Headlines with imageविचार / अन्तर्वार्ता

दुई पाङ्ग्रा दुईतिर, गुरुहरू कतातिर ?

– दीपक पौडेल

प्रिय द्रोणाचार्यहरू,

वैकल्पिक राजनीतिका मेरा द्रोणचार्यहरूलाई सादर नमन । तपाईंहरूको सम्बोधनमा आज मलाई एउटा पत्र लेख्न मन लाग्यो । छिट्टै तपाईंसँग चिया पिउँदै प्रत्यक्षतः बात मार्ने इच्छा जागेको छ । कोरोनाको कहर र बाढीपैरोको यो डरमाझ पत्रमार्फत् संवाद चलाउँदैछु ।
वैकल्पिक राजनीतिले हाल भोगिरहेको पीडाबाट म घाइते छु । कैयन् पीडा शरीरका चोटभन्दा गहिरा हुन्छन् । घाइते यो एकलव्य खुशीभन्दा दुःखी छ । आशाभन्दा निराशाले घेरिएको छ ।

पार्टी नदीजस्तो हुनुपर्छ । तँपाईहरूले नै सिकाउनु भो । जमेर बस्ने होइन, बगेर दौडने हो । यो पनि तपाईंहरूले नै सिकाउनु भो ।
वैकल्पिक राजनीतिको अनुष्ठानसँग जोडिएको पाँच वर्ष भएछ । यसबीच स्थानीय निकायको निर्वाचन, पार्टी एकता, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र उपनिर्वाचन हुँदै आजको दिनसम्म आउँदा पनि मेरो श्वास र धड्कनमा कमी छैन । क्रियाशीलता जारी छ । कालो बादलमा चाँदीको घेरा देख्न तपाईंहरूले नै सिकाउनु भो । सायद त्यही सिकाइले मलाई नदीमा होमाएको हो । शालीग्रामझैँ ठोक्कीँदै, चोइटिँदै र बजारिँदै चिल्लो हुँने नियती दिएको हो ।

माइतीघर मण्डलामा तपाईहरूसँगको सम्वादबाट वैदेशिक रोजगारलाई बिट मारेर सुसंस्कृत राजनीतिको अभियानमा सामेल भएँ । के मन्तर लगाउनु भो तपाईंहरूले, मलाई हेक्का छैन । तर जे लगाउनु भो त्यो कमजोर मन्तर थिएन । त्यसले त अझै पनि म त्यही यात्रामा छु । गोविन्दनारायण, उज्ज्वल थापा र रन्जु दर्शना नौला नाम थिए । नौला अनुहार थिए । नाममा आखिर के नै हुन्छ र ? तर अनुहारमा विश्वासको चमक थियो । यसर्थ यहाँहरूलाई मैले आफ्नो राजनीतिक जीवनको द्रोणाचार्य माने । राजनीति सुरू गरेँ ।

गएको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलले पोखरामा आफ्नो उम्मेदवार घोषणा गरेन । काठमाण्डौको मेयर पदको उमेदवार रन्जु दर्शनालाई साथ र सहयोग दिन मलगायत कास्कीका थुप्रै साथीहरू काठमान्डौमा सक्रिय भयौँ । रवीन्द्र मिश्रलगायतको टिम विवेकशीलसँगै वैकल्पिक राजनीतिमा होमिनेछ भन्ने आशा र भरोसा मनमा थियो । तर त्यो पुरा भएन ।

वैकल्पिक राजनीतिको नयाँ अभियानमा साझा पार्टीको समेत स्थापना भयो । एउटै पार्टीको छातामुनि सम्भव नभए पनि स्थानीय चुनावमा सहकार्य हुनसक्थ्यो । त्यो पनि भएन । यसरी सहकार्य नहुनुको परिणाम आजको काठमाण्डौँ हो जहाँ तपाईंहरू बस्नुहुन्छ, धुँवा र धूलो खानुहुन्छ र नालीको जलमा आफ्नो पाउ चोब्नुहुन्छ । आशालाग्दा यी दुई पार्टीबीचको एकताको सन्देश र आम निर्वाचनमा मिलेको उत्साहजनक परिणामलाई २०७५ पौष २७ गतेको पार्टी विभाजनले एकै झड्कामा भताभुङ्ग बनायो । सबैको आस्था र विश्वासको नयाँ धरहरा दुई ठुन्का भयो ।

वैकल्पिक राजनीतिको अभियानलाई धोका भएको निस्कर्ष विवेकशील नेपालीले निकाल्यो । तपाईंहरूलाई त्यसो लाग्यो, मिडियाबाट थाहा पायौँ । तर हामीलाई कस्तो लाग्यो ? न तपाईंहरूले हामीलाई सोध्नु भयो, न त हामीसँग त्यस्तो कुनै माध्यम नै थियो जसले हाम्रो सन्देश तपाईंहरूसमक्ष पुर्याओस् । पार्टी भत्कियो । मन भत्कियो ।

मन सल्हालेँ र ठहर गरेँ कि म साझा पार्टी छोड्दिनँ । सम्भवतः विभाजनबाट कत्ति पनि विचलित नभई एक ढिक्का भएर एक मतका साथ साझा पार्टीमा नै सबै स्थीर रहेको एकमात्रै जिल्ला कास्की नै होला । तँपाईहरू त हाम्रो द्रोणाचार्य ।

मैले पढेको महाभारतमा द्रोणाचार्यहरू बरु हार र अपमानको वाण खान्छन् तर कित्ता बदल्दैनन् । बहस र पैरवी गर्छन् तर मैदान छोड्दैनन् । त्यसो भएन । शिष्यहरूलाई वास्ता नगरी द्रोणाचार्यहरूले रातारात भित्ता फोडे, कित्ता बदले । त्यो बहिर्गमनको बहिखाता भोलीको पुस्ताले उदेक मानेर पढ्नेछ ।

गुरू र शिष्यको गन्तव्य फरक भएको कुनै शास्त्र छैन । वैकल्पिक राजनीति पनि एउटा शास्त्र हो । शास्त्र गलत हुँदैन । शास्वत हुन्छ । शास्त्रका व्याख्या फरक होलान् तर सारा शास्त्रले इशारा गरेको गन्तव्य एउटै हुन्छ । यही सानो विश्वासले म र मजस्तै थुप्रै साथीहरूलाई साधन वा माध्यमले अड्काएन । हामी साधनको आकार प्रकारमा अल्झेनौँ ।

वैकल्पिक राजनीतिको बहस नरर्थक छैन । हामी बहसमा थाकेका छैनौँ । बरु पाकेर परिपक्क बन्दैछौँ । नयाँ शक्तिले जनता समाजवादीसँग घाँटी जोडेपछि अब त्यो वैकल्पिक शक्ति रहेन । मैदान खाली छ । खाली मैदानको विपरीत कुनामा विवेकशील नेपाली दल र साझा पार्टी दुईतीर फर्केका छन् । कसैले माने पनि नमाने पनि, कसैले चाहे पनि नचाहे पनि यी दुई पार्टी नै वैकल्पिक राजनीतिका अर्गानिक पाङ्ग्रा हुन् । जनस्तरमा यी दुई पार्टीको एकताको चर्चासँगै वैकल्पिक राजनीति चाहने सबैमाझ पुनः आशा अनि विश्वासले जन्म लिएको छ ।

पार्टी विभाजनले हाम्रो लक्ष्य कहाँ पुग्यो ? र, अब एकता किन अपरिहार्य छ ? अलि गम्भीर भएर सोच्ने कि ?

हामी सबैले चाहेको गती र दिशामा वैकल्पिक राजनीतिको रथ किन अगाडि बढ्न सकेन ? स्थापनाकालदेखि नै पार्टीले भोग्दै आएको रोग भनेको बाहना बनाउँदै बाहिरिने र यो वा त्यो दोषको कारण अरुलाई देखाएर आँफू चोखिने प्रवृत्ति हो । पानीमाथि ओभानो सपनामा मात्र सम्भव छ । सायद हामी सपनामा बाँच्यौ ।

विश्वासभन्दा ज्यादा शंकाको जन्म भएपछि वैकल्पिक राजनीतिको शिशुले साँघुरो जेल तोडेन । यमुना कटेन । गोकुल देखेन । नन्दगाउँ नै पुगेन । अनि समाज दुष्ट कंशको चाखमा चल्यो, पुतनाको काखमा नाच्यो । समस्या कृष्णको कल्पना गर्नुमा थिएन र छैन पनि । समस्या देवकी बन्न तयार नहुनुमा छ । समस्या अर्काको डिएनएलाई आफ्नै ठान्ने यशोदा बन्न तयार नहुनुमा छ । वासुदेव भएर कष्ट बोहोर्न तयार नहुनुमा छ ।

साधना छैन । धैर्य छैन । स्वैरकल्पना छ ।

यथार्थ दर्पण छैन । सपनाको बयान छ । विपनाको श्रम छैन । वैकल्पिक राजनीतिको यात्रा सहज छैन भन्ने कुरा मैले पाँच वर्षमा सिकेको ज्ञान हो । पार्टी जीवनका अँध्यारो र उज्यालोबाट सुख र दुःखका सबै घामछायाँ भोगिसकेका छौं । सात वर्षको उतारचढावपूर्ण अनुभवले अब त तपाईंहरूलाई आगो बनाएको छ । तपाईंहरू त प्रमिथस हो । हिम्मतका साथ आगो चोरेर उज्यालो छर्छ प्रमिथसले ।

एकताको विकल्प छैन । दुई ज्योतिबीचको एकता नै महाज्योति हो । तबमात्र उज्यालोको मात्रा र गुण बढ्छ ।
एकताको चर्चा मात्रैले कोही कोहीलाई नराम्ररी ज्वरो आएको खबर छ । ज्वरो अलि कडा नै छ । १ सय ४ डिग्रीको ज्वरोले रन्थनिने जिग्रीहरू त्यता पनि छन् र यता पनि ।

एकता होस् भनेर चाहना राख्नेको सङ्ख्या पनि सानो छैन । जसले एकता मन पराई रहेका छैनन् तिनीहरूको मनोविज्ञान विचित्रको छ । म विवेकशीलका कैैयौँ सदस्य साथीहरूसंग परिचित छु । दुवैतर्फ एउटा रोगले डेरा जमाएको छ कि केही साथीहरु पार्टीलाई क्लब सम्झी रहनुभएको छ । दुई चारवटा अभियानमा रमाउन खोजिरहनुभएको छ र कछुवाको गतिमा हिडेर देश बदल्ने रेस जित्ने सपना देखिरहनु भएको छ । अनि केही सीमित व्यक्ति विशेषलाई हेरेर वैकल्पिक राजनीतिजस्तो महाअनुष्ठानबारे टुक्रे धारणा बनाईरहनु भएको छ ।
स्वयम् पार्टी संगठनलाई थप उचाईमा पुर्याउन योगदान नदिने, समय दिन नखोज्ने तर भाँजो हाल्ने सदस्यहरू नै विरोधका स्वर निकाली रहनुभएको छ । मलाई विश्वास छ, दुवै तर्फको नेतृत्वले ख्याल गर्नु नै हुनेछ ।

हिजो हामी सँगै हुँदा आम जनता हामीप्रति कस्तो धारणा राख्थे । आज के धारणा राख्छन् ? विवेकशील साझा भईरहँदा आशाका किरण देख्नेहरूले अहिले छिःछिः गर्दा आत्मग्लानी कत्तिको गर्नुहुन्छ ? हामी फरक हौ भनेर आफ्नो शीर पहिले झै उठाउन सक्नुहुन्छ ? अहँ मैले त सकिरहेको छैन । चुनाव होस् वा चिया चर्चा, हामीले पार्टी विभाजनबारे चित्तबुझ्दो जवाफ कसैलाई दिन सकेका छैनौँ । पार्टीको छवि पब्लीक पर्सेप्सनबाट बन्छ । सुरुमा छवि सच्चाऔँ । पुनः एकताले यो सच्चिन्छ । अनि अरु सुधार त्यसपछि गर्दै जाने हो ।

वैकल्पिक राजनीतिको आ–आफ्नो पाङ्ग्रा गुडाईरहेका हामीलाई नराम्रो नभन्ने जमात ठूलो छ । उनीहरू पर्ख र हेर को स्थितीमा थिए । हामीसँग जोडिन खुट्टा उचालिरहेका थिए । हठात् हामी फुट्यौ । उनीहरू रोकिए ।

मेरा एक नातेदारको उपचारका लागि पोखराको एक हस्पिटलमा रहँदा अपरिचित एकजना डाक्टरले मेरो फोनको कुराकानी सुन्नु भयो । फोनमा पार्टीकै कामले पार्टीकै कुरा गरी रहेको थिएँ । फोन राखेपछि ती डाक्टरले बोलाउँदै भन्नु भयो– तपाईहरु निरास हुनुपर्ने कारण छैन, मैले ज्वाइन गर्ने पार्टी पनि तपाईंहरुकै पार्टी हो । तर शर्त एउटै छ तपाईंहरू कृपया अब एकता गर्नुस् ।

हामीलाई वैकल्पिक राजनीतिमा विश्वास दिलाउने यस्ता शुभचिन्तकहरू प्रशस्त छन् । छहारी दिने अब हाम्रो दायित्व हो । त्यसका लागि सम्वाद गरौँ । आत्मसमीक्षा पनि गरौँ । पार्टी निर्माणको क्रममा ठूलो बारवन्देज राखेर पद्दति, लोकतन्त्रको नाम अगाडिका यात्राहरूलाई पुर्ण विराम नराखौँ । अबको वैकल्पिक राजनीतिको यात्रा मर कि मार, आक्रमक शैलीमा अभियान र संगठनलाई लैजान नसकेको अवस्थामा पतनकै यात्रामा हामी हराउने छौँ ।

मेरो आग्रह एक पक्षीय छैन । म मेरो स्थानबाट वैकल्पिक राजनीतिलाई निरन्तरताका लागि संर्घषमा छु । म मेरो नेतृत्वलाई दबाब दिईरहेको छु । ‘सतीले सारापेको देश’ भन्ने वाक्यांशलाई गलत सावित गर्ने यात्रा तय गरौँ । मेरा प्रस्तावहरू पास फेलको खेल होइन । तर, संगठन फेल नहोस्, सपना फेल नहोस् । तपाईं म बाहिर नै रह्यौ भने पनि कोही बात छैन । तर अभियान नरोक्कियोस् । संम्वृद्ध नेपाल देख्ने सपना नरोकियोस् । आउँदो पुस्तालाई गर्वले छाती फुलाएर वैकल्पिक राजनीतिको अभियन्ता र संस्थापकको हैसियतमा बाँच्ने मार्ग बलियो बनोस् । यी सबैका लागि एकपल्ट पुनः हातेमालो गरौँ ।

बखुण्डोलको सभाकक्षमा तपाईंसँग एउटै झण्डामुन्त्रि स्वादिलो चिया पिउने निम्तोको पर्खाईमा,

न अर्जुन न एकलव्य, उही तपाईंको शिष्य

दीपक पौडेल ।

( लेखक साझा पार्टी गण्डकीका अभियान संयोजक हुन। )

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close