Headline Title onlyविचार / अन्तर्वार्ता

जीवन ‘एक्स्पेरिमेन्ट’ होईन

: अकृजा पोखरेल

म सानै हुँदा घर नजिकैको एकजना अंकलले एकदिन जिँस्कदै भन्नुभयो,–‘झुण्डिँदा कस्तो हुन्छ होला है ? मान्छे झुण्डिएर कसरी मर्छन् होला है ?’

म सानै थिएँ । उनकै घरछेऊमा खेलिरहँदा अकस्मात् उनी झुण्डिएको खबर सुनेँ । अचम्म के भएछ भने, ती अंकलले ‘कस्तो होला ?’ भन्ने ‘एक्सपेरिमेन्ट’ गर्दा उनको देहलिला समाप्त भयो । यो घटनाले मेरो मथिंगल अहिलेसम्म पनि हल्लाउने गर्छ । सोधकर्ताहरुले गरेको विभिन्न अध्ययन गर्दा पनि यस्ता घटना संसारमा घटिरहेको देखिन्छन् । धेरैले ख्यालख्यालमै आफूले आफैलाई मारेका छन् ।

जिस्किएर भने अनि ‘एक्स्पेरिमेन्ट’ गर्दा मरे । तर एउटा सानो ‘एक्स्पेरिमेन्ट’ले उनको परिवारमा कत्रो ठूलो बज्रपात प¥यो भन्ने कुरा म यहाँ वर्णन गर्न गैरहेकी छैन । कारण, घरको मुल मान्छे मर्दा, त्यो परिवारमा के बित्छ ? भन्ने कुरा जो कोहीले पनि महशुस गर्न सक्छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले मलाई बाल्यकालको यो घटना फेरि सम्झाईदिएको छ । अक्सर आत्महत्याको खबरहरु आउँदा मैले त्यो घटना सम्झिएकै हुन्छु । सुशान्तको आत्महत्याको विषयमा विभिन्न तवरबाट अनुसन्धानहरु भैराखेकै छन् । विभिन्न आरोप प्रत्यारोपहरु पनि चलिराखेकै छन् । अनुसन्धानले एउटा टुंगो ल्याउला, तर के सुशान्त पनि यस्तै ‘एक्स्पेरिमेन्ट’बाट ख्यालख्यालमै ज्यान गुमाएका त होईनन् ? मेरो दिमागमा प्रश्न उब्जेको छ ।

त्यसो त मान्छेले आत्महत्याको बाटो रोज्ने भनेको जीवन जिउनका लागि कुनै विकल्प नभेटेपछि हो भनेर भन्ने गरिन्छ । तर धेरै आत्महत्याहरु ख्यालख्यालमै पनि भएका उदाहरणहरु छन् । ‘मेन्टल हेल्थ अमेरिका’ नामको वेभसाइटमा उल्लेख भएअनुसार देख्दा ख्याल ख्याल लागेपनि मानिसको दिमागमा यस्तो सोँच भने मानसिक समस्याका कारणले आउँछ । र, सोही वेभसाइटमा सोधकर्ताहरुको सोधलाई हवाला दिँदै भनिएको छ, ‘यस्ता मानिसहरु आफूले केही गर्न नसकेको बताउँछन्, यीनिहरुसँग भविष्यको लागि खास योजना हुँदैन, यस्ता मानिसहरुको व्यक्तित्वमा पनि दिनप्रतिदिन परिवर्तनहरु आईराखेका हुन्छन् । जुन कुरा उनीहरुको आसपासकै मान्छेहरुलाई थाहा नहुन सक्छ ।’

नेपालको सन्दर्भमा मानिसमा यस्तो खाले सोँचको विकास कसरी हुनसक्छ ? यो विषयमा केही चर्चा गर्दा यहाँ उपयुक्त हुने देखेँ ।

एउटा सानो परिवार । परिवार संख्या ४ जना, जसमा छन् बुवा, आमा, छोरा र छोरी । छोराछोरीकै भविष्य उज्ववल होस् भनेर बुवाआमाले मेहेनत गरिरहेका हुन्छन् । एउटा सामान्य जागिर छ बुवाको । कामप्रतिको इमान्दारिता र लगनशिलतकै कारणले उसलाई परिवार धान्नका लागि उसलाई खास गाह्रो पनि छैन ।

कामसँगै घरपरिवारका सबै सदस्यको इच्छा, चाहना पुरा गर्ने जिम्मेबारी पनि उसैको काँधमा हुन्छ । नहोस् पनि किन, हाम्रो समाजको संरचना नै यस्तै छ । घरको सम्पूर्ण जिम्मेबारी लिने भनेको बुवाले नै हो । श्रीमती भाता भान्सामा मात्रै सिमित हुनुपर्छ भन्ने समाजको धारणा छ । त्यही समाजमा हुर्केकी महिला, अर्थात श्रीमतीको पनि खास चाहना यसरी नै विकास हुन्छ । र, ऊ पुर्णत श्रीमान् कै भर परेर बस्छे । श्रीमतीका हरेक इच्छा–चाहना, उसले लगाउने कपडादेखि उसको बोक्ने झोला र पहिरने श्रृंगारका सामाग्रीहरु श्रीमानले नै किनिदिनुपर्छ ।

तर जब श्रीमानलाई तलमाथि केही हुन्छ, तब परिवारमा पर्ने मानसिक प्रभाव अजंगको हुन्छ । अथवा, मेहेनत गरिरहँदा र सम्पुर्ण इच्छा आवश्यकताहरु पुरा गरिरहँदा पनि आफ्नो सोँचअनुसार परिवारका अन्य सदस्यले काम नगरेको खण्डमा घरको मुल मान्छेमा पर्ने मानसिक असर पनि डरलाग्दो हुन सक्छ । हाम्रो समाज नै यसरी हुर्केको छ । र, समाजको यो संरचनाले नेपालमा धेरैजनालाई मानिसक रोगी बनाएको छ । नेपालकै धेरै सोधकर्ताहरुले पनि मानसिक स्वास्थ्यमा नेपालको सामाजिक संरचनालाई दोष दिएका छन् ।

सुशान्तकै कुरा गर्ने हो भने पनि उनी बलिउडका नाम चलेका अभिनेताको रुपमा चिनिन थालेका थिए । कमजोर पारिवारीक पृष्ठभुमीबाट सँघर्ष गरेर बलिउड फिल्म उद्योगको त्यो लेभलमा पुगेर प्रशस्तै सम्पत्ती पनि जोडेका थिए । बाहिर बाट हेर्दा गज्जब थियो उनको जीवन । तर उनको मानसिक अवस्थाको विषयमा कोही जानकार थिएनन् । उनले आफ्ना अन्तरवार्ताहरुमा बेला बेलामा भन्ने गर्थे, ‘म यी सब चिज छाडेर कतै जान सक्छु । किनभने मलाई सरप्राइज दिने आदत छ ।’ अन्तरवार्तामा यसरी उनले भनेको कुरालाई लिएर उनको आत्महत्यापछि मात्रै रिलेट गरियो । तर उनी जिवितै रहँदा कसैले यो कुरालाई अर्थपुर्ण रुपमा लिएन÷लिन चाहेन ।

‘आत्म–नियन्त्रण’ तर्फ ध्यान दिऔँ

मानिसमा मर्दा कस्तो हुन्छ होला ? भन्ने कौतुहलता हुने गर्छ । र, साधारण मानिसमा पनि कतिपय अवस्थामा यस्ता प्रश्नहरु आउन सक्छन् । कतिपय अवस्थामा म आफैँ पनि सोँच्ने गर्छु, ‘मान्छेहरु किन आत्महत्या गर्छन् होला ? र, मर्दाको अनुभव कस्तो हुन्छ होला ?’ तर मरिसकेपछिको अनुभव मानिसले कसैसँग शेयर गर्न सक्दैन । यो शास्वत सत्य हो ।

मेरो विचारमा मानिसमा ‘व्यक्तिगत नियन्त्रण’मा रहने क्षमताको विकास भयो भने यस्ता घटनाहरु धेरै हदसम्म कम हुन सक्छन् । यस्तै नियन्त्रण गुमाउँदा मानिस अपराधी बन्ने गर्छन् । आफ्ना हकमा मात्र होईन, कोहीसँग रिस उठेको खण्डमा पनि उसलाई हातपात गर्ने सम्बन्धमा मानिस कतिपय अवस्थामा अन्धो बन्छ । नियन्त्रण गुमाउँदा ठुला र डरलाग्दा घटनाहरु घट्ने गर्छन् ।

रिस, आवेग अनि आक्रोशकै कारणले मानिसले आत्मनियन्त्रण गुमाउँछ । र, यी सबै चिज मानवीय गुण हुन् । तर जब मानिसले परिणामको विषयमा पहिल्यै सोँच्छ, उसले आत्मनियन्त्रण गुमाउनबाट आफुलाई रोक्न सक्छ । त्यसैले मानिसले सोँचलाई परिवर्तन गर्न जरुरी हुन्छ । त्यो सँगै मानिसले आत्मनियन्त्रण नगुमाउनका लागि आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्न सक्छ । योगा, अध्ययन, संगत र सम्वादले मानिसले आफूलाई नियन्त्रण गर्न सक्छ ।

कतिपय अवस्थामा मानिसले आफूलाई दोषी देख्दा पनि आत्मनियन्त्रण गुमाउँछ । त्यसैले मानिसले आफ्ना गल्तीहरुलाई आफैँले माफि दिन सक्नुपर्छ । कोही कसैले आत्मनियन्त्रण नगुमाऔँ । र, हरेक काम गर्दा पछाडि आउने परिणामलाई पहिल्यै कल्पना गर्न सिकौँ ।

( अकृजा पोखरेल ज्ञान करिअर इन्स्टिच्यूटकी संचालक हुन् । उनले करिअर सम्बन्धि काउन्सिलिङ गर्दै आएकी छन् ।)

सम्बन्धित खबर

Close