Headlines with imageविचार / अन्तर्वार्ता

महामारी रोक्न लकडाउन अझै कडा बनाउनुपर्छ

अर्जुन ढकाल

कोभिड–१९, अर्थात कोरोनाको विश्वव्यापी महामारीका कारण मुलुक लामो दिनदेखि लकडाउनमा छ ।

तेस्रो चरणमा प्रवेश गरिसकेको कोरोना महामारी र यसका कारणले भैरहेको लकडाउनले जनजीवनमा पारेको प्रभावले ठुलो क्षती पु¥याएको छ । यसले नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रलाई निकै प्रभाव पारेको छ ।

लकडाउन लम्बिरहँदा अहिले जनस्तरबाट लकडाउनको विकल्प दिनुपर्ने आवाज उठ्न थालेको छ । अझै, कतिपयले त लकडाउन उल्लँघन गर्नेसम्मको अवस्था सृजना भएको छ । ‘रोगले भन्दा भोकले मर्ने’ भनेजस्तै भएको छ । तर के लकडाउनको अर्को कुनै गज्जबको विकल्प छ त ?

छैन ।

शायद नेपालमा समयमै लकडाउन नगरिएको हुँदो त यो महामारीले यहाँ थुप्रै जनालाई प्रभावित गरिसकेको हुन्थ्यो । कोरोनाको विश्वव्यापी महामारी घोषणासँगै भएको लकडाउनकै कारणले मात्र नेपालमा यो रोग फैलन नसकेको हो भन्ने मेरो बुझाई हो ।

तर के हुनुपर्छ ?

लकडाउनलाई झन् व्यवस्थित गरेर लम्ब्याउनुको विकल्प छैन । तर सरकारले जनतालाई परेको पीडालाई मल्हम लगाउने काम भने गर्नुपर्छ ।
आवतजावतलाई सके सम्म कम नत्र व्यवस्थित र सुरक्षित बनाउने । नियमित चाहिने औषधी घरमै ल्याइदिने, भेदभाव नगरी खाद्यान्न सामाग्री घरघर पु¥याउने , कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने, बिना पासका सवारीलाई इन्धन बिक्री निषेध गर्ने र पत्रकार भेटघाटहरुमा सामाजिक दूरी कायम गरेर जनतालाई उदाहरण दिने ।

सरकारले यस्ता कुराहरुलाई ध्यानमा राख्न सके मात्र जनताले राज्य भएको अनुभूति गर्न सक्नेछन् । मजदुर वर्गलाइ राहतको उचित व्यबस्था गरियोस् ताकि उनीहरु कोरोनाले मरिन्छ भन्ने भन्दा पनि भोकले मरिन्छ भन्ने डर नहोस् ।

गृहजिल्ला बाहिरका विद्यार्थीहरुको हकमा उनीहरुलाई कसरी बस्ने, खाने व्यवस्था गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान जान जरुरी छ । टोल टोलमा नागरिक खबरदारी वा निगरानी बढाउने, भारत, खाडी मुलुक वा बाह्य क्षेत्रबाट आएका व्यक्तिहरूको विशेष निगरानी गरि क्वारेन्टीनमा राख्ने, जेष्ठ नागरिक तथा दीर्घ रोगीको विशेष ख्याल गर्ने, स्थानीय तहलाई अधिकार र स्रोत साधन सम्पन्न गराउने, वडा कार्यालयबाट स्व्यम्सेवक परिचालन गर्ने गर्नुपर्छ ।

रोग र भोकको दोहोरो मारमा बढी पर्ने भनेको नै गरिब, मजदुर र श्रमजिवी जनता नै हुन् । उनीहरुको आधारभूत आवश्यकता पुरा नभएसम्म ज्याला मजदुरी गरि दैनिकी चलाउनेहरु सधै अवसरको खोजीमा बाहिर निस्किरहने छन । किनकि लकडाउनमा उनीहरुको मुख र भोको पेट डाउन हुदैन । लकडाउन पछि उनीहरू जहाँ छन् त्यहीँ तत्कालै राहत उपलब्ध गराउन आवश्यक छ । अपाङ्ग, सुत्केरी, मजदूर जस्ता वर्गलाई प्राथमिकता दिएर राहत बाँड्न सक्नुपर्छ । तर कतिले प्रक्रिया नबुझ्दा, सम्बन्धित व्यक्ति र निकायबारे जानकारी नहुँदा र योबारे बुझ्न जाँदा प्रहरीको कुटाई खाने डरले राहत जरूरी भए पनि पाउन सकेका छैनन् ।

उनीहरुलाई सचेत गराउन यी बुँदाहरु अनुसार काम गर्न सकिन्छ ।
१.स्थानीय सरकारले टोलटोलमा गएर जनचेतनामुलक सन्देश प्रवाह गर्ने ।
२.स्यानिटाइजर र मास्कको प्रयोग विधि सिकाउने ।
३. एकान्तबासका फाइदा बारे जानकारी गराउने ।
४.राहात सामाग्रीको साथमा साबुन अनिवार्य गर्ने ।
५.भीडभाड र अनावश्यक हिँडडुलबाट हुने खतराको जानकारी गराउने ।

बैज्ञानिकहरुले कोरोनाको असर लामो समय हुने भनिरहदा, हामीहरुले पनि सावधानी र सामाजिक दुरीको पालना गरेर लकडाउनलाई सहज बनाउदै लान आवश्यक छ । होइन भने यो अनियन्त्रित र बिना योजनाको लकडाउनले मानिसमा ठुलो असर गर्ने निश्चित छ । लकडाउन खुकुलो गरेर जनजीवन सामान्य बनाउने वहानामा झन् कोरोनाको प्रकोप बढाउने काम कदापी गर्नुहुँदैन । लकडाउन खुकुलो हैन, बरु अझै बढि कडा बनाउनुपर्ने अहिलेको आवश्यकता हो

सम्बन्धित खबर

Close