्यालीकै क्रममा पनि उनीहरुले नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाललाई लक्ष्य गरी आक्रामक नाराबाजी गरेका थिए । नेकपाको गण्डकी प्रदेशको सबैजसो कमिटीमा रहेको ओली पक्षको बाहुल्यता छ । ओली पक्षीय नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीबाट निर्वाचित नेकपाका सबै जनप्रतिनिधी ओली समुहमा रहेको जनाउ दिए ।
ओलीको पक्षमा पोखरा सभागृहमा आयोजित राष्ट्रिय युवा संघको कार्यक्रममा थापाले भने, ‘पोखरा महानगरका ३३ वडामा २२ वडा हामीले जितेका छौं, महानगरमा रहेका हाम्रा १०७ जना जनप्रतिनिधी नै हाम्रो साथमा हुनुहुन्छ’, उनले भने, ‘बाँकी गाउँपालिकाहरुमा पनि हाम्रो पार्टीको जनप्रतिनिधी यो अभियानको साथमै हुनुहुन्छ ।’

कास्कीको स्थानीय तहमा पूर्व माओवादीले एउटा वडा पनि जित्न सकेका थिएनन् । पोखरा महानगर, रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व सहित बहुमत ल्याएका थिए भने अन्नपूर्ण गाउँपालिकामा काँग्रेसले जितेको थियो । थापाले घुमाउरो शैलीमा ३ वटै तहमा जितेका पूर्व एमालेले अहिले ओलीको लाइनलाई साथ दिएको बताए ।
कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधी सभा विघटनको कदम वैधानिक भएको दाबी गरे ।

‘सो कल्ड संविधानविद्हरुले प्रधानमन्त्रीलाई प्रतिनिधी सभा विघटन गर्ने अधिकार छैन भनेका छन’्, उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले म्याण्डेट अनुसार काम गर्ने वातावरण भएन, संसद भंग गरेर नया म्याण्डेट लिन सक्छ ।’

संसदमा प्रधानमन्त्री चुन्ने प्रक्रिया हुने भन्दै उनले जस्केलाबाट प्रचण्ड–नेपाल समुहले अविस्वासको प्रस्ताव ल्याएको बताए । उनले उक्त प्रस्ताव पार्टीको संसदीय दलमा ल्याउनुपर्ने बताउँदै प्रचण्ड–नेपालको सत्तामोहका कारण संकट आएको बताए ।

प्रधानमन्त्रीले चालेको कदम लोकतान्त्रिक भएको र कारबाही गर्ने जिम्मा जनतालाई दिएको दाबी गरे । ‘यो कदम अलोकतान्त्रिक कसरी हुन सक्छ, उनले भने, राजालाई बुझाएको हो ? सैनिक शासन लगाएको हो ? सबै अधिकार आफ्नो खल्तीमा राखेर संकटकाल लगाएको हो ?’ उनले भने, ‘प्रधानमन्त्री ज्यु न्याय गर्ने जिम्मा जनताको भनेर जानुभएको छ, संसद पुनस्र्थापना कुनै हालतमा हुँदैन ।’

नेकपाको विधानमा बहुमत र अल्पमतको परिकल्पना नै नभएको समेत उनले दाबी गरे । ‘दुई जना अध्यक्षवीच सहमतीमा निर्णय गर्ने भनिएको छ, एकता महाधिवेसन नभएसम्मका लागि’ उनले भने, ‘सधै अल्पमत र बहुमतको गीत गाइराखेको छ, पार्टीको विधानमा त्यस्तो व्यवस्था छैन ।’

नेकपाको संस्थापन पक्ष प्रधानमन्त्री ओलीपक्ष नै हुने समेत उनले बताए । ‘हाम्रो पल्लाभारी हुन्छ, सुर्य चिन्ह पाउने हामी नै हो’, उनले भने, ‘सुर्य चिन्ह पाएपछि सबैको भकारी रित्तिन्छ ।’

नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका गुरुङले देशभक्तीपूर्ण आन्दोलनको एकमात्र नेता केपी ओली भएको समेत दाबी गरे । ‘एक चिम्टी माटो पनि अरुलाई दिन हुन्न भन्ने को हो ?’ उनले भने, ‘न्याय र समानताका आधारमा सम्बन्ध हुनुपर्छ भनेर शीर ठाडो पार्ने एक मात्र व्यक्ती केपी ओली हो, यसमा कुन नेपालीको समर्थन छैन ?’

नेकपा अध्यक्ष प्रचण्ड श्री ३ भएको र ३३ बर्ष एकलौटी पार्टी चलाएको समेत उनले आरोप लगाए । ‘श्री ३ भन्दा माथी रहेर अनिर्वाचित रहे, नियम पनि छैन, कानुन पनि छैन’, उनले नेपालतर्फ संकेत गर्दै भने, ‘१२ बर्ष पार्टी चलाएर तेस्रो ठाउँमा पुर्याएको हैन ?’
उनले केपी ओलीले नै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकरण गरेको र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पहिलो नेता ओली नै भएको बताए । उनले ओलीलाई नेपालको तेङ सियाओ फिङसँग तुलना गरे ।

‘नेपालको तेङ सियाओ फिङ कमरेड केपी ओली हो’, उनले भने, ‘जसले क्रान्तिको नेतृत्व पनि गर्नुभयो, संविधानको नेतृत्व पनि गर्नुभयो र समृद्धीको अभियान पनि अगाडी बढाउनुभयो ।’
अध्यक्ष प्रचण्डलाई उनले सडकबाट प्रधानमन्त्री बन्न खोजेको समेत आरोप लगाए । ‘सडक आन्दोलन गरेर प्रधानमन्त्री हुन सकिँदैन’, उनले भने, ‘षडयन्त्र, जालझेल र तिकडम गरेर प्रधानमन्त्री हुने दिन गयो कमरेड ।’

मुख्यमन्त्री गुरुङले पार्टी अध्यक्ष हुन चैत हुने भनिएको महाधिवेसनसम्म पर्खिन पनि नसकेको र प्रधानमन्त्री बन्न दुई बर्ष पर्खिन नसकेको बताए । ‘उनीहरु (प्रचण्ड–नेपाल) को सत्तामोहलाई अरुले उचालिदियो’, उनले भने, ‘जसको खट्टे खाए, त्यसकै बाख्रा चराए ।’

प्रधानमन्त्री ओलीले संसद विघटन धेरै दुरदर्शी भएर चालेको कदम भएको समेत गुरुङको भनाई छ । ‘हाम्रो नेता (ओली)ले धेरै दुरदर्शी भएर यो कदम चालेका हुन्’, उनले भने, चुनाव त हामीले जितिहाल्छौं ।’

सम्बन्धित खबर

Close