विचार / अन्तर्वार्ता

सम्पूर्ण नेपाली युवाहरुलाई पत्र

दिनकर नेपाल :

मेरा प्यारा भाई-बैनीहरु,

सबैमा एकमुष्ट नमस्कार। सम्बोधनमा भाई बैनीहरु नै भनें, कोरोनाको त्रासमा मन पीडामा रहेको बेला दाईले मायाले भनेको भन्दै माफ गरेर कुरा सुनिदिनु होला।

म तीस वर्ष मुनिकालाई मात्र युवा भन्छु। म आँफु सैँतीस वर्षको भएँ। अब म आँफु युवा रहीन।

आज निक्कै दुख र आक्रोश मनमा भरिएको बेला मैले गुहार्ने ठाउँ कतै नदेखेर यो पत्र तपाईंहरुलाई लेख्दैछु। यो देशको तागत र मेरुदण्ड नै तपाइँहरु हो – म थकित, असहाय र निरास भएर सहारा खोज्न हजुरहरुलाई यो पत्र लेख्दैछु।

हजुरहरु, तीस वर्ष मुनिका नेपाली युवाहरु, हिमाल देखि तराईसम्म – सिन्धुपाल्चोकका दावा शेर्पा, गोर्खाका अब्दुस मियाँ, पोखराका सरोज गौतम, स्याङ्जाका अस्बिन पंगेनी, पिंडीखोलाकी प्रमिला चापागाईं, दाङकी कमला चौधरी, कंचनपुरकी महिमा भट्ट, धरानकी रेमा राई, झापाकी बबिता नेपाली, बिरगन्जका करीम र सप्तरीका सुन्दर महतो – हजुरहरु र हजुरहरु जस्तै सबै नेपाली युवाहरुलाई यो पत्र लेख्दैछु।

हिमाल देखि पहाडसम्म, मेची देखि महाकालीसम्मका सम्पूर्ण युवा भाइबैनीहरुलाई अहिले एकरूप मानेर, अहिले कोही देश र कोही विदेशमा संसारभरी छरिएर रहनुभएका हजुरहरु सबैलाई यो पत्र लेख्दैछु।

सोचेर ल्याउँदा बडो अचम्म लाग्छ।

अलिकति सोच्नुस त, आज तीन करोड पुग्नै लागेको हाम्रो जनसँख्याको औसत उमेर नै बाईस वर्ष छ। अर्थात् हाम्रो देशमा तीस वर्ष मुनिको जनसँख्या धेरै छ। लगभग सत्तरी प्रतिशत जति।

तीस वर्ष माथिको हाम्रो देशका ठूला भनाउँदाहरुले हजुरहरुलाई के दिए? हामीले हजुरहरुका लागि कस्तो देश, कस्तो समाज बनाइदिन सक्यौं?

म माफी चाहन्छु। धेर थोर यो दोषको जिम्मा मेरो पनि छ। मेरो पुस्ताको पनि छ।

आज जरोदेखि टुप्पोसम्म देशमा गुन्डाराज छ। लाखौँ जनता मृत्युुको संघारमा हुँदा स्वास्थ्य सामाग्रीमा अर्बौँ भ्रष्टाचार गर्ने गुन्डा दलको निरंकुश शासन छ, हामी चाहेर पनि उनीहरुलाई जवाफदेही बनाउन सक्दैनौं।

डाडु, पन्यो, चक्कु र छुरा – सबै उनैको हातमा छ। पाँच वर्षमा एकपटक भोट हाल्ने बेलामा हामी जनताको हातमा रोज्ने तागत आउँछ। तर त्यो पनि छल बाहेक केही होइन जस्तो छ।

कथा सुन्नु भा छ पुराणमा, बिष्णु र कृष्णले अनेक छल गरेर आफ्ना शत्रुहरुलाई परास्त पारेको? यहाँ त्यस्ता छलकपटका मन्चन दिन्दिनै पाइला पाइलामा तह तहका देख्न पाइन्छन्।

तर असत्यका लागि। कलियुगका विष्णुहरु अधर्मी भए।

र सबैभन्दा ठूलो छल – त्यो चुनाव भएको छ। पाँच वर्षमा एकपल्ट हामी जनतामा त्यो तागत आएको मानेर पर्व जसरी यसलाई मान्छौँ।

तर माफ गर्नुहोला मेरो पुस्तालाई, हामी रोलमोडल बन्न सकेनौँ। बाटो देखाउन सकेनौं।

हामी टाठाबाठाले सोच्यौं – अब त सत्तामा पहुँच मेरै भयो। दिदी मेयर, दाई मन्त्री भएपछि मेरो लाइफ त सेटल भयो। भिनाजु प्रदेशका सांसद भएपछि गाउँमा पचास लाखको बजेट मैले नै ल्याउन सक्ने भएँ।

बाँडीचुँडी यताउता गर्दा दुई-चार लाख हात पर्नी भयो। दुई तीन ओटा त्यस्ता काम पार्न सके त साल सजिलरी कट्छ। सोह्र घन्टा खाडीमा धस्सिएर कमाउनेले भन्दा डब्बल दाम झोला बोकेर आउने भएपछि कसरी म नलोभिइ बस्न सक्थें? सकिएन।

मनका कुरा? विवेक र नैतिकताका कुरा? ती त आदर्श हुन् कोरा। आमाले नदेखे झैँ गर्छिन्। बाले नेतासँग डुलेको छोराको फोटो देखाएर चिया पसल तताउनु हुन्छ। दुई चार जनालाई भुटुवा सितन ख्वाए पछि दाइराजा भन्दिइ हाल्छन्। बुडीलाई कहिलेकाहीँ सरकारी स्कर्पियोमा लेकसाइड घुमाएपछि कसरी कमाछौ भनेर सोध्दिनन।

समाज पैसाको चमक र सत्ताको रवाफ देखेर चकाचौँध हुन्छ। घृणा हैन, मनमनै ईर्ष्या गर्छ।

त्यति भएपछि इमान दब्किएर बस्छ कतै।

हामी त टाठाबाठा पर्यौं। हामीले त सिस्टमको फाइदा लिन सक्न पर्छ। पत्रकार बनेर हुन्छ कि समाजसेवी बनेर हुन्छ वा सल्लाहकार बनेर हुन्छ – हामी सत्ताको नजिक पुग्न पर्छ। दिदी दाईहरुसँग साइनो लगाउन पर्छ। आफ्नालाई बोक्न पर्छ।

बाआमालाई झुक्याउन पर्छ। भाइबैनीहरुलाई डोर्याउन पर्छ।

म माफी माग्न चाहन्छु हाम्रा पुस्ताको तर्फबाट – हामी सत्ताको भर्याङ मात्र बन्यौं, रोलमोडल बन्न सकेनौं।

हिजो उद्यमशील र नवीनताका प्रवर्तक भएका हामीपनि सत्ताका नजिक पुगेपछि डढ्यौँ। हाम्रो चरित्रको मैनले लोभ र अहम् थेग्न सकेन।

माफ गरिदेउ हामीहरुलाई प्यारा भाईबैनीहरु, चरित्र मैन जस्तो हुने रहेछ। भित्र बलियो धागोमा बाँधिएर अडिन सक्यो भने आगो बलेर उज्यालो दिंदो रहेछ। एकै चोटि तापमा पर्यो भने पग्लिएर छ्याल ब्याल हुँदो रैछ।

माफ गरिदेउ भाई बैनीहरु, हामी छ्यालब्याल भयौँ। हाम्रो पुस्ता चुक्यो।

अब मन थाम्न सकिन। तिमी नै भनेँ, यसको लागि पनि माफी चाहन्छु। यो दाइ पीडा र आत्मग्लानीमा आँफु अडिन नसक्दा तिमीहरुका काखमा टाउको राखेर निक्लेका आँसु हुन् भन्ने बुझेर पुस्नेछौ भन्ने आशा छ।

मैले माफी त मेरै छोरो र मेरै परिवारसँग पनि माग्न पर्नेछ।
आजभन्दा आठ वर्ष अघि मेरो छोरो जन्मने बेलामा बडो गर्वका साथ मैले तिमीहरुकी भाउजुसित बाजी राखेको थिएँ – छोरोलाई सोह्र वर्षको उमेरमा आँफै रोज्न दिने उ नेपाली हुन्छ कि भारतीय भनेर।

भाउजू भारतीय हुन्, धेरैलाई थाहै छ।

तर आठ वर्ष नहुँदै त्यो बाजी मैले हारीसकें, मलाई थाहा छ। आज यो क्रन्दन र पीडा सायद त्यो हारको पीडा पनि हो। सायद देश हार्दाको पीडा।

मेरा प्यारा भाइ बैनीहरु,

हाम्रो पुस्ताले प्रयास नगरेको होईन। हिजो, तिमीहरु कै उमेरमा हाम्रो पनि रगत उम्लन्थ्यो। हामी मध्य धेरै हिजो बन्दुक बोकेर ज्यानको माया मारेर देशको मुहार फेर्न हिडेको पनि हो।

सत्र हजार त सहिद भए।

तर लडाईँ पनि सत्ताको भर्याङ मात्र रहेछ। पटक पटक धोका खाएपछि हाम्रो पुस्तामा धेरै विरक्त भयौँ, केही आफ्नो बाटो लाग्यौं र केही चाहिँ बाठा भयौँ।

भएको यही हो। हामीलाई माफ गर्देउ भाई बैनीहरु, तर जीवनका बाध्यता र संसारको चक्रले हामीहरुलाई धुर्तहरुका हतियार बनायो। हामी चतुर दैत्यहरुका साधन बनेर बस्यौँ।

आज तिमीहरू आफ्नो संसार शुरु गर्दैछौ। धेरै त अहिले स्कुल कलेजमा नै छौ। धेरैका अब करीअर शुरु हुन थालेका छन्। कतिले धेरै प्रगती पनि गरिसकेका छन्।

जो जहाँ जस्तो स्थितिमा भएपनि तिमीहरूसँग एउटा तागत छ – आफ्नो भाविष्य रोज्न सक्ने तागत। देशको भविष्य बदल्न सक्ने तागत।

हुन त यो दाइका यी स्वार्थी कुरा हुन् – आँफु हार्न नचाहेर हामीलाई गुहार्न आएको भन्न पाउँछौ। तर म हार्नु र देश हार्नु एउटै कुरा हो त्यो बाजीमा। देश हार्नु नै तिमीहरु पनि हार्नु त हो।

त्यसैले मेरा यी आँसुले लेखेका शब्दहरु मनले पढ। पीडाले बोलेका मर्महरु राम्ररी बुझ।

बलशाली युवा भाइबैनीहरु, अब यो देश बचाउन तिमीहरु बाहेक कसैले सक्दैन। र यो देश बिग्रँदा तिमीहरुलाई जति घाटा कसैलाई हुँदैन।

आज म तिमीहरूका काखमा टाउको राखेर रुन चाह्न्छु। मनको पीडा बिसाएर हलुंगो हुन चाहन्छु। र अब हामीलाई जोगाउ भनेर तिमीहरूका खुट्टा ढोगेर बिन्ती गर्न चाहन्छु।

जब तिमीहरू अठोट गरेर युद्धमा होमिने छौ, तिम्रा दैवीशक्ती, विवेकको बल र सत्य र असत्य छुट्याउन सक्ने तागत धुमिल्याउन प्रयास गर्नेछन् धुर्तहरुले।

जस्ले आफ्ना लोभ-पाप र झूट-अपराधले समाज बिटुल्याएका हुन्, जसले आजसम्म छलको सहारा लिएर डाडु पन्यु आफ्नै हातमा राखेर हाम्रा करङका फोटो बेचेर आफ्ना भुँडी भरेका हुन्, उनैले तिमीहरुलाई सिकाउन खोज्नेछन् – तिनीहरुलाई माझी औंलोवाला मुठ्ठी देखाउन एकरत्ति नसोच्नु।

नबिराउनु, नडराउनु।

जब तिमीहरु समाजमा स्वतन्त्र योगदान गर्न जुट्नेछौ, अनेक चालबाजी गरेर फुटाउन खोज्नेछन्।

तिनका आँखा फुटाइदिनु।

जब केही काम देखिनेछ, रोक्न खोज्नेछन्। बिगार्न खोज्नेछन। जनताको करबाट आएको पैसालाई आफ्नै बिर्ता ठानेर सही गर्ने बेलामा तिमीहरूलाई ब्ल्याकमेल गर्नेछन् अनि काम देखिए पछि आएर भाषण ठोकेर क्रेडिट लिन खोज्नेछन्।

अनेक प्रक्रियाका झन्झटमा तिमीहरूलाई फँसाएर थकाउने छन्। अनि नसकेपछि फँसाएर बदनाम गर्न खोज्नेछन। हनुमान पत्रकार र हतियार मीडिया प्रयोग गरेर नाम बदनाम गर्नेछन् – आपसमा संशय उत्पन्न गर्नेछन्।

भ्रष्ट, पागल, दलाल र विदेशी एजेन्ट सम्म भन्नेछन् – अपराधीहरुको संजाल लाग्नेछ तिमीहरूलाई निरुत्साहित पार्न। ढाल्न खोज्नेछन्, ठहरै।

लड्न नछोड्नु, भिड्न नछोड्नु : आवश्यक परे यीनका जेल भर्नु तर हिम्मत नहार्नु।

ममा अब हिम्मत रहेन।

माफ गर भाइ बैनीहरु, हाम्रो पुस्ता कि हारीसक्यो कि बिकीसक्यो। अब त्यो आगो रहेन।

आज यो दाई यीनै आँशुहरुबाट यो आगो तिमीहरुलाई दिएर तिम्रो शक्तीको आडमा बाँच्न चाहन्छ।

देश हार्न हुँदैन। भविष्य हार्न हुँदैन। यो असत्यले यसरी जितीरहन हुँदैन।

राजा, न्यायधीश, वकील र प्रहरी सबै अपराधी भएको ठाउँमा यीनका कुरा सुनेर हुँदैन, लोकलाज मानेर हुँदैन।

आज विवेकका आँखा खोल भाई बैनीहरु – यीनका कुरा नसुन।

लेखक, पत्रकार, विद्वान, नेता, शिक्षक, वकिल – यी सबै मिलेर नै यो अन्धतालाई काँधमा बोकेका हुन्। असत्यलाई बारम्बार जिताएका हुन्। जनतालाई बारम्बार झुक्याएका हुन्।

देशलाई लुटेका हुन् – हिजो सैनिक बनेर जवानी बेचेको देशलाई आज देश-विदेशमा छोरी चेली बेचीन बाध्य यीनैले पारेका हुन्।

अब विद्रोह गर।

अब हाम्रा यी आँशुबाट आगो टिप – आगो बोक। अब राँको बाल, मशालबाट डढेलो शुरु गर। यो असतको तानाशाहीलाई खरानी पार।

युवा आउ, देश बचाउ।

उही तिम्रै दाइ,
दिनकर।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close