Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

गरिबीले सृजना गरेको ‘घेरो’ को कथा बोल्दै नेत्र गुरुङ

कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीच विभेदको खाडल झन् बढाएको छ। यस्तै कथामा पोखराका फिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्म निर्माण गरेका छन् ।

फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र समाजमा त्यसको प्रभाव देखाउन खोजेका छन् । विशेषगरि एउटा अबोध बालकको मनोविज्ञानमार्फत समाजको यथार्थ उनले फिल्ममा पस्केका छन् ।

लकडाउन भएसँगै पोखरामा रहेर समाजका विभिन्न पाटोहरुलाई समेटेर छोटो फिल्म निर्माण गर्दै आएका नेत्रको यो पछिल्लो काम हो । निम्नवर्गको विपन्न परिवारमा जन्मिएर हुर्केको एउटा बालकले कोरोनाबाट बच्नका लागि एउटा मास्क प्राप्त गर्ने सँघर्षको कथा नै घेरोको मुल कथा हो । यद्यपि फिल्मले समाजको यथार्थलाई पनि उत्तिकै गहिरो रुपमा देखाउन खोजेका छ ।

‘लकडाउनले समाजमा एउटा छुट्टै घेरो निर्माण गरेको छ र त्यही घेरोले मानिसहरुबीच फरक छुट्याएको छ ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘मेरा अघिल्ला लकडाउनसम्बन्धि फिल्महरुको तुलनामा यो फिल्मलाई केही फरक रुपमा भन्न खोजेको छु । बालकको मनोविज्ञानमार्फत समाजको यथार्थलाई मैले देखाउन खोजेको छु ।’ फिल्ममा उनले व्यवसायिक कलाकारहरुभन्दा पनि समाजकै ‘रियल लाइफ’ चरित्रहरुलाई अभिनय गराएका छन् ।

कास्कीको ढिकुरपोखरीमा छायाँकन गरिएको फिल्ममा तितस केसी मूख्य भुमिका छन् । फिल्म अभिनय तितसका लागि नौलो कुरा थियो । उनको यो पहिलो फिल्म हो । ढिकुरपोखरी गाउँकै स्थानिय तितसको अभिनय अहिले धेरैले रुचाएका छन् । फिल्ममा उनीसँगै राजेन्द्र अधिकारी, विजय अधिकारी, उर्मिला केसी र कर्णबहादुर पुन देखिएका छन् । उर्मिला र कर्णबहादुरका लागि पनि फिल्म अभिनय पहिलो अनुभव हो ।

फिल्म घेरो नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । फिल्मलाई छोटो समयमै उत्कृष्ट प्रतिक्रिया मिलेको छ । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । फिल्मको लेखनसँगै सहनिर्देशनमा नेत्रलाई भरत छन्त्यालले सघाएका छन्। विकास ताम्राकारले ड्रोन सट खिचेका हुन् भने फिल्मको रंग सँयोजन किरणराज थापाले गरेका हुन् । फिल्मको ब्याकग्राउण्ड स्कोर बिनोद रसाईलीले गरेका हुन् भने पब्लिसिटी डिजाइन सबिन गायकको हो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close