Headlines with imageविचार / अन्तर्वार्ता

आफ्नै सम्मान गुमाउँदैछन् चलचित्रका कलाकारहरु

रोहन नेपाली

कुनै पनि देशको गहनाको रुपमा लिईन्छ त्यहाँका कलाकारहरुलाई । सँगै कला र सँस्कृतिले देशको पहिचान बोकेका हुन्छन् ।

चलचित्र कलाको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ÷हो । सम्बन्धित देशको सँस्कार र सँस्कृति चलचित्रको माध्यमबाट सबैभन्दा प्रभावकारी तवरमा देखाउन सकिन्छ । भारतकै कुरा गर्ने हो भने, बलिउड चलचित्रकै कारण त्यहाँको सँस्कृति र सँस्कारलाई आज विश्वले जानेको छ÷ बुझेको छ । नेपालमै पनि यहाँको सँस्कार र सभ्यतामाथि सिनेमा बन्ने प्रचलन चल्दै आएको लामो समय भैसकेको छ ।

सँस्कार, सँस्कृति र सभ्यताको प्रदर्शन गरिरहेको फिल्म उद्योगमा कस्ता मानिसहरुको वर्चश्व छ त ? यो भने यतिबेला चर्चाको विषय बनेको छ । देशले गहना मानिरहेका कलाकारहरुको व्यक्तिगत सँस्कार अनि व्यहोरा कस्तो छ त ? यो लेख यहि विषयमा केन्द्रित हुनेछ ।

मेरो बुझाईमा नेपालका कलाकारहरुको पछिल्लो गतिविधिलाई मिडियामार्फत नियाल्ने हो भने साँच्चै नै लाज लाग्छ । त्यसो त म आफैँ पनि फिल्म क्षेत्रसँग सम्बन्ध राख्छु । तर यो भनिरहँदा मलाई ग्लानीभाव कत्ति पनि भएको छैन । कारण, केही सिमित कलाकारहरुको व्यहोराकै कारणले यो क्षेत्रलाई सामान्य व्यक्तिहरुले हेर्ने नजरिया गिरेको छ । यो हामी सबैका लागि सोँचनीय विषय हो ।

किन कलाकार–कलाकारबीचमा नै मत भिन्नता छ ? कोही अहिले फिल्म खेलिरहेका छैनन् भनेर उनीहरुको नेपाली चलचित्र क्षेत्रमा कुनै योगदान छैन भन्ने कुरा त गर्न भएन नि । फिल्म चलेमात्र ठुला कलाकार हुने र चल्न छाडे नीच हुने त पक्कै होईन होला, कि कसो ?

बलिउडको कुरा गर्ने हो भने अमिताभ बच्चनलाई त्यहाँ सबैले सम्मान गर्छन् । त्यो त सामान्य भयो, तर त्यहाँको औपचारिक कार्यक्रमहरुमा हेर्ने हो भने आफूभन्दा जो कोहीलाई चल्तीका कलाकारहरुले पनि झुकेरै नमन टक्राउँछन् । बलिउडबाट हामीले कथावाचन एडप्ट गर्यौँ, कथा एडप्ट गर्यौँ र प्रविधि पनि एडप्ट गर्यौँ तर त्यहाँ एकअर्कालाई गरिने सम्मानको सँस्कार किन एडप्ट गर्न सकेनौँ ?

त्यसो त पछिल्लो समय आएर नेपाली चलचित्र क्षेत्रमा यस्ता समस्या बढि आउन थालेका हुन् । कुनै बेला सेल्युलोइड फम्र्याटमा चलचित्र बन्दा बरु त्यसबेलाका कलाकारहरुले एकअर्कालाई खुब सम्मान गर्थे । उनीहरुले एकअर्कालाई देखाउने सम्मानको व्यवहार अझै पनि कतिपय औपचारिक कार्यक्रमहरुमा देखिन्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, भुवन चन्द, निरुता सिंह, गौरी मल्ल जस्ता त्यसबेलाका चल्तीका कलाकारहरु अझै पनि एकअर्कालाई सम्मान दर्शाउँछन् तर पछिल्लो पुस्ताको कुरा गर्ने हो भने एकले अर्कालाई चिनेपनि नचिने झैँ गर्छन् ।

एउटा कलाकारले अर्को कलाकारलाई सम्मान गर्न जान्दैन । आफूभन्दा सिनियर कलाकारलाई पनि होँच्याएर बोल्छ । आफूलाई ठुलो बनाउन अरुलाई सानो देखाउने प्रवृत्तिले कलाकारहरुले आफै प्रतिको सम्मान गुमाई रहेका छन् । सामान्य कुराको पनि ज्ञान नराख्दा अभिनेत्रीहरु कोही सामाजिक सञ्जालको लाइभमा त कोही टेलिभिजन अन्तरवार्तामा चिप्लन्छन् । सानो सानो ग्रुप बनाउँछन्, एकले अर्काको कुरा काट्छन् अनि आफूभन्दा अगाडि कोही छैन भन्ने भ्रममा बाँच्छन् । यस्ता यी तमाम कलाकर्मीहरुबाट हामीले के आश गर्न सकिन्छ ?

त्यसो त यो लाइनमा सबैजना यस्तै हुन् भन्ने खोजेको पक्कै पनि होईन । तर यी र यस्तै प्रवृत्तिका मानिसहरु हावी हुँदा राम्रा मान्छेहरु अगाडि आउन पनि पाएका छैनन् । र, आउन खोजे पनि यस्तै ग्रुपिज्मले उनीहरुलाई पाखा लगाउँछ । फलस्वरुप फिल्ममै जीवन बिताउँछु र केही तरक्की गर्छु भनेर आउनेहरु चिया बेचेर बस्न बाध्य हुन्छन् ।

नेपाली फिल्मको ईतिहास हेर्ने हो भने प्राविधिक रुपमा यहाँ पनि विश्वस्तरका उपकरणहरु आईसकेका छन् । प्रविधिको विकाससँगै यो क्षेत्रको समग्र विकास पनि हुँदै जानुपर्नेमा झन् यो क्षेत्रले आफ्नो गरिमा किन खस्काउँदैछ ? नीतिगत तहमा यो कुराको वहश गर्नुपर्ने बेला भएको छ ।

नेपालका लाइमलाईटका चलचित्रकर्मीहरुको बौद्धिकस्तर हेरिसकेपछि हामीले के आश गर्ने ? उही पुरानै बलिउड मसला शैलीका एकदुई डाइलग सहितको कथा र केही थान गीतका भिडियोहरु बाहेक नेपाली फिल्मले दर्शकका लागि के पस्केको छ ? यी र यस्ता चलचित्रकर्मीबाट बौद्धिक लेभलको चलचित्रको आश नगरे पनि हुन्छ ।

नेपाली चलचित्र र यो क्षेत्रको दायरालाई फराकिलो बनाउँदै यसको गरिमा उच्च बनाउनका लागि एक अर्कालाई सम्मान गर्न सिकौँ । खुट्टा तान्ने प्रवृत्ति र नजानेको कुरामा बढि बोल्ने बानी छाडौँ ।

(रोहन नेपाली चलचित्रमा कोरियोग्राफर र निर्देशक हुन् । )

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close